एनआएन जापानको अधिवेशन नजिकिदैं गर्दा अहिले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेहरुको चटारो बढेको छ । यद्यपि निर्वाचन कार्यक्रम भने सार्बजनिक भईसकेको छैन । उम्मेदवारीको घोषणा गर्ने उम्मेदवारहरुले दावी गरिएको पदमा आफु सबैभन्दा योग्य र सक्षम रहेको हवाला दिने गरेका छन् । अहिलेसम्म अध्यक्षका लागि ४ जना, उपाध्यक्षमा ५ जना, महासचिवमा ३ जना, सचिवमा ३ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी सार्बजनिक भईसकेको छ भने अझै थपिने संभावना त छँदैछ । नेतृत्वमा दावी गर्नेहरुले एनआरएनको अभियान र यसको मुल उद्देश्य, विगतमा एनसीसी जापानको भूमिका, सहभागिता र योगदानलाई बुझेको हुनु यहाँ वाञ्छनीय देखिन्छ । नेतृत्वका दावेदारहरुले अघिल्ला कार्यसमितिहरुका कार्यकाल के कति कारणले फितला वा सवल हुन पुगे अर्थात प्रभावकारी कार्यसम्पादन हुन सके वा सकेनन् भन्ने बारे पनि गहन विश्लेषण गर्ने क्षमता राख्न सक्नुपर्दछ । एनआरएन जापानको छबिलाई अरु उकास्न सके धेरै राम्रो, नसके यो भन्दा खस्कन नदिनका लागि अबको नेतृत्व सक्षम र सचेत हुनैपर्दछ । अहिले सतहमा देखिएका कतिपय उम्मेदवारी घोषणाको स्थितिलाई हेर्दा संगठनलाई सुदृढ बनाउन एउटा निश्चीत भिजन र योजना लिएर अगाडि बढाउने भन्दा पनि रहर पुरा गर्न घोषणा गरी हेरौं न त भन्ने आशयले आएका देखिन्छन ।
विगतबाट सिक्ने र कमीकमजोरीलाई सच्याउने अवसर पनि हो यसपालीको एनआरएन जापानको अधिवेशन । विकेन्द्रीकरणको आवाजलाई मनन गर्दै अघिल्लो कार्यसमितिमा महत्वपूर्ण जिम्मेवारीका पदहरु राजधानी बाहिर पुग्यो त्यसले गर्दा के कस्ता असरहरु देखिए भन्ने सबैलाई घामजस्तै छर्लङ्गै छ, त्यसबाट पनि पाठ सिक्दै अबको कार्यसमिति निर्माण हुन आवश्यक छ । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समानुपातिक उपस्थिति र पदीय काम, कर्त्तब्य, अधिकार क्षेत्र र मर्यादालाई ख्याल गर्दै चुस्त समिति निर्माण गर्ने जिम्मेवारी अहिले जापानबासी सचेत नेपालीहरुको काँधमा आएको छ । यो जिम्मेवारीलाई बुद्धिमत्तापूर्ण ढंगले पुरा गर्न जापानको नेपाली समुदायका अगुवाहरु मौन बस्न मिल्दैन, समयमै आवश्यक छलफल तथा गृहकार्य थालिनु जरुरी छ, नत्र भने अब बन्ने एनआरएन जापानको कार्यसमितिको गुणस्तर अझ खस्कन सक्ने संभावनालाई नकार्न सकिदैन ।
उसो त उम्मेदवारी घोषणा गर्नु नै सबैथोक भने होइन, यद्यपि जिम्मेवारीका हिसाबले एनआरएन जापानको गहन पदहरुलाई यति हलुकासंग यस अघि कहