नेपालको राजनैतिक वृत्तमा पछिल्ला केही वर्ष यता आर्थिक समृद्धिको मुद्दा सबैभन्दा पेचिलो बन्दै आईरहेको छ । आर्थिक समृद्धिका लागि अनिवार्य सर्त हो शान्ति, स्थिरता र सुशासन । यिनै बिषयलाई केन्द्रमा राखेर मुलुक संघीयतामा गएसंगै नेपालका दुई ठूला वामपन्थी दलहरुबीच पार्टी एकता गरी स्थिर सरकार दिने उदघोष गरिरहेका छन् । यसले नेपाली जनतामा सुदूर भविष्यतर्फ आशाको सञ्चार त गरेको छ नै सुबिधायुक्त म्याण्डेटसहित बनेको सरकार भएकोले अब मुलुक समृद्धिको दिशामा अघि बढ्नेमा शंका गर्ने ठाउँ पनि देखिदैन ।
तथापि हाम्रो राजनीतिले देशबाट बाहिरिएका झण्डै ५० लाख गरिखाने युवाहरुलाई कसरी मुलुकभित्रै आर्थिक विकासको मुल प्रवाहमा संलग्न गराउने भन्ने दिशामा कहिलै चिन्तन गरेको पाईदैन । अबको सरकारले विदेश पलायन भईरहेको विकासका मेरुदण्ड मानिने युवा जनशक्तिलाई आकर्षक नीति तथा योजनासहित आफ्नै देशभित्र उत्पादनसंग जोड्न सक्नुपर्दछ ।
आधुनिक विकासको आधारशीला भनेको सुशासन हो । राजनीतिक स्थायित्वको अभावमा विगत ७ दशकदेखि सुशासनको स्तर निरन्तर खस्कँदो छ, जसले गर्दा नेपालको समग्र उत्पादन र व्यापारको अवस्था चिन्ताजनक छ । यस क्षेत्रमा ब्यापक सुधार गर्न सके मात्र लगानी बढेर देशभित्रै रोजगारीको अवसर सिर्जना हुन गई समृद्धिको बाटोमा देश अगाडि बढ्न सक्छ ।
संविधान कार्यान्वयनका प्रारम्भिक चरणसंगै पछिल्ला घटनाक्रम र फेरिएको राजनीतिलाई हेर्दा अब मुलुकले सकारात्मक दिशा समातेको देखिन्छ । अबको मुद्दा भनेको केवल आर्थिक समृद्धि रहेकोले यसैमा केन्द्रित रहेर सरकारले जनताको जीवनस्तरमा साँच्चिकै परिवर्तन ल्याउने खालका योजनाहरु अगाडि सार्नुपर्दछ ।
उत्पादनमूलक उद्योगधन्दाको बिकास बिना देशबाट पलायन भईरहेका बहुसंख्यक अदक्ष तथा अर्धदक्ष लाखौं युवाहरुलाई रोजगार दिन सकिँदैन । त्यसैले हाम्रो आवश्यकता, क्षमता र अन्तर्राष्ट्रिय बजार हेरेर उत्पादनमा ध्यान दिनैपर्दछ । त्यसो गर्न सकियो भने मात्र त्यसले लगानीको वातावरण निर्माण गर्न सक्दछ ।
अर्कोतिर हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउन जरुरी छ । हाम्रा जनशक्ति सर्टीफिकेटमा शिक्षित भएपनि सीपयुक्त छैनन् । हरेक शिक्षित नागरिक उत्पादनसंग जोडिने गरी कुनै न कुनै सीपयुक्त हुने हो भने उनीहरु देशभित्रै खपत हुन सक्दछन् । त्यसो नहुँदा हाम्रो जनशक्ति विदेश जान उद्यत छ । नेपालमा उद्योग, व्यापार बढाउने खालको व्यवसायिक शिक्षा हामीले दिन सकिरहेका छैनौं । देशलाई आवश्यक पर्ने जनशक्ति आज अभाव हुँदै गएको छ, तर हाम्रो शिक्षित जनशक्ति यहाँ काम नपाएर विदेशिएको छ । यसको मुल कारण भनेको शिक्षालाई उत्पादनसंग जोड्न नसक्नु नै हो । त्यसैले शिक्षालाई बढी व्यवसायिक र ब्यवहारिक बनाउन सके मात्र उत्पादनमा योगदान गर्न सकिन्छ । तसर्थ शिक्षा प्रणालीलाई आजको हाम्रो आवश्यकता अनुसार सुधार ल्याउन सक्यौं भने देश समृद्धिको बाटोमा स्वतः अगाडि बढ्ने देखिन्छ ।
उत्पादनको कुरा गर्दा हाम्रा छिमेकमा उपलब्ध विशाल बजारलाई हामीले खासै उपयोग गर्न सकेका छैनौ । उपलब्ध बजारको गहन अध्ययन गरी सोही अनुसारको वस्तुको उत्पादनमा जोड दिन सके पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । यसैगरी अथाह संभावना भएको हाम्रो देशको पर्यटन क्षेत्रको बिकास गर्न सकियो भने तिब्र आर्थिक बिकास गरिरहेका बिशाल जनसंख्या भएका नजिकका दुई ठूला छिमेकी देशका जनताहरुलाई आकर्षित गरी वर्षेनी लाखौंको संख्यामा पर्यटक भित्र्याउन सकिन्छ । जसबाट पर्याप्त रोजगारीको सिर्जना हुनुका साथै अर्थतन्त्रमा पनि यथेष्ट योगदान पुर्याउन सकिन्छ । दृढ इच्छाशक्तिसहित इमान्दारपूर्वक काम गर्ने हो भने देशलाई समृद्धितर्फ लैजाने अवसरै अवसर प्राप्त छ अहिलेको ओली सरकारलाई । साँच्चिकै अनुभूत हुने गरी परिवर्तनको ब्यग्र प्रतिक्षामा रहेका नेपाली जनतासामु अब यो वा त्यो बहानामा समय खेर फाल्ने छूट वर्तमान सरकारलाई हुने छैन ।***