आज भन्दा ७३ वर्ष अगाडि अर्थात सन् १९४५ अगस्टमा दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले जापानको ऐतिहासिक दुई सहर हिरोशिमा र नागासाकीमा बिध्वंशकारी आणविक बम खसालेको थियो । अगस्त ६ मा हिरोशिमा र ९ मा नागासाकीमा शत्तिशाली बम प्रहार हुँदा क्षणभरमै सहर खरानीमा परिणत भएका थिए । पहिलो आणबिक बम प्रहारबाट हिरोशिमामा तत्काल १ लाख मानिसको ज्यान गएको थियो भने त्यसको असरले पछि पनि हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि जापानको अर्को सहर नागासाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५० औ हजार निर्दोष मानिसहरुले ज्यान गुमाउनुपरेको थियो ।
अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य बाहिर नआएकोले यस बारेको अनुमानमा पनि बिबाद नै छ । तर हिरोशिमा सहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको र त्यो जनसंख्या मध्ये आधाभन्दा केही कम अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मृत्यु भएको मानिएको छ । हिरोशिमाको त्यो बर्बादी भएको स्थलमा शान्ति संग्रहालय निर्माण गरिएको छ । हिरोशिमा दिवसका दिन बर्षेनी जापानीहरु त्यहाँ पुगेर त्यसक्रममा मारिएका पूर्खाहरुको सम्झनामा प्रार्थना गर्ने र आणबिक हतियारको बिरोध गर्ने गर्दछन् ।
यस्तै नागासाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस मारिएको अनुमान छ । परमाणु बमको असर र पछिसम्म त्यसको विकिरण फैलिएका कारण हजारौ जापानीहरुको पछि मृत्यु भएको थियो भने ठूलो संख्याका जापानीहरु अपाङ्ग एवं दीर्घरोगी भएका थिए । उक्त अमानवीय परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने निर्णयप्रति अमेरिकाले अहिलेसम्म न कुनै पश्चाताप गरेको छ भने न त माफी नै मागेको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुगेर त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले तीन बर्ष अघि हिरोशिमामा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका थिए । अहिले भने बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै कित्तामा उभिदै आएका छन् । तथापि अगष्ट ६ र ९ मा जापानमाथि गरिएको परमाणु बम आक्रमणलाई जापानीहरुले मानब इतिहासको एउटा कालो धब्बाकै रुपमा युगौयुगसम्म लिईरहने निश्चित छ ।
दोस्रो विश्वयुद्धमा गुमाउनुपरेको मानवीय, आर्थिक तथा भौतिक क्षतीबाट तंग्रिन जापानलाई निकै वर्ष लाग्यो । यसको बदलामा जापानले अमेरिकाप्रति कहिलै पूर्वाग्रही भावना नराखी छोटो समयमै अहोरात्र खटेर बिश्वलाई नै चकित पार्ने गरी जुरुक्क उठेर देखाईदिएको छ । राष्ट्रियताको भावनाका साथ एउटा सिंगो पुस्ताको मिहिनेतपूर्वकको त्याग र समर्पणले यो सबै संभव भएको हो । क्षतविक्षत भएको मुलुकलाई एउटा पुस्ता जाग्यो भने संसारकै समृद्ध बनाउन सकिने गतिलो उदाहरण जापानले देखाईदिएको छ । बदलामा लफडाबाजीमा फसेर श्रम, शक्ति र समय खर्चिएको भए जापान आजको जापान हुन संभव थिएन । लाखौंको संख्यामा आफ्ना नागरिक गुमाउनुपरेको हिरोशिमा, नागासाकी घटनाबाट जापान र जापानी जनतालाई सकारात्मक सोचका साथ मिहिनेतले अगाडि बढ्न सिकायो, परिश्रमी बन्न सिकायो, शान्तिपूर्ण मार्गमा लाग्न सिकायो र त आज जापान जापान जस्तो बन्न सकेकोमा उनीहरुमा गर्व छ । जसले आफुमाथि क्रुर अमानवीयता प्रदर्शन गरेर विक्षिप्त बनायो, उसैसंग असल मित्रता कायम गरेर गला मिलाउँदै बिश्वकै समृद्धशाली राष्ट्रहरुको अंग्रपंत्तिमा आफुलाई उभ्यायो, यस अर्थमा आग्रह, पूर्वाग्रहमा बिश्वास नगर्ने जापानीहरु धन्य मानिन्छन् । क्रुर घटनालाई पनि सकारात्मकरुपमा लिन सकियो भने असल परिणाम हासिल गर्न सकिने सन्देश दिने हिरोशिमा दिवसको अवसरमा तत्कालिन घटनामा दिवंगत ज्ञातअज्ञात जापानी पूर्खाहरुप्रति हार्दिक श्रद्धासुमन !