हैट ! यो त सपना पो रहेछ । थाकेको ज्यान यामानोतेमा एक फन्को बढी लगाइएछ । कामबाट हतारहतार आएर सुतेको सपनाले बिउँझायो । आहा ! कस्तो राम्रो सपना, केही वेर नविउँझिएको भए पनि त हुन्थ्यो नि । सपनामा नै भए पनि मेरो देश, मेरो गाउँ राम्रै देखें । आज नवमी पो त – बोतलको पानी ठाडो घाँटी लगाउँछु । भोलि दशमी, टीकाको दिन, विहानैदेखि बेलुकीसम्म काम छ -जिन्दगीमा काम पनि कति गर्नु हो ? निम्छरो ज्यानको मनोवाद वोल्छ । घरमा १०/२० हजार मात्रै भएपनि पठाइदिउँ भनेको भ्याउँदै भ्याइएन, वाउले मन खिन्न पारे होलान-जापानमा भएको छोरोले पनि केही गरेन । कति सारो व्यस्त हो जिन्दगी । सुर वेसुरमै निधार छाम्छु, पसिनाले निथ्रुक्क ।
हैट ! यो कस्तो सपना त यार ! सपनाको कुरा न हो । गाउँमा जताततै दशैंको रमझम, हराभरा सफाचट । सबै मानिसहरुमा उमंग, हरेक कुराहरु नयाँ । एउटा हातमा भक्कु चप्पल अनि अर्को हातले जाँगे समातेर सँगै उकाली ओराली गरेका दमालीहरु पनि लाहुरबाट फिरेका रे दशैं मनाउन । हरेक कुराको प्रसंगमा क्या वात जोडेका छन् -क्या वात जिन्दगी रोटे पिंङ्ग झै घुम्छ-कहिले उल्टो, कहिले सुल्टो ।
सपनाको कुरा न हो गाउँको काठको रोटे पिङ्ग रातारात फलामको पिङ्गमा फेरिएछ विजुलीबाट चल्ने । चिल्लो र फन्फन्ती घुम्दै डाँडामाथिसम्म पुगेका सडक अनि सडकको दुइ छेउमा लहरै विजुलीका खम्बाहरु । किरिन्चे खोलाबाट विजुली निकालेकोले कहिल्यै बत्ती जाँदैन-गाउँलेहरु दङ्ग । जस्ता पाताले टलक्क टल्किएका घरहरु, घरघरमा पानीको धारा अनि जस्ता पाताले नै छाइएको धन्सार र गोठहरु । गोठमा बाँधिएका छन् गुजराती भैंसी र जर्सी गाइहरू -कृषिप्रधान देश गाइवस्तु त हुनै पर्यो नि । काठमाण्डौदेखि गाउँसम्मै रेल सेवा रे । ढिलो हुने हुनाले बसमा त कमै मान्छे चढ्छन रे आजभोलि । ‘काठमाण्डौ त आजभोलि पानी पँधेरो भो कान्छा, गाउँमा खाएर काठमाण्डौमा चुठन पुगिन्छ’-स्यान्नानी दिदी मख्ख पर्दै गाउँको वास्तविकता सुनाउँछिन् । आहा कति सुविधासम्पन्न भएछ मेरो गाउँ ? गाउँ नै यस्तो सुविधासम्पन्न भए पछि अव किन जान्छौ विदेश ? किन जान्छौ जापान ? किन जान्छाै मलेसिया ? खाडी अनि कतार ? -हो त नि ! मैले पनि सपनामै निर्णय गर्छु । वाह ! क्या कमाल छ, यो पो त नयाँ संविधान पछिको मेरो नयाँ नेपाल ।
वैशाख १२ गतेको भूकम्पपछि देश बेस्सरी दुख्यो रे अनि भूकम्पले लखतरान परेको देश राम्ररी तंग्रिन नपाउँदै अघोषित नाकाबन्दीले ढाडै सेक्यो रे । त्यसैले गाउँलेहरू एकजुट भएर दशैंअघि नै देश बनाउन जुटेका रे -सपनाको कुरा न हो- अहिले धमाधम गाउँ बनाउँदैछन् रे, देश बनाउँदैछन् रे । सायद दशैं अघि बनाएर सिध्याउँछन्, सिध्याउँदैनन्, सिध्याउँछन्, सिध्याउँदैनन्, यही दुइ कुराकाे फैसला हुन बाँकी नै थियो, सपना भंग ।
हैट ! यो कस्तो सपना त । के यो सपना कुनै दिन विपनामा परिणत होला ? अाशा त गर, भर नपर, मेराे मनाेविज्ञानले यही भन्छ । युवाजति सबै विदेश पस्ने अनि भुत्रा देश बन्छ ?-कुराे । अघिल्लो महिना मात्रै फोनमा कुरा गर्दा अामाले भन्नुहुन्थ्यो-बाबु यसपाला दशैं मनाइ छैन । केही भए पो दशैं हुन्छ, केही पनि नभए पछि कसरी दशैं हुन्छ ? न देशमा ग्याँस छ, न पानी छ । तेल, चामल, चिउरा, अालु, प्याज, गोलभेडा केही पनि छैन त दशैं कसरी छ भन्नु ? यहाँ यतिखेर छ त केवल भूकम्पले अाधा लडाएका घरहरू अनि भूकम्प पश्चात बाँडेका थोत्रिन लागेका टाटेपाटे त्रिपालहरू ।
अाज दूरदराजमा छु । नवरात्रीकाे कालो रात अाँखामा कत्ति पनि निद नै छैन, उही भर्खरै देखेको सपना र अामाले भन्नु भएकाे कुरा मानस्पटलमा दोहोरिइरहेको छ – ‘केही भए पो दशैं हुन्छ, केही पनि नभए पछि कसरी दशैं हुन्छ ?’ वाहिर पूर्वको लाली चढ्दै जान्छ, म पनि काममा जाने सुरसार झिक्दैछु-भो अाज अब सुतिएन- यस्तै भो, एक्लै फुसफुसाउँछु-शुभ विजय दशमी, ह्याप्पी दशैं टु मी । अस्तु ।
[email protected]