नागोया – जापानको नागोयामा सम्पन्न तेस्रो नेपाल फेस्टिभलको आयव्यय सार्वजनिक गरिएको छ । जून ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा नेपाल फेस्टिभलको आयोजना गरिएको थियो । फेस्टिभल सम्पन्न गर्नका लागी जापानमा रहेका नेपाली र नेपालीका संघसंस्था एवं जापनिज र जापनिजका संघसंस्थाहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।
फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ । खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताइएको छ । फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ । खर्च कटाएर फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार ८ सय ७७ येन रहेको छ ।फेस्टिभलका संरक्षक समेत रहेका आर्थिक संयोजक दीपक कार्कीका अनुसार जुनसुकै सामाजिक कार्य गर्दा आर्थिक पारदर्शिता हुनु जरुरी छ । जापानमा यसअघि हुने गरेका कतिपय कार्यक्रमका आयव्यय सार्वजनिक नगरिएको बताउँदै जसका कारण जनमानसमा विश्वास घट्ने कार्कीले बताए । फेस्टिभलको आय व्यय प्रस्तुत फेस्टिभलका आर्थिक संयोजक दीपक कार्कीले गरेका थिए । एनआरएनए क्षेत्रीय समिति नागोयाका कोषाध्यक्ष रुपेश पुनका अनुसार संस्थाको अनि फेस्टिभलको हरेक हरहिसाब चुस्त दुरुस्त राखिएको छ ।
आय व्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समिति नागोयाका उपसंयोजक एवं फेस्टिभल आयोजक समितिका संयोजक देव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समितिका नागोयाका सचिव प्रतीक कार्कीले गरेका थिए भने कार्यक्रममा सहजीकरण एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष योवन देवानले गरेका थिए ।
फेस्टिभलमा आर्थिक सहयोग गर्ने केही व्यक्तिले रकम बुझाउन केही ढिला गरेकोले केही समय ढिला आयव्यय सार्वजनिक गर्न परेको एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष कुशल पौडेलले जानकारी गराए । पौडेलका अनुसार अब भने फेस्टिभलको उठ्न पर्ने कुनै बक्यौता रकम छैन ।
बेलाबेलामा जापानको विभिन्न शहरहरुमा नेपाल फेस्टिभल आयोजना गरिए पनि आर्थिक पारदर्शी नहुने र घाटा देखाउने प्रवृत्ति नदेखिएका होइनन् । जापानको तेस्रो ठूलो शहर नागोयामा भएको फेस्टिभल बाट अरूले पनि धेरै सिक्न सक्छन् । जापानमा यतिबेला २ लाखको हाराहारीमा नेपालीहरू रहेका छन् । बेलाबेलामा जापनिज माझ नेपाल र नेपाली चिनाउन गरिने यस्ता नेपाल फेस्टिभलहरूले अवश्य पनि जापानमा नेपाल र नेपाली चिनाउन योगदान गरेको छ ।