काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । लिभरपुलको मैदानमा सोमबार राति भएको खेलमा दुवै क्लबले गोल गर्ने राम्रा मौका बनाएपनि गोल गर्न सकेनन् । म्यानचेस्टर युनाइटेडका खेलाडीको डिफेन्स र अनुशासनका कारण लिभरपुलले बलमा नियन्त्रण बढी रहे पनि गोल गर्न सकेन ।
पछिल्लो समय निकै फर्ममा रहेको लिभरपुलसँगको खेलमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होको रणनीति निकै उपयोगी बन्यो ।
म्यानचेस्टर युनाइटेडले यो खेलमा लिभरपुलले यो सिजन गर्दै आएको स्तरको प्रदर्शन गर्ने मौका नै दिएन । मोरिन्होले खेललाई अट्याकिङ भन्दा पनि लिभरपुललाई अवसर नदिने रणनीतिमा खेलाडीलाई परिचालित गरेका थिए ।
यति हुँदा हुँदै पनि दोस्रो हाफमा लिभरपुलले गोल गर्ने राम्रा दुई मौका सिर्जना गर्यो । तर म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डि जियाले सुन्दर बचाउ गर्दै टिमलाई जोगाए ।
जियाले एमरी क्यान र फिलिपे कोन्टिन्होको प्रहार जोगाएका हुन् । युनाइटेडले पनि दोस्रो हाफमा नै गोल गर्ने मौका बनाएको थियो ।
पउल पोग्बाको क्रसमा जाल्टन इब्राहिमोविचले प्रहार गरेको बल लक्ष्यमा भने पुग्न सकेन । बराबरीपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
शीर्ष दुई स्थानका सिटी र आर्सनल भन्दा दुई अंकले पछि रहेको लिभरपुल ८ खेलबाट १७ अंकसहित चौथो स्थानमा छ । १४ अंक रहेको युनाइटेड सातौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया