काठमाडौं – युरो कप २०२४ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका युवा स्टार लामिन यामलले जितेका छन् । यस प्रतियोगितामा उनले एक गोल गर्नुका साथै चार असिस्ट प्रदान गरे । यमल युरो कप २०२४ मा सर्वाधिक असिस्ट गर्ने खेलाडी हुन् ।
उनले प्रतियोगिताभर ५०७ मिनेट खेलेका थिए, जसमा यमलले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरे । यमलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए । योसँगै उनले युरो कपमा सर्वाधिक कम उमेरमा गोल गर्ने कीर्तिमानसमेत बनाए । यमलले १६ वर्षको उमेरमा गोल गरेका थिए ।युरो कप २०२४ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड स्पेनका मिडफिल्डर रोड्रीले जिते । स्पेनलाई चौथोपटक युरो उपाधि दिलाउन अहम् भूमिका खेलेका उनले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
रोड्रीले प्रतियोगिताभर ५२१ मिनेट खेल्दा एक गोल गरे । उनले ४३९ पासको अटेम्पको गर्दा ४११ पास कम्प्लिट गरेका थिए । रोड्रीले प्रतियोगितामा ७ मध्ये ६ खेलमा पहिलो रोजाइमा खेलेका थिए ।
युइएफएको टेक्निकल अवजर्भर्स टिमले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छनोट गर्दछ । सन् १९९६ बाट प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिँदै आइएको छ ।