टोकियो – सेल्फ भुक्तानी (सेल्फ-चेकआउट) मेसिनहरू उपभोक्ता र पसल दुवैका लागि लाभदायक हुने अपेक्षा गरिन्छ । ग्राहकहरूले छिट्टै आफ्नो सामानको भुक्तानी गरेर जान सक्छन्, र पसलका कर्मचारीहरूले ग्राहकले गर्न नसक्ने अन्य कार्यहरूमा ध्यान दिन सक्छन् ।
तर, कहिलेकाहीं केही ग्राहकहरू, जानाजान वा अनजानेमा, आफ्नो भुक्तानी प्रक्रिया सही रूपमा पूरा गर्दैनन् । यस्तै एउटा घटना हालै जापानको होक्काइडो प्रान्तमा भएको छ, जसले एक विदेशी पर्यटकलाई पक्राउ गर्नेसम्मको स्थितिमा पुर्यायो । जनवरी २७ को राति करिब १ः४० बजे, सप्पोरो शहरको किता वर्डस्थित एक सुविधा पसल (कन्भिनियन्स स्टोर)मा कार्यरत एक कर्मचारीले सेल्फ भुक्तानी मेसिनमा सामान खरिद गरिरहेका एक ग्राहकलाई हेरिरहेका थिए । ती ग्राहकले आफ्नो खरिद गरिएका वस्तुहरूको भुक्तानी गरिसकेपछि मेसिन छेउको स्ट्यान्डबाट एउटा प्लास्टिकको झोला लिए । ती झोलाहरू निःशुल्क हुँदैनन्, र प्रयोग गर्न चाहने ग्राहकहरूले सेल्फ भुक्तानी प्रक्रियामा आवश्यक संख्यामा झोला समावेश गरी तिर्नुपर्छ, जसको प्रत्येक झोलाको मूल्य ३ येन पर्छ ।
ती ग्राहक, जो पछि बेलायतका नागरिक भएको खुलेको थियो, ३ येन भुक्तानी परेनन् । जानाजानी तिर्न नचाहेको हो वा झोला निःशुल्क भएको ठानेर नबुझी लिएको हो भन्ने कुरा स्पष्ट छैन । तर, नियमअनुसार तिर्नुपर्ने भएकाले ४८ वर्षीय पसलका कर्मचारी ती ग्राहकलाई पछ्याउँदै सडकसम्म गए र यो विषय उठाए । कुराकानीले विवादको रुप लियो । कर्मचारीले ती ग्राहकले आफूलाई प्रहार गरेको आरोप लगाए । हुन् पनि उनको बायाँ आँखा नजिक चोट लागेर रगत बगेको थियो ।
बेलायती नागरिक त्यसपछि त्यहाँबाट हिँडेका थिए, तर कर्मचारीले प्रहरीलाई खबर गरेपछि, प्रहरीले ती व्यक्तिलाई फेला पारेर कुटपिटको आशंकामा पक्राउ गर्यो । पक्राउपछि ती व्यक्तिले जानाजानी प्रहार गरेको अस्वीकार गर्दै भने, ‘हामी विवाद गरिरहेका थियौं । मैले उनलाई हानेको होइन, तर जब मैले उनलाई आफूतिरबाट टाढा धकेलें, मेरो हातले उनलाई लाग्यो होला ।’
यस घटनाको विस्तृत कुराकानी र दुवैबीच बोलेको भाषाको समझदारी स्पष्ट छैन । तर, यो घटनाले जापान भ्रमण गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण पक्षहरूलाई उजागर गर्छ । पहिलो कुरा, जापानमा सुविधा पसलका कर्मचारीहरू ग्राहकसँग अनावश्यक रूपमा पैसा असुल्ने सम्भावना अत्यन्त न्यून हुन्छ । यदि कसैले ठगी गर्न खोजे पनि, उनीहरूले ३ येनजस्तो न्यून रकमका लागि यस्तो कार्य गर्दैनन् । अर्को कुरा, यदि कर्मचारीले केवल झोलाको पैसा तिर्न आग्रह नगरी सिधै प्रहरी बोलाउने भनेका भए पनि, त्यसबेला संयमित रहनु सबैभन्दा उचित उपाय हो ।
जापानका नागरिकहरूले बुझ्छन् कि भाषागत समस्या र फरक सामाजिक नियमका कारण विदेशी पर्यटकहरूले अनजानेमा गल्ती गर्न सक्छन् । कुनै घटनामा कुनै खराब नियत छैन र क्षति केवल ३ येन बराबरको छ भने, प्रहरीले तपाईलाई तत्काल पक्राउ गर्ने वा रातभर सोधपुछ गर्ने सम्भावना निकै कम हुन्छ । यदि त्यो अवस्थामा तपाईले झगडा गरेर कसैलाई चोट पुर्याउनु भएन भने मात्र । तर, आफू निर्दोष प्रमाणित गर्नकै लागि ‘मैले हानेको होइन, मेरो हातले मात्रै लागेको हो’ भन्ने अवस्थामा पुग्नुभयो भने, परिस्थितिले झन् खराब रूप लिन सक्छ । त्यसैले, झगडा नगरी संयमित रूपमा समाधान खोज्नु नै सबैभन्दा राम्रो उपाय हो ।
यदि ती पर्यटकले जानाजानी झोला चोरेका थिए भने, यो समस्याबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको नियमअनुसार तिर्नु नै हो। जापानले इमानदार गल्तीहरूलाई खासै कठोर रूपमा नहेर्ने प्रवृत्ति राख्छ, विशेष गरी विदेशी पर्यटकहरूप्रति । तर, पसलबाट चोरी गर्ने वा कसैलाई शारीरिक क्षति पुर्याउने जस्ता कार्यहरू, चाहे ती सामान्य नै किन नहुन्, जापानीहरूले कुनै पनि हालतमा स्वीकार्दैनन् । –जापान टूडेको सहयोगमा