Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

Dhital Ok Okगतबर्ष (२०१४) बंगलादेशमा सम्पन्न ट्वान्टी-ट्वान्टी विश्वकप प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लियो। बंगलादेशमा नेपाली टोलीले निकै उच्चस्तरीय र सम्झनालायक खेल प्रदर्शन गरेको थियो। हङकङ माथि निकै प्रभावशाली खेल्दै राम्रो सुरुवात गर्‍यो। एकदिवसीय खेल खेल्ने अफगानिस्तान माथि ऐतिहासिक जित हासिल गर्नुका साथै टेस्ट खेलिरहेको क्रिकेटको महारथी बंगलादेशसंग उसकै भुमिमा कडा प्रतिस्पर्धात्मक खेल खेलेको थियो। आइसिसीको आँखामा नेपाली टोलीको प्रगतीले छाप हान्यो। अन्तरराष्ट्रिय खबरपत्रिकाहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रै स्थान पायो। हुन त नेपाली टिम बंगलादेशसंगको हारपछि पहिलो राउण्डबाट बाहिरिदै स्वदेश फर्किएको थियो तर पनि विमानस्थलमा हाम्रा खेलाडीहरुको अनुहार युद्ध जितेको सिंहको जस्तो देखिन्थ्यो । विमानस्थलमा निकै रमिता देखियो। सुरक्षाकर्मीहरुलाई नेपाली क्रिकेट टिमको शुभचिन्तकहरु ब्यबस्थापन गर्न निकै हम्मे-हम्मे पर्‍यो। नाराबाजी, उत्साह र निकै रमाईलो बातावरणमा पुरै बिमानस्थल नेपाली क्रिकेट टोलीको भब्य स्वागतको लागि पर्खाईमा थियो। धेरैबेरको प्रतिक्षापछि नेपालको राष्ट्रिय टिम विमानस्थल ओर्लियो । कप्तान पारसले हात हल्लाउदै र शुभचिन्तकहरुलाई अभिवादन गर्दै निस्किएको दृश्यले कुनै बलिउडका चर्चित सेलेब्रेटी आफ्नो फ्यानहरुको अगाडि प्रवेश हुँदाको झझल्को दिन्थ्यो। खेलाडीहरुलाई दुलहीझै सौन्दर्यले धपक्क बलेको गाडीमा राखेर नगरपरिक्रमा गराईयो। नेपाली खेलाडी, प्रशिक्षक र ब्यबस्थापकलाई सम्मानको ओईरो लाग्यो। सरकारले समेत गर्ब गर्दै पुरस्कारको घोषणा गर्‍यो। निजीक्षेत्रहरुले धरी पुरस्कारको रकम प्रतिस्पर्धात्मक शैलीमा बितरण गरे। सामाजिक सन्जालहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोली र पारस राम्रै छाए। मिडियामा तितो लाग्नेगरी हप्तादिन सम्म नेपाली क्रिकेट टिमले राज गर्‍यो। यथार्थ यो थियो कि हामी खेलेर मात्र र हारेर आएका थियौं।

टेलिभिजन देखि पत्रपत्रिकाहरु नेपाली खेलाडीहरुले निकै तताए। पत्रकार पाठकको टफ-टक देखि धमलाको टि.भी. शो-हरुमा नेपाली क्रिकेट खेलाडिहरुले मज्जाले बहस गरे। सामाजिक सन्जालहरुमा हाम्रा खेलाडीहरुको चर्चा झन-झन चुलियो र थोरै राजनीतिसंग पनि जोडियो। राजनीतिक नेतृत्व जुन संबिधान बनाउन नसकेर थला परिरहेको थियो उनिहरु माथि तिखो ब्यंग्य गर्दै नेपाली क्रिकेट टोलीको टिमवर्कबाट सिक्न सुझाईयो। नेकपा-माओवादीका एक जना प्रभावशाली नेताको अभिब्यक्ति क्रिकेटमैत्री नभएको भन्दै उनीको पुत्ला समेत दहन गरियो। यो पहिलो इनिङ थियो। दोश्रो इनिङ सुरु भयो र यो बिचित्रको थियो। बंगलादेशबाट फर्किए लगत्तै पारस क्रिकेट असोसियेसन अफ नेपाल (क्यान) को नेतृत्वप्रति यति आक्रमक बने कि क्यानको पदाधिकारीहरुलाई भ्रष्टाचारको अभियोगमा अख्तियारको ढोका सम्म पुराईदिए। अझ अचम्मलाग्दो कुरो त जुन संघले अफुलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरयो उही संघको पदाधिकारीहरु बिरुद्ध बयान दिन प्रशिक्षक पुबुदु दासनायाके अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे। झन उदेकलाग्दो अर्को कुरो त करार अबधि पुरा भएका प्रशिक्षक दासनायाकेको पुन:नियुक्ति नगर्ने हो भने आफु क्रिकेट नै नखेल्ने तर्क गरेर खेल कप्तान पारस क्यानलाई प्रेसरमा राख्न अग्रसर भए। एउटा राष्ट्रप्रेमी खेल कप्तान देशको निम्ती खेल्छ कि प्रशिक्षकको ? एउटा सम्मान कार्यक्रममा बोल्दै पारसले एकजना कुशल प्रशिक्षक एउटा टोलीलाई विश्वकप प्रतियोगितासम्म लैजान सक्छ भने यतिधेरै नेताहरुको भिडबाट हाम्रो देशमा किन एक जना पनि कुशल नेता निस्केर देशलाई निकाश दिन सक्दैन भन्ने आशय ब्यक्त गर्दै निकै भाबुक भए अनि प्रशिक्षक दासनायाकेको चर्चामा समय खर्च गरे। भलै हारे पनि बंगलादेशमा सम्पन्न ट्वान्टी-ट्वान्टी विश्वकप प्रतियोगितामा उच्च प्रदर्शन गरी फर्किएपछि प्रशिक्षक दासनायाकेले आफ्नो तलब ५ हजार डलर बाट १० हजार डलर हुनुपर्ने प्रस्ताब पेश गरे। क्यान ठुलो आर्थिक भार थेग्न नसक्ने कारण देखाउदै दासनायाकेको प्रस्ताब सिधा अस्विकार गरिदियो तर चौथर्फी दबाबले क्यानलाई निरिह बनाइदियो। हो दासनायाके कुशल र सफल प्रशिक्षक हुन यसमा कुनै दुईमत छैन।

उनको कार्यकालमा नेपालको क्रिकेट टोलीले गतिलो छलाङ मारेको छ। आइसिसी डिभीजन-थ्री को बिजेता समेत हुँदै डिभीजन-टु मा उकाल्न प्रशिक्षक दासनायाकेको भूमिका स्मरणयोग्य छ। लाखौं नेपाली समर्थकहरुको नेपाललाई विश्वकप प्रतियोगितामा हेर्ने इच्छा पनि दासनायाकेले २०१४ मा नै पुरा गराईदिए। खेल कप्तान पारसले पनि दासनायाकेको प्रशिक्षणलाई भरपुर उपयोग गरी उचित समयमा सही खेलाडीहरुको परिचालन गरी खेलमा बिपक्षसामु हाबी हुने राणनिती कुशल ढंगले प्रयोग गरे। यस अर्थमा हेर्ने हो भने दासनायाके र पारसको भूमिका बंगलादेशमा सम्पन्न ट्वान्टी-ट्वान्टी विश्वकप प्रतियोगिता सम्मको यात्रामा आउँदा सारा नेपाली क्रिकेट समर्थकहरुले गर्ब गर्न लायकको छ। थोरै शब्दमा भन्ने हो भने क्रिकेटको हस्ती मानिने संसारका अति बिकसित मुलुकको राष्ट्रियगान बज्ने रङ्गशालामा नेपालको राष्ट्रिय धुन गुन्जाउन दासनायाके र पारसले ठुलो भूमिका खेले र यो सारा नेपालीले गर्बको साथ अनुभुति गर्ने सुखद पक्ष हो । तर यसको अर्को पाटो पनि छ। १) प्रशिक्षकको काम के हो ? २) उस्को उत्तरदायित्व के हो ? ३) र उस्को लक्ष्य के हो ? उत्तर सामान्य छ १) राम्रो प्रशिक्षण दिनु २) ईमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्नु ३) प्रशिक्षार्थीलाई निपूर्ण वा अब्बल बनाउनु। अब अर्को प्रश्न: १ जना शिक्षकले मैले राम्रो अध्यापन गराए मेरो बिद्यार्थीले बिज्ञान बिषयमा ९० अंक प्राप्त गर्‍यो अब मेरो तलब दोब्बर गर भनेर आफ्नो जिम्मेवारीबाट बाहिरिन मिल्छ ? अनि बिद्यार्थीले पनि अरु बिषयमा फेलनै भए पनि मेरो बिज्ञान बिषयमा ९० अंक आएको हो मलाई अध्यापन गराउने उही गुरु चाहिन्छ नत्र यो स्कुल पढ्दिन भन्न कति सुहाउछ ? ठिक छ यो प्रश्न मैले मेरा पाठकहरुलाई छोडिदिए।
क्यानले पनि एउटा कुरा राम्रोसंग बुझ्न जरुरी छ। जुन खेलाडीले राष्ट्रको निम्ति आफ्नो खाउँ-खाउँ र लाउँ-लाउँ भन्ने युवा अबस्था समर्पित गर्छ, त्यस्ता खेलाडीहरुको उचित सम्मान गर्नुपर्छ। यस्ता होनोहार, त्यागी, जोशिला, जाँगरिला युवा खेलाडीहरूको त्याग, तपस्या, क्षमता र योग्यताको उच्च मूल्यांकन गरिनुपर्छ र राष्ट्रले पनि आफ्नो खेलाडीप्रति गर्व गर्न सक्नुपर्छ। तर बिडम्बना बंगलादेशबाट फर्किएपछि नेपाली खेलाडी र प्रशिक्षक आफ्नो स्तर सुधार्न र क्षमता तिखार्न लाग्नुपर्ने क्यान विरुद्ध अधिकारको लडाई लड्न लागे। उहि दिनदेखि नेपाली क्रिकेट टिम विस्तारै ओरालो बाटो हिड्न लाग्यो। क्यान भित्र-भित्रै कति खोक्रो र भ्रष्टचारले शिथिल रहेछ भन्ने कुरा बाहिर छताछुल्ल भएर पोखियो। खेलाडी र प्रशिक्षकको रिलेशन क्यानका पदाधिकारीसँग कति फितलो र बिरक्तलाग्दो रहेछ भन्ने प्रष्ट भयो । जसकारणले क्रिकेटलाई माया गर्ने जो कोही नेपालीलाई ज्यादै चिन्तित बनायो। बंगलादेशमा देखाएको प्रदर्शन पछि प्रशिक्षक दासनायाके र कप्तान पारसले आफ्नो क्षेत्रअधिकार भन्दा अलिकति अगाडि बढेर कार्य गरेको गुनासोहरु क्यानका पदाधिकारीहरुले गर्ने गरेको कुरा छापाहरुमा पढ्न पाइयो। परिस्थिति बदलियो, बिगत केही समयदेखि भ्रष्टाचारको काण्डले क्यान शिथिल र अस्तव्यस्त भएको कारणले खेलाडी छनौटको जिम्मेवारी दासनायाके र पारसले एकलौटी लिए र अको॔ बर्ष भारतमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप प्रतियोगिताको छनोट खेल खेल्न नेपाली टोली निकै आकांक्षा बोकेर र नेपाली समर्थकहरुलाई प्रतियोगिता नै जित्ने भरोसा दिलाउदै युरोप भ्रमणमा निस्कियो। नेपालले प्रशस्त अभ्यास खेलहरु खेल्ने र कमीकमजोरीहरु सुधार्ने राम्रै मौका पनि पायो। इङ्ल्याण्डमा चार अभ्यास खेल खेल्दै नेपालले प्रतियोगिताको तयारी गरेको थियो। त्यसपछि प्रतियोगिताको दाबेदार मानिने नेदरल्याण्डसँग चार शृंखला ट्वन्टी-ट्वन्टी अन्तर्राष्ट्रिय खेल खेल्यो। तर दुर्भाग्य खेलाडीहरुले सोचेको जस्तो र प्रशिक्षकले भनेको जस्तो नेपाली खेलाडीहरु फर्ममा देखिएनन र नतिजा गतिलो आएन। त्यहाँ नेपाल ३-१ ले पराजित भयो। तर चार शृंखला अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डसंग खेले पछि कुल ८ खेल पुर्‍याउंदै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व वरियतामा प्रवेश पायो। यो ऐतिहासिक उपलब्धिसंगै क्रिकेटमा राम्रो छलांग थियो। नेपाल पनि राम्रो क्रिकेट खेल्छ र यो अन्तर्राष्ट्रिय वरियतामा १४ वटा मात्र देश भन्दा पछाडि छ भन्ने प्रुफ गर्‍यो। नेदरल्याण्डसंगको खेल पछि नेपाली टोली आयरल्याण्ड र उत्तरी आयरल्याण्डमा आयोजना गरिएको छनोट प्रतियोगिताको यात्रामा निस्कियो।

नेपाली टोली आफ्नो समूहको उपाधि दाबेदार थियो र पहिलो खेल कमजोर मानिने अमेरिकासंग खेल्यो। अमेरिका विरूद निकै शक्तिशाली मानिएको नेपाललाई ठुलो संघर्ष गर्नुपर्‍यो। अमेरिकाले नेपाललाई आच्छुआच्छु पारयो तर खेल नेपालले जित्यो। नेपालको झण्डा उठ्यो हामी हौसियौ। नेपालले राम्रो सुरुवात गर्‍यो। तर बिडम्बना नामिबियासंग अंक बाडे यता दुर्दशा सुरु भयो। शृंखलाबद्ध अति नै खराब प्रदर्शन जारी रह्यो र ६ खेल मध्ये ४ खेलमा शर्मनाक हार ब्यहोर्नुपर्‍यो। प्रतियोगिता नै जित्ने आकांक्षा बोकेर युरोप उडेको नेपाली टोली आफ्नो समूहको अंक तालिकाको पुछारमा सीमित भयो अनि आयरल्याण्डमा भएको छनोट प्रतियोगितामा सहभागी १४ टोलीमध्ये १३ औं भई लज्जास्पद तरिकाले छनोट प्रतियोगिताबाट बाहिरियो। यो शर्मनाक हारसँगै नेदरल्याण्डसंग चार खेल पुरा गरेर पाएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व वरियता एक चोटी पनि नेपाल फर्किएर खुशी साट्न नपाउदै आयरल्याण्डमा बुझायो जसले नेपाली क्रिकेट समर्थहरुलाई निकै चिन्तित बनायो। नेपालले अमेरिका बाहेक अरु देशसँग निकै खराब र फितलो खेल पस्कियो। नेपालले खेलेको हरेक खेलमा बंगलादेशमा गरेको प्रदर्शन झल्किदैन थियो। ऐतिहासिक बिजय आकांक्षासहित उडेको नेपाली टोली ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल ईतिहासकै खराब दोस्रो अल्पस्कोर खडा गरेर सारै लज्जित भयो। ११ जना खेलाडीलाई कुल १०० रन पुराउन पनि निकै हम्मे-हम्मे परयो। ओपनर ब्याट्सम्यानहरु सुपर फ्लप भए। प्रतिद्वन्दीको बलिङ थेग्न सकेनन। आक्रामक ब्याटिङ कुनै खेलाडीले गर्न