समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध ह्वाइट हाउसका विभिन्न निर्णयहरूको विरोधमा आन्दोलन चर्किएको छ। विशेष गरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)का कर्मचारीहरूले यस निर्णयको खुलेर विरोध गरेका छन्।आन्दोलनकारीहरूले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाउँदै देशभर करिब ५० राज्यमा अनलाइनमार्फत विरोध प्रदर्शन आयोजना गरेका छन्। प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनद्वारा गरिएका विवादास्पद निर्णयहरू तत्काल फिर्ता लिन माग गरेका छन्।
यसैबीच, प्रदर्शनकारीहरूले टेस्लाका सिइओ एलोन मस्कको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनीहरूको दाबीअनुसार, मस्कको नियुक्ति गैरकानुनी ढंगले गरिएको छ। मस्कले युएसएआइडी बन्द गर्नुपर्ने सुझाव दिएपछि यो विषय अझ विवादित बनेको छ।राष्ट्रपति ट्रम्पले युएसएआइडीको सहायता कार्यक्रमलाई तीन महिनाका लागि स्थगित गर्दै यसको पुनरवलोकन गर्न आदेश जारी गरेका छन्। साथै, यस संस्थामा कार्यरत विश्वभरका कर्मचारीहरूलाई फिर्ता बोलाउन निर्देशन दिइएको छ।
सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनद्वारा स्थापित युएसएआइडीले गरिबी निवारण, रोग उपचार, खाद्य संकट समाधान र प्राकृतिक प्रकोपहरूको प्रतिकार गर्न वार्षिक रूपमा अर्बौं डलर सहयोग प्रदान गर्दै आएको छ। तर, हालै जारी आदेशअनुसार, हजारौँ कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि अनिश्चितकालीन छुट्टीमा पठाइएको छ।