नेपालको इतिहासमा बिसं २०७४ साल महत्वपूर्ण रह्यो । लामो समयदेखि मुलुकमा विद्यमान राजनीतिक उल्झन अवतरण भएको छ । नयाँ संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि तीन तहका निर्वाचन ०७४ सालमै सम्पन्न भए । जसअनुसार स्थानीय, प्रदेश र केन्द्रीय सरकार स्थापना भई संघीय ढाँचामा मुलुक अगाडि बढिसकेको छ । आर्थिक समृद्धिको दिशामा मुलुक प्रवेश भएसंगै नयाँ उत्साह र उमंगका साथ नयाँ वर्ष शुरु भएको छ ।
लामो राजनीतिक अस्थिरताबाट तंग्रिएको नेपालमा अहिले झण्डै दुई तिहाइको समर्थनमा शक्तिशाली सरकार छ । नेपाली जनताले दिएको म्याण्डेटलाई केन्द्रमा राखी स्थिर सरकारमार्फत विकास निर्माण अभियानलाई तिब्र गतिमा अगाडि बढाउन सरकारले कुनै पनि बहानामा समय खेर फाल्न हुँदैन । जनताका अपेक्षा असाध्यै धेरै छन् । विकास र समृद्धिको पक्षमा उर्लेको जनमतलाई अहिलेको सरकारले समयमै परिणाममुखी कार्यहरु गरेर देखाउन सकेन भने उनीहरुमा चरम निराशा बढ्न सक्छ । झण्डै दुईइतिहाइभन्दा बढीको समर्थन प्राप्त वर्तमान वाम गठबन्धनको सरकारको कामकार्वाहीलाई चौतर्फी उच्च महत्वका साथ हेरिएको छ । प्रतिपक्षी लगायत सबैको सहयोग जुटाएर अगाडि बढेमा आर्थिक समृद्धिको चाहना पूरा गर्न सघाउ पुग्ने देखिन्छ ।
नयाँ वर्ष शुरु भएसँगै दुई ठूला वाम पार्टी बिचको एकतालाई छिट्टै औपचारिकरुपमा टुंगोमा पुर्याउने बताईएको छ । यसले राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न थप टेवा पुग्ने देखिन्छ । त्यसकारण पनि यो सरकारबाट धेरै अपेक्षा गरिएको छ । यस परिवेशमा नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धिमा ठोस परिवर्तन हुने तिब्र अभिलाषा जाग्नु अस्वभाविक मान्न सकिन्न ।
शान्ति, सुशासन, स्थिरता र समृद्धिको राजमार्गमा मुलुकलाई हिडाउँने ऐतिहासिक जिम्मेवारी पाएका प्रधानमन्त्री केपी ओली र उनका बलिया सारथी बनेका पुष्पकमल दाहाल प्रचण्डको काँधमा अहिले ठूलो जिम्मेवारी छ । यि दुई नेताबिचको सहकार्यमा कुनै पनि हालतमा दरार आउन दिनुहुँदैन । मुलुकको भविष्यसंग गाँसिएको इतिहासले दिएको यस जिम्मेवारीबाट दायाँबायाँ गर्न उनीहरुलाई छुट छैन । लामो राजनीतिक जीवनको उत्तरार्द्धमा पाईला टेकिसक्नुभएका नेताद्वयबाट देश र जनताप्रतिको इमान्दारितामा शंका गर्ने ठाउँ नरहे पनि नेपाली समाजले हुर्काएको सत्तामुखी राजनीतिक सँस्कारका कारण अनेकन चलखेल नहोलान् भन्न सकिन्न । त्यसकारण पनि सम्बन्धित सबैबाट आवश्यक पहरेदारी हुनु जरुरी छ ।
लामो समयपछि उघारिएको नेपालको राजनैतिक क्षितिजका कारण उत्साहित बनेका विदेशमा रहेका नेपालीहरु पनि अब देशभित्रै संभावना देख्न थालेका छन् । लगानीका संभावित क्षेत्रहरुको अध्ययन गरी मुलुकमै फर्केर सानोतिनो ब्यवसाय गर्न सके बिदेशमा भन्दा नेपालमै कमाई गर्न सकिने आत्मबिश्वास नेपालीहरुमा बढ्न थालेको छ । घरजग्गा जस्ता अनुत्पादनशील क्षेत्रमा भन्दा रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानीको आकर्षण बढ्दै गएको छ । बिस्तारै वातावरण सकारात्मक बन्दै गएको बेला राज्यले पनि बिदेशमा रहेका नेपालीहरुलाई देशभित्र लगानी गर्न प्रोत्साहित हुने खालका नीति तथा कार्यक्रम ल्याउन सक्नुपर्दछ । उनीहरुको लगानीमा सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्दछ । यसो हुन सकेमा लगानी गर्न सक्ने हैसियत बनाएका धेरै नेपालीहरु स्वदेश फर्केर उद्यमी बनी रोजगारीका अवसर सिर्जना गर्न सक्ने देखिन्छ ।
स्थायी सरकारमार्फत आगामी पाँच वर्षमा मुलुकको मुहार फेरिनेमा नेपालीजन विश्वस्त हुनेगरी नयाँ वर्ष २०७५ भित्रै देशमा समृद्धिको जग बलियोगरी बसाउन सकियोस्, शुभकामना ।***