सकेनन। बलरको बलिङ निकै सुस्त रह्यो। कप्तान र उपकप्तानको योगदान फिक्का थियो। कप्तानको खेलाडी परिचालन नीति धारासाही भयो। प्रशिक्षकको ब्याट्सम्यान रोलक्रम ट्याक्टिसपूर्ण फेल खायो। बलरले उत्कृष्ट बलिङ प्रदर्शन गर्न सकेनन। कुनै खेलाडीले सम्झनालायक महत्वपूर्ण इनिंग खेलेनन। समग्रमा भन्दा खेलाडीको प्रदर्शन, कप्तानको खेलाडी परिचालन र प्रशिक्षकको रणनीति पुर्णरुपले असफल भयो र प्रतियोगिता बिर्सनलायक रह्यो।
आयरल्याण्डको यात्रा सुखद रहेन। नेपाली खेलाडी सामु पुनरागमन गर्ने अर्को मौका पनि नजिकै थियो। आयरल्याण्डको यात्रामा दुखेको घाउ र लागेको चोटमा मलम लगाउने अर्को अवसरको पर्खाईमा बसेको नेपाली टोली स्कटल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्न स्कटल्यान्ड उड्यो र घरेलु टोलीसंग ५० ओवर को २ शृंखला खेल्यो। त्यहाँ पनि नेपालले दुवै खेलमा स्कटल्याण्डलाई नतिजा सुम्पियो। पहिलो खेलमा अनिल मण्डलले १०० रनको राम्रो पारि खेली नेपालले पुनरागमन गरेको झझल्को दिलाए। पारसको ब्याट पनि राम्रै चल्यो र उनीले ५७ बलमा ७७ रन हिर्काए। यो मात्र कप्तान पारसको पुरा यूरोप यात्राको सुखद खेल रह्यो। तर पनि नेपालीले गेम ३ रनको झिनो अन्तरले स्कटल्याण्डलाई सुम्पियो। केहि आशा पलायो र दोस्रो खेलको पर्खाईमा बसियो तर बिडम्बना दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न नै सकेन र ९ विकेटको बिशाल अन्तरले पराजय भयो। पहिलो खेलमा शतक हानेका मण्डलले दोस्रो खेलमा दोहोरो अंक पनि जोड्न सकेनन। पारसको पनि उही दुर्दशा दोहोरियो। आठ देश बीच २ वर्ष सम्म चल्ने प्रतियोगितामा नेपाल लगातार दोस्रो हार पछि ७ औं स्थानमा समेटिएको छ।

छनोटमा नमिठो पराजय भोगेर नेपाली टोली गुमनाम स्वदेश फर्कियो। बिमानस्थलमा नेपाली खेलाडीहरुको अनुहार युद्ध हारेको बाघ होईन खेदिएको मृगको जस्तो टिठलाग्दो थियो। नेपालले युरोप यात्राको खेल रिभ्यू गर्ने हो भने नेपाली खेलाडी हारेर आएको अनुभूति भन्दा पनि घुडा टेकेर खेदिएको भान हुन्छ। थोरै पत्रकारहरुको झुण्ड बाहेक समर्थहरुको ठुलो भिड यसपाली विमानस्थलमा लागेन। कप्तान पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै छनोट प्रतियोगितामा आफूहरूले खेल्न नसकेको स्वीकार गरे। नेपाली टोलीले यति कमजोर प्रदर्शन कहिल्यै नगरेको बताउँदै आफ्नो टोलीले क्षमताअनुसार पनि खेल्न नसकेको स्वीकारे र प्रतियोगितामा सिङ्गो टिम नै असफल भएको प्रतिक्रिया दिए। आफ्नो कमजोरी ढाकछोप नगर्नु हाम्रा खेलाडीहरुको महानता हो यसलाई सम्मान गर्नुपर्छ। प्रशिक्षक दासनायाकेले टिमको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै समर्थकसँग माफी मागे। यसले हाम्रा खेलाडी र प्रशिक्षक सम्पूर्ण क्रिकेट समर्थकहरु प्रति जिम्मेवार छन् भन्ने कुरा चाही पुष्टी गर्‍यो।

थकित र लज्जित नेपाली क्रिकेट टोली स्वदेश फर्किए लगत्तै २-४ दिनको बिश्रामपछि भूकम्पपछिको पुननिर्माणका लागि रकम संकलन गर्ने उद्देश्यका साथ आयोजना भएको ब्याट फर नेपाल क्रिकेट प्रतियोगिता खेल्न मलेसियाको किन्नरा ओभल पुग्यो। विश्व ११ ले दिएको १३६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९.२ बलमा ९८ रन बनाउँदा अल आउट भयो। उही दुर्दशा दोहोरियो र नेपाल अब क्रिकेटमा निकै ओरालो लागेछ भन्ने कुरा छर्लंग भयो।

आखिर किन असफल भयो नेपाल ? समाप्त नै भयो कि जस्तो लाग्ने गरि किन हार्‍यो ? समर्थकहरुलाईनै बिरक्त लाग्ने गरी किन खस्कियो नेपाली खेलाडीहरुको स्तर ? यो क्रिकेटका पण्डितहरुले गर्ने बहस होला तर क्रिकेटमा थोरै चाख राख्नेहरुका लागि पनि नेपाली क्रिकेट टोलीको कमजोरीहरु यो प्रतियोगिताको सतहमा नै छताछुल्ल थियो। आयरल्याण्डमा भएको छनोट प्रतियोगिताको यात्रामा हाम्रा खेलाडीहरुमा आत्मविश्वासको निकै कमी देखियो। बिचित्रको कुरा त टस हार्ने बित्तिकै पुरै खेलनै हारिन्छ भन्ने मनोविज्ञानले ग्रस्त बनायो। अर्को बिडम्बना सुरुमा फिल्डिंग गर्न नपाए खेलमा पछि परिन्छ कि भन्ने चिन्ताले ठुलै आक्रमण गर्‍यो। टस हार्ने बित्तिकै हाम्रा खेलाडीहरुको हसिलो अनुहारहरु हराउदै गए अनि निराश र दबाब बोकेर मैदानमा उत्रिएको नेपाली टोली बिपक्षसामु सजिलै घुडा टेक्यो। खेलाडीको दूर्दशा एकतिर थियो अर्कोतिर दासनायाकेको खेलाडी प्रयोग उदेकलाग्दो थियो। एक खेल ओपनर ब्याट्सम्यानलाई मिडल अर्डरमा र अर्को खेल मिडल अर्डरलाई ओपनरमा यस्तो तरिकाको खेलाडी प्रयोगले टुडिखेलमा हुने क्रिकेटको झझल्को दिन्थ्यो। अभ्यास खेलमा जस्तै गरि खेलाडीको पोजिसन चेन्ज गरियो। प्रशिक्षक दासनायाकेले छनोट चरणका ६ वटै खेलमा ब्याटिङ अर्डर परिवर्तन गरे। सायद म थोरै क्रिकेट बुझ्ने भएकोले होला दासनायाके र पारसको यो खेलाडी प्रयोग गर्ने शैली नेमार र मेसिलाई डिफेन्समा राखेर बार्सिलोना म्याड्रिडसंग मैदानमा उत्रिएको जस्तो लाग्यो। दासनायाके र पारसको खेलाडी प्रयोग बैज्ञानिक थिएन भन्ने कुरा त सिद्धान्त लोहनीको बिस्फोटक ब्याटिङले नै पुष्टी गर्छ। यदि जर्सीविरुद्धको अन्तिम खेलमा ब्यबस्थापक नरेश श्रेष्ठको दबाब नपरेको भए लोहनी एक खेल पनि नखेली देश फिर्ता हुने प्राय:निश्चित थियो। जर्सीविरुद्ध डेब्यु गराएका सिद्धान्तले दबाबरहित ब्याटिङ गरे। उनले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २७ रनको पारि खेले । आफ्नो पहिलो डेब्यु खेलमै सिद्धान्तले अन्तर्राष्ट्रिय चर्चित क्रिकेटरलाई प्रभावित पारे। खेल लाइभका क्रममा कमेन्ट्री गरेका दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्स र इंग्लिस ब्याट्सम्यान म्याट पिरोरले सिद्धान्तको ब्याटिङ शैली र हेलिकोप्टर सर्टको प्रशंसा गरेका थिए। यस अर्थमा हेर्ने हो भने पनि कप्तान र प्रशिक्षकको खेलाडी मुभिलाईजेशन फितलो नै थियो कि भन्ने भान हुन्छ। २०१५ को युरोप भ्रमण नेपाली क्रिकेट समर्थकको लागि निकै चिन्ताजनक रह्यो। २०१४ सम्म आउदा गरेको प्रगति अब ओरालो बाटोतिर लागेको छ। शिखर उक्लदै गरेको नेपाली क्रिकेट टोली नसोचेको तरिकाले २०१५ को यूरोप यात्रामा फेदीसम्म पुग्ने गरि बजारिएको छ। अब राम्रो पाठ सिक्ने बेला आएको छ असफलतानै सफलताको प्रतिक हो यो मनन गर्दै अगाडि बढ्नुको बिकल्प छैन। यूरोप बसाईले धेरै सिकाएको छ। पहिलो त खेलाडीको स्तर नै हो सुधार्नुपर्ने यो कुरा शायद हाम्रो खेलाडीहरुलाई यूरोप यात्राको भोगाईले सम्झाईदिएको छ। बंगलादेशमा गरेको प्रदर्शनको स्तरमा सुधार्नु र सामर्थ्य तिखार्नपर्ने नेपाली टोली झन् खस्किएर यो दुर्दशा ब्यहोर्नुपरेको अन्दाज सजिलै गर्न सकिन्छ। प्रशिक्षकले आफ्नो सम्पूर्ण टेक्निकल (Technical) पक्षको प्रयोग पूर्णरुपले अभ्यास खेलमा नै लगाउनुपर्छ र खेलाडीको प्रतिभा तिखार्दै खेलाडीले खेल्न सक्ने पोजिशनको पहिचान गर्न सक्नुपर्छ। खेल कप्तानले खेलाडीको परिचालन बैज्ञानिक तरिकाले गर्न सक्नुपर्छ र २० वर्षको हुंदानै नेमारले संसार हल्लाएका थिए भन्ने कुरा अरु खेलबाट सिकेर भए पनि लोहनी जस्ता युवा प्रतिभाहरुलाई खेलमा उतार्ने आँट गर्नुपर्छ। क्यानको बिबाद यथावतनै छ अनि भ्रष्टाचारको भुमरिमा रुमलिएको छ। यसका कार्यक्रमहरुमा सरकारको गहन चासो हुनु पर्दछ। हामी नेपाली क्रिकेटप्रेमी बिगतमा जसरी क्रिकेटलाई माया गरेका थियौ अझ माथि उठेर माया दिई हाम्रा खेलाडीहरुको आत्मबल बढाउनुपर्छ। नेपालको क्रिकेट टिम अगाडि बढ्नका लागि नेपालको घरेलु क्रिकेट संरचनामा सुधार ल्याउन अत्यन्तै जरुरी छ। सबै खेलाडीले समान अवसर पाउने गरी घरेलु संरचनामा बलियो पार्दै नयाँ-नयाँ प्रतिभाहरुको खोजी गरिनुपर्छ। सबैले आफ्नो-आफ्नो ठाउंबाट नैतिकतालाई लिलामीमा नराखी बुद्ध मनले कसरत गरियो भने हालै उठ्न नसक्ने गरी थला बसेको नेपाली राष्ट्रिय क्रिकेट टिम फेरि जुर्मुराउदै उठ्ने छ र २०१८ मा हुने ट्वान्टी-ट्वान्टी विश्वकप प्रतियोगिता खेल्ने मात्र होईन उपाधिको दाबेदार पनि हुने पक्का छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया