काठमाडौं – बहुचर्चित इमेज सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवकुमार नेपाली र बचतकर्ताबिच मिलापत्र गरेर बचत फिर्ताको कार्य शुरु भएको छ ।
बचत पीडित संघर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्ने काम थालिएको हो ।इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठूला बचत कर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत फिर्ताको काम थालिएको संघर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताईन। एक लाख रुपैयाँसम्म बचत रहेका वचतकर्तालाई बचत फिर्ताको काम थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ जना बचतकर्तालाई फिर्ता गरिएको संयोजक शर्माले जानकारी दिएकीछिन । यस्तै सोमबार गलकोटका १ सय ४७ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको पनि शर्माले जानकारी दिएकीछिन । दुई दिनमा रु. एक करोड रकम बचत फिर्ता गरिएको छ ।
गलकोट र ढोरपाटनका ५ सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने गरी प्रक्रिया अगाडि बढाइएको शर्माको भनाई छ ।
बाँकी बचतकर्ताको रकम फिर्ताको लागि मिना ग्रुप कम्पनी प्रालि मार्फत थालिएको हो । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेपछि बचत कर्तामा उत्साह छाएको छ ।
मिलापत्र सकिएपछि जेलबाट देवकुमार नेपाली छुट्नेछन् भने सहमति अनुसार एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई मिना ग्रुप मार्फत जग्गा उपलब्ध गराउने सहमति भएको छ ।
बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्रको काम थालिएको र अहिलेसम्म ५ सय ४७ जना पीडित र नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्रको काम थालिएको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिएकाछन् । एक लाख सम्मका ४ सय ८८ बचतकर्ता भएको कार्कीले बताए । उनीहरुलाई नगद र एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी भएको छ ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज सहकारी खोलेर सहकारी चलाएका नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएपछि ढोरपाटनबाट बचत फिर्ताको काम थालिएको हो । ५ सय ४७ जनाको २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १ सय बचतकर्ताको एक अर्ब १५ करोड बचत रकमको सहमति गरिने कार्कीले बताए ।
बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबी सहित नेपालीसहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो । १ हजार ५ सय ४३ जनाको उजुरीको आधारमा अनुसन्धान अनुसार नेपाली कारागारमा छन् । सहकारीका अध्यक्ष नेपालीले करिव २ अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो ।
देवकुमार नेपाली नेकपा एमालेबाट विजयी ढोरपाटन नगरपालिकाका मेयर हुन् । सत्ता र शक्तिको प्रभावका कारण उनीमाथि नरम नीति अपनाईएको हुन सक्ने कतिपय विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् । पक्राउ पर्नु अघि उनी फरार थिए । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र ढोरपाटन, बुर्तिबाङका स्थानीयहरु उनको अस्वभाविक चुरीफुरी देखेर चकित पर्दै आईरहेका थिए । स्थानीयहरुका अनुसार उनले बुर्तिबाङ बजार, बागलुङ बजार, पोखरा, बुटवल, भैरहवा लगायतका सहरबजारमा आलिसान बंगला घरहरु जोडेका छन । कामविशेषले बुर्तिबाङ, बागलुङ, पोखरा नियमित आवतजावत गर्दा समेत उनी हेलिकोप्टरको प्रयोग गर्थे । उनी छतमा हेलिप्याड भएको घरमा बस्ने गर्थे । ****