आम सञ्चारको क्षेत्रमा सशक्त बन्दै गईरहेको सामाजिक सञ्जालमा नागरिकको पहुँचका कारण पत्रकारितामा नयाँ चुनौती थपिएको छ । मिडियामा आउनुपूर्व हरेक नयाँ घटना बारे पाठक आफै सूचना संप्रेषण गर्ने हैसियत राख्दछन् । अब शिलान्यास र उदघाटन जस्ता औपचारिक समाचारले पाठकको ध्यान आकृष्ट गर्ने दिन बाँकी रहेनन् । पाठकको रुचीअनुसार मिहिनेतपूर्वक बिषयको गहिराईसम्म पुगेर खोजमुलक समाचार उत्पादन नगरेसम्म समाचारले पाठक पाउन मुश्किल हुँदै गएको छ ।
कुनै जमाना थियो, राजा महाराजालाई खुशी पार्न उनीहरुका भ्रमण, कष्मेटिक शिकार र शिलान्यासका समाचार प्रमुख बन्थे । नागरिकका जनजीवन, विकास र समाज परिवर्तनका सवाल जस्ता जनचेतना जगाउने खालका समाचार प्राथमिकतामा पर्दैनथे । यसरी नै मुलुकको पत्रकारिताले दशकौं बितायो । हिजोका दिनमा पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । पत्रकारिताबारे अध्ययन, अध्यापनका सुबिधा थिएनन् । आजका जस्ता प्रशस्त तालिम केन्द्रहरू पनि खुलेका थिएनन् । ज्ञानको कमीले गर्दा पनि यसको दायरा फराकिलो हुन सकेको थिएन । तर आज सामाजिक सञ्जालको तिब्र बिस्तार र बिकाससंगै हरेक नागरिक स्वयम पत्रकार बनिरहेका छन् । समाजमा हुने हरेक गतिविधिलाई उनीहरु सुक्ष्म ढंगले अध्ययन, अनुसन्धान र अनुगमन गरी तत्काल संप्रेषण गरिरहेका हुन्छन् । यस्तो अवस्थामा सञ्चारमाध्यमहरुले थप उन्नत, पृथक र परिष्कृत समाचार सामाग्री पस्कनुपर्ने चुनौती थपिएको छ ।
पाठकको चाहना र बिषयवस्तुका हिसाबले तात्कालिक महत्व एवं प्राथमिकताको पहिचान गरी सञ्चारमाध्यमहरुले समाचार संप्रेषण गर्नुपर्ने स्थिति आएको छ । बिहान उठेदेखि राति ओछ्यान नपर्दासम्म औसत मानिसहरु सामाजिक सञ्जालमार्फत नयाँ नयाँ सूचना प्राप्त गरिरहेका हुन्छन् । उनीहरुको दैनिकी सूचना र प्रविधिसंग यति घनिष्ठ बन्दै गएको छ कि, यस्तो अवस्थामा उनीहरुको ध्यानलाई खिच्न सक्ने भनेको अर्गानिक समाचारले नै हो, जुन अन्यत्र पढ्न पाउँदैनन् । अर्गानिक उत्पादन आफैमा गहन बिषय हो, प्रवासको सवालमा यो अझ कठिन बिषय मानिन्छ । जसका कारण पनि लेखिनुपर्ने तर नलेखिएका धेरै बिषयमा पत्रकारहरुको ध्यान पुग्न सकेको देखिदैन । सत्य, तथ्यमा आधारित सहि समयमा सहि सूचना प्रवाह गरेर समाजलाई सुसूचित गर्ने र सजग एवं सचेत बनाउने पत्रकारिताको धर्म हो । त्यसैले त यो क्षेत्रलाई समाजको ऐना पनि भनिएको हो । तथापि सामाजिक सञ्जालको तिब्र गतिको तुलनामा पत्रकारिताको बेग सुस्त देखिन्छ ।
घरदेशदेखि परदेशसम्मका कसको जन्म दिनदेखि कसको मृत्युसम्मको पलपलका खबर सामाजिक सञ्जालमा पढ्न पाईने भएपछि समाचारका हेडलाईन बिकाउन समेत आज सञ्चारमाध्यमहरुलाई धौ धौ परिरहेको अवस्था छ । उसो त सामाजिक सञ्जालमा आएका कतिपय सूचना तथ्यपरक र जबाफदेहिताको हिसाबले कच्चा पदार्थ जस्तै लागेपनि देशदुनियाँका ठूलो हिस्सा आज सामाजिक सञ्जालमा अत्यधिक समय खर्चदो छ । त्यसकारण पनि पाठकको सहजताका लागि समाचारका लिंक सामाजिक सञ्जालमा शियर गर्ने प्रचलन बढ्दै गएको छ । बदलिएको समयसंगै समाचार खोज्दै पाठक आउने दिन गएकोले सामाजिक सञ्जालमा विचरण गरिरहेका सबैले पढून् भन्ने हेतुले समाचारले पाठक खोज्दै उनीहरुको आँखै अगाडि पुग्नुपर्ने अवस्था आएको हो ।
प्रस्तुतीमा सभ्य, शिष्ट र मर्यादित बन्न सके सामाजिक सञ्जालको प्रयोग अझ प्रभावकारी हुन सक्नेमा दुई मत छैन । तर मृत्यू अगावै श्रद्धाञ्जलीको हतारो, गालीगलौज र अपाच्य शब्दको प्रयोग, आग्रह पूर्वाग्रहको कुण्ठा पोख्ने थलो हुनु भने चिन्ताको बिषय हो । ब्यक्तिको अभिब्यक्तिले स्वयमको बौद्धिकताको पनि मापन गर्ने हुनाले भाषाशैली र शब्द चयनले ठूलो महत्व राख्दछ भन्ने कुरो बिर्सन मिल्दैन । सन्देश दिन खोजिएको बिषयलाई अतिरञ्जित नहुने गरी प्रस्तुत गर्न सक्नु अर्को कला हो । सामाजिक सञ्जालमा आएका बिषयवस्तुले समाजमा पार्ने प्रभाव र त्यसैको आधारमा बहकिने सञ्चारमाध्यमका कारण बिभिन्न बिसंगतिहरु बढ्न थालेका छन् । तसर्थ सूचनाकर्ता चाहे सामाजिक सञ्जालका होऊन् वा सञ्चारकर्मी सबै जिम्मेवार हुनु जरुरी छ । ***