सम्माननीय प्रधानमन्त्रीज्यू,
म पत्रमार्फत आफ्नो पीडा पोखिरहेछु । मेरो कोठामा ग्यास सकिएको झन्डै दुई महिना भइसक्यो, मसँग सञ्चित गरेर राख्ने अर्को ग्यास सिलिन्डर थिएन र छैन ।
दैनिक मजदुरी गरेर बालबच्चाहरू सरकारी स्कुलमा पढाइरहेको छु । बजारमा कालोबजारीमा ७/८ हजार तिर्यो भने त ग्यास पाइन्छ रे भन्ने सुनेको छु । राइसकुकर पनि पाँच हजारतिरेर किन्न पाइन्छ रे । हिटरमा भात पकाउँदा कहिलेकाहीं लाइन गएर काँचै रहन्छ । यस्तो अवस्थामा महँगो पैसा तिरेर सोलार किन्ने हैसियतको मान्छे होइन म । मलाई तपाईले गरिबी या भोकमरी पीडित जे भनेर बुझ्दा पनि हुन्छ । तपाईले हरेकचोटी भाषणमा नछुटाउने शब्द जनता मै हुँ । मैले दिएको भोटले तपाई अहिले प्रधानमन्त्री बन्नुभएको छ ।
तपाई देशको छैठौं कम्युनिष्ट प्रधानमन्त्री रे भन्ने रेडियोबाट सुनेको हुँ । मलाई थाहा छैन, म तपाई र तपाईका क्रान्तिकारी साथीहरूको सर्वहाराभित्र पर्छु कि पर्दिन र पूर्व मण्डलेको राष्ट्रवादी तत्त्वको परिभाषाभित्र पनि अटाउँछु कि अटाउँदिन । ग्यास आउँछ कि भनेर हरेक साँझ रेडियोमा समाचार सुन्छु, कूटनीतिक पहल भैरहेको छ भन्नेमात्र सुन्छु । यो कूटनीतिक पहल के हो, मलाई थाहा भएन । म त एउटा सर्वसाधारण मानव हुँ, यतिमात्र थाहा छ । मलाई कसैले ‘सल्वार्टन’ भनुन् कि निमुखा जनता भनुुन्, मलाई केही फरक पर्दैन । देशमा नयाँ संविधान आएको सुन्छु, त्यसैले भारतले नाकाबन्दी गरेको भन्ने पनि सुन्छु । मलाई थाहा छैन, नेपालले संविधान जारी गर्दा भारतको किन टाउको दुखेको हो ? म नेपाली भएर पृथ्वीको यो भूभागमा जन्मिएकोमा हर्ष मानुँ कि विस्मात् । मेरा सयौं पुस्ता मजस्तै अर्काको भारी बोकी मरेर गए । म पनि त्यही भारी बोकेर गुजारा चलाइरहेको थिएँ, तर अब त कुनै भारी पनि छैन, किनकि सहरमा सिमेन्ट—बालुवा केही छैन । ठेकेदारले काम छैन, तिहारपछि नआउनु भनेको छ ।
तपार्इंहरूको कुन—कुन कुरा मधेसी नेताहरूसँग मिलेको छैन, मलाई केही थाहा छैन । यो चाँडै मिलाउनसके मेरो कोठामा बालबच्चाहरू धुवाँको कारण खोक्न पर्दैनथ्यो । उनीहरू ग्यास छँदा घरिघरि के—के पकाएर खान्थे, अब त भुसे चुलो बाल्दा पनि आगो लाग्छ कि भनेर डर लाग्छ । घरबेटीले धुवाँ भयो भने घरमा रङ्ग लगाइदिनुपर्छ भनेका छन् । तपाईसँग त कति धेरै ग्यास सिलिन्डरहरू होलान्, किनकि तपाई त देशको प्रधानमन्त्री मान्छे ।
मलाई तपाईको घरको ग्यास सिलिन्डर चाहिएको छैन, किनकि मेरो घरमा नेपाल ग्यास छ र तपाईकोमा गोर्खाली होला साट्न मिल्दैन । म कसैको जस्तो अर्काको सिलिन्डर चोरेर पनि खान सक्दिन, नत मसँग अन्य कुनै उपाय छ, खाना पकाएर बालबच्चालाई खुवाउन । राष्ट्रियता, राजनीति, गणतन्त्र, संघीयता, कूटनीति, पुँजीवाद, कालोबजारी सबै भर्सेला परोस् । मलाई एउटा खाली सिलिन्डरमा ग्यास भरिदिए पुग्छ । मैले जम्माजम्मी १४३० जोगाएर राखेको छु, यदि तत्काललाई भाउ बढाइएन भने ।
– कलंकी, काठमाडौं