Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

स्वाभवतः मानिस असन्तुष्टी जात हो । सन्तुष्टि भयो भने मानिस अगाडि बढन सक्दैन । यो तितो सत्य हामीलेे आफुलाई सन्तुष्टि र असन्तुष्टिको फरक छुट्टयाउने बेलादेखि थाहा पाउँदै आएका हौं । भन्नेहरुले भन्छन मात्र होइन, आदर्शका कुरा गरिरहँदा पनि जो जसरी चलिरहेका छौं त्यसैमा सन्तुष्टि लिनु उत्तम हो भनिन्छ -‘सन्तोषं परम् सुखम्’ । तर के प्रायः मानिसहरुमा यो सिद्धान्त लागू हुन्छ त ? कतिखेर मिल्छ मान्छेलाई सन्तुष्टि ? पैसा कमाएर मिल्छ ? नाम कमाएर मिल्छ ? यसो सोचौं त हामी आफुलाई केही वर्ष पहिलाको समयलाई पछाडि फर्केर हेरौं त । कहाँ थियौं हामी ? र अहिले कहाँ छौं ? यसो भनिरहँदा सबै व्यक्ति आफ्नो विगत भन्दा अहिलेको अवस्थामा आफ्नो स्थिति सुधारिएको नहुन सक्छ वा अगाडि बढेको पनि हुन सक्छ । त्यसैले भनाइ र गराइमा सन्तुष्टिको बुझाई फरक जस्तो देखिन्छ ।
वास्तवमै भन्दा मानिस अगाडि बढ्न असन्तुष्टि हुनै पर्छ । त्यही भएर त जसोतसो आफ्नै देशमा केही गरी, शहरी क्षेत्रतिर उन्मुख भइरहेको जनलहर गाउँमै बसेर कृषिक्षेत्रमा लगाव बढाएर गुजारा चलाउने अवस्था पनि धेरै नेपालीहरुको नभएको होइन । तर पनि मानिसलाई कहाँ सन्तुष्टि मिल्थ्यो र ! गाउँबाट शहर आयो अनि शहरमा आफुले भनेजस्तो अवसर नपाएपछि सबैजनाले समातेको बाटो समात्यो विदेश ।
अहिले १ दिनमा लगभग करीव १३ सयदेखि १५ सय नेपाली युवाहरु विदेशिरहेका छन् । विभिन्न आँकडमा जनाइए अनुसार ४० लाख भन्दा बढि नेपालीहरु विदेशमा छन् । के सबैमा सन्तुष्टि हुँदाहुँदै पनि आफ्नो मातृभूमि छोडेका छन् त ? वा भनौं त्यसरी विदेशिने सबै युवाहरु आफ्नो घर, व्यवहार, भविष्य या अन्य कुनै कुरामा असन्तुष्टि नै छन् त ? निश्चय नै सबैलाई अगाडि बढनु छ । सायद पैसा कमाउनु छ होला वा भविष्य उज्जवल बनाउनु छ ।
प्रसंग हो ति युवाहरुको जो हजारौं सपना बोकेर विश्वको विभिन्न देशमा नयाँ आशा र सुन्दर भविश्यको कल्पनाका साथ आफ्ना पाइला अगाडि बढाइरहेका छ्न । दलाल, मेनपावर, कन्सल्टेन्सी, साहुको ऋण अनि भिषा आदी इत्यादी भयावह प्रकृयाहरु पार गरेर ट्याक्सी चढेर नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा प्रवेशसंगै शुरु हुन्छ कष्टकर परदेशी जीवन । ट्याक्सी ड्राइभरले नै शुरुवाती औकातको प्रार्दुर्भाव गर्छन् । कुन देशमा जाँदैछ यात्रु सोही अनुरुपका ट्याक्सी भाडा । कमैले मात्र चलाउँछन् ट्याक्सीको मिटर । मिटर चलाएमा त मिटरमा उठेको भन्दा बढी पैसा लिन पाइएन । पहिला नै सोधिन्छ ट्याक्सी चालक दाजुभाइबाट कुन देश जान लाग्नु भएको हजुर ? गल्फ, युरोप, अमेरिका, जापान…… ?
