विसं २०१२ चैत १६ गते स्थापित नेपाल पत्रकार महासंघले हालै ६३ औं स्थापना दिवस मनाएको छ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा हाल १० हजार ६ सय ६२ पुरुष र २ हजार ३ सय ५४ महिला गरी १३ हजार ५० जना सञ्चारकर्मीहरु आबद्ध छन् । महासंघलाई आजको स्थितिसम्म ल्याईपुर्याउन यसका अग्रज पुस्ताले निर्वाह गरेको भूमिका र दायित्व कम महत्वपूर्ण छैन । पत्रकारिता क्षेत्रलाई स्थापित गर्न उनीहरुले गरेको योगदान र संघर्षपूर्ण इतिहासबाट महासंघले आजको उचाई हासिल गरेको हो । पत्रकारिताको मुल मर्म र धर्मलाई जोगाई राख्नका लागि यसको इतिहास र अग्रज पुस्तालाई बुझ्न र जान्न आवश्यक छ ।
तत्कालिन प्रतिकुल परिस्थितिमा पनि प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि पत्रकारिता गर्नेहरूको सानो संख्याले समाजलाई सचेत र जागरुक गराउन थालेको अभियानले आज बिशाल आकार लिन संभव भएको हो । जसले राज्यसँग लड्दै समाजको जोखिमयुक्त पहरेदारी गरे, उनीहरुले गरेको संघर्षको जगमा आजको पत्रकारिता फस्टाउँदै व्यवसायिक बन्दै गएको हो । यद्यपी कतिपय अवस्थामा राज्यको चौथो अंगको खिल्ली नै उडाउने गरी पत्रकारिता क्षेत्र आलोचनाको विषय बन्ने गरेको पाईन्छ । तसर्थ प्रेस जगतलाई मर्यादित र अनुशासित बनाउन सम्बन्धित निकायहरुले थप जिम्मेवार भएर काम गर्न आवश्यक छ ।
साधन, स्रोत र प्रविधिको सहजीकरणले गर्दा आजको पुस्ताको पत्रकारिताप्रति आकर्षण बढ्दो छ । जसका कारण सञ्चारगृहमा आएको वृद्धिले समाजलाई विकास र आधुनिकीकरण तर्फ डोर्याएको छ भने अर्को तर्फ पत्रकारिता क्षेत्रमा देखिएको अनपेक्षित अस्वस्थ प्रतिस्पर्धाले विसंगति तथा विकृतिहरु मौलाउन थालेका छन् । होडबाजी र हचुवाको भरमा गलत सन्देश प्रवाह गर्ने प्रवृत्तिले कतिपय अवस्थामा व्यक्ति वा संस्थाको जीवनभरिको लगानीबाट हासिल गरेको प्रतिष्ठामा गम्भीर आँच पुग्ने गरेका दुःखद उदाहरणहरु बाक्लिन थालेका छन् । जसका कारण छिटो छरितो माध्यमका रूपमा लिईने अनलाइन सञ्चारमाध्यमहरुको विश्वसनीयता माथि प्रश्नचीन्ह उठ्न थालेका छन् । नकरात्मकतातर्फ उद्यत यि र यस्ता विकृतिहरुमा सुधार गर्दै व्यवसायिक पत्रकारिताको जगलाई थप मजबुत बनाउन पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको मिहिनेत एवं धैर्यताबीच संयोजन हुन जरुरी छ । तब मात्र आमसञ्चारलाई अझ सशक्त र प्रभावकारी बनाउन सकिन्छ ।
सूचना र प्रविधिको बिकाससंगै पत्रकारितामा धेरै किसिमका चुनौती थपिएका छन् । यस सन्दर्भमा पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ र आबद्ध सञ्चारकर्मीले यस क्षेत्रको गरिमा र मर्यादा बढाउन थप मिहिनेत र इमान्दार बन्न सक्नुपर्छ । आम नागरिकको सही सूचना पाउने अधिकारलाई कुण्ठित हुन नदिन जस्तोसुकै चुनौतीको पनि सामना गर्न पत्रकारहरुको सर्बोच्च धरोहर संस्था महासंघको थप सक्रियता र तत्परता अपेक्षित छ ।
नेपाली पत्रकारितामा आएको विश्वब्यापीकरणसंगै नेपाली पुगेका हरेक भूगोलबाट त्यहाँको सूचना संप्रेषण हुने गर्दछन् । जसले गर्दा नेपालीहरुबीचको एकता, भाइचारा र पारस्परिक निकटतालाई खँदिलो बनाएको छ भने प्रवासमा नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको संबर्द्धनमा यथेष्ट टेवा पुगिरहेको छ ।
स्थायी प्रतिपक्ष भनेर चिनिने प्रेस जगत यदाकदा शक्ति पूजकको भूमिकामा प्रस्तुत भईदिँदा समाज वा राष्ट्रमा अवाञ्छित सँस्कारले मौलाउने अवसर पाउने गरेका छन् । स्थापनाको ६३ औं वार्षिकोत्सव मनाईरहँदा समग्र नेपाली पत्रकारिता क्षेत्रले हासिल गरेको उपलब्धि र गुमाउँदै गएको विरासतका विविध आयामहरुका बारेमा देशभित्र र बाहिर मिहिन ढंगले समीक्षा हुनु जरुरी छ । ***