त्यसपछि प्रायः सबै ढाका टोपी लगाएर अध्यागमन विभागमा विदेशिने यात्रु चेक गर्न बस्नुभएका नेपाली सरकारी कर्मचारीहरुले देखाउने व्यवहार, उनीहरुको बोल्ने तरिका, उनीहरुले सोध्ने प्रश्न अनि उनीहरुले गर्ने व्यवहारबाट के हामी विदेशिएका सबै परदेशी नेपालीहरुले उनीहरुमा नेपालीपन वा भनौ आफ्नोपन महसुस गरेका छौं त ? यो पंक्तिकारलाई केही महिना अगाडि छुट्टिमा नेपाल गएर फ़र्किने क्रममा पासपोर्टमा भिषा नै रहेनछ ! तपाई के भिषामा जाँदै हुनुहुन्छ ? तपाई जानै मिल्दैन भनेर सोधिहाले । पछि मैले ए हजुर म जाने देशको त छुट्टै कार्डमा भिषा लाग्छ, पासपोर्टमा लाग्दैन भनेको त, मलाइ सिकाउनु पर्दैन, तपाई जस्ता धेरै जान्छन् विदेश, खोइ देखाउनुस कार्ड भनियो । यदि पासपोर्टमा भिषा नलागेर कार्डमा भिषा लाग्छ भन्ने थाहा रहेछ त किन पहिल्यै नभनेको ?
त्यति मात्र कहाँ हो र ? कामको लागि गल्फ लगायतका देशहरुमा जाने धेरै नेपाली दाजुभाइहरुको पेपरमा कति मेनपावर कम्पनीले एयरपोर्टबाट पास गराउनलाई वास्तविक कामदारले गर्न जाने काम र पेपरमा लेख्ने काम फरक बनाएर पठाएका हुन्छन् । अनि प्रश्न गरिन्छ ति सोझा नेपालीहरुलाई के कामको लागि जाँदै हुनुहुन्छ ? कति त गाउँबाट पहिलोचोटी काठमाण्डौ आएर सिधै जहाज चढदै छन् । उनीहरुले आफुले गर्न जान लागेको कामको नाम लिन्छन । तर पेपरमा लेखिएको काम र व्यक्तिको वोलीमा फरक पर्छ अनि फर्काइन्छ एअरपोर्टबाट नै । उनीहरु एअरपोर्टबाट फर्कन्छन् । फेरी विदेश पठाउने दलाललाई भेट्छन् अनि दलालले झुटो कामको नाम लिन सिकाउँछन् । अनि वल्ल तल्ल पुग्छन् काम गर्ने देश । सम्बिन्धत देशको एअरपोर्टमा आफुले काम गर्न गएको कम्पनीको मान्छे लिन नआएर वा झुटा डकुमेन्ट बनाएर नेपालीहरु हप्तौसम्म खानु न पिउनु भएर एअरपोर्टको चिसो छिंडीमा अलपत्र परेका घटना त हामीले सञ्चारमाध्यमहरुबाट थाहा पाउँदै आएका छौं । के वित्छ होला ति व्यक्तिहरुमा जो साहुको ऋण तिरेर आफ्ना स्वास्नी छोराछोरी अनि परिवारमा सुखद दिन आउने कल्पनाका साथ विदेशिएर भोक भोकै कहिले कम्पनीको मान्छे आउँछ र मलाइ लिएर जान्छ अनि काम गरेर पैसा कमाएर घरमा पठाउँला भनेर सपना बुनेर बसिरहेका हुन्छन् ।
वास्तवमा सबैभन्दा समस्याको विषय भनेको हामी आफैैमा छ, हामी आफु जान लागेको देश, आफुले विदेशमा गएर गर्ने काम, भाषा, तथा अन्य कुराहरु बुझ्न पट्टी पटक्कै लाग्दै लाग्दैनौ । जसरी पनि हामीलाई उड्नु छ । हामी विदेश जाने भनेपछि सबै कुरा विर्सन्छौ । वरपर, छरछिमेक देखिन्छ, सबैले विदेशमा गएर कमाएका छन् म किन गर्न सक्दिन भन्ने भ्रम छ हामीमा । लाग्छ विदेशमा त पैसा धेरै सजिलै कमाउन सकिन्छ । ‘नमरी स्वर्ग देखिँदैन’ भन्ने उखानको अर्थ हामीले त्यतिखेर थाहा पाउँछौ, जतिखेर हामीले नेपालबाट आउनुभन्दा अगाडि आफुले गर्नु र बुझ्नु पर्ने सामान्य भन्दा सामान्य जानकारी पनि नलिएर गल्ति गरिएछ ।

यो कुरा गल्फ लगायतका देशहरुमा मात्र नभएर जुनसुकै देशका लागि पनि जरुरी कुरा हो । विद्यार्थी भिषामा विभिन्न देशमा गएर सम्बन्धित देशको भाषा, आफु पढन जाने विषय, काम गर्न पाउने समय, क्याम्पस तथा अन्य प्राथमिक जानकारीको अभावमा हरेक दुःख पाएका विद्यार्थीहरुको कहानीहरुको ठेली तेस्तै छ । लाखौं पैसाको बिटो बुझाएर कुक तथा अन्य कामदार भिषामा जापान लगायतका देशमा गएर अन्तिममा सम्बन्धित व्यक्तिले काम नदिएर कामको लागि भौंतारिरहको उदाहरण पनि त्यत्तिकै छ । अझै गल्फमा जाने कामदारहरुको अर्को विकराल समस्या भनेको नेपालमा सम्झौता गरेर गए बमोजिमको काम र पारिश्रमिक नपाउनु पनि हो । अनि समयमा तलब नदिनु, विभिन्न बहाना बनाएर झुटा आरोप लगाउनु, घर फर्कन छुट्टी नदिनु लगायतका पीडाहरु नेपालीहरुका छँदै छन् ।
युरोप, अमेरिका, अष्ट्रेलिया, जापान लगायतका नेपालीहरुले राम्रो भनेर चिनिने देशमा गएर केही सजिला र सामान्य सेवा सुविधा पाएर गरिरहेका कामलाई अपवादका रुपमा छोडेर प्रतिशतका आधारमा हेर्ने हो भने अरब देशमा गएर ४०/४२ डिग्रीको तातो घाममा पसिना वगाउनेहरुको संख्या धेरै गुणा छ । आफ्नो देश छोडेर विदेश गइसकेपछि चाहे त्यो राम्रो भनेर चिनिने देश होस या अरब मलेसिया जहाँ गएर काम गरे पनि पक्कै पनि सजिलो त छँदै छैन ।
श्रीमान विदेशिएको अवस्थामा श्रीमतीबाट कुलतको बाटो रोजेर घरव्यवहार नै चौपट भइरहको घटना सुन्दा जो कोहीलाई पनि राम्रो लाग्दैन । केही प्रतिशत पुरुषहरुले पनि विदेशिएपछि आफ्ना श्रीमती, परिवार समाजलाई चटक्कै विर्सेर नयाँ व्यवहार शुरु गरेका उदाहरणहरु पनि भेटिन्छन् । यस्तो अवस्था सृजना हुनु भनेको आफ्नो घर व्यवहार नै डामाडोल हुनु हो । आर्थिक, सामाजिक, मानसिक कुनै पनि दृष्टिकोणबाट पनि यो आफैैमा राम्रो होइन् । सके र पाएदेखि त यदि आफु बिदेशिएपछि आफुसँग आफ्ना परिवार, बाल-बच्चा पनि सँगै लान पाउने अवसर पाए यस्ता नराम्रा समाचारहरु सुन्न धेरै कम हुन्थे होलान । तर हामी गरिब देशका नागरिक पर्‍यौं, हामीमा कहाँको त्यस्तो भाग्य हुनु र ? यि सबै बाध्यता हुन् हाम्रा ।
आखिर के छ त समाधान ? समाधान भनेको यदि आफ्नो देशमा रोजगारका अवसर हुने भए कसलाई विदेशिन रहर थियो र ? सके त आफ्नै देशमा केही गर्न सके अति उत्तम । हामी बाध्य छौं विदेशिन तर विदेश जानै पर्दा चाहि, विदेश जानु पूर्व आफुले बुझ्नुपर्ने कुराहरु, सम्बन्धित देशको भाषा, कामसँग सम्बिन्धत आवश्यक तालिम, विद्यार्थी भिषाको हकमा आफुले लिनु पर्ने जानकारी, लिनु एकदमै आवश्यक हुन्छ । भनिन्छ नि अरुले गरेको गल्तीबाट पाठ सिक्नुपर्छ । त्यही भावनाको विकास भए हरेक दिन दुःख पाइरहेका हजारौं नेपालीहरुमध्ये आफु अलि जानकारवालामा पर्न सकिन्थ्यो कि !***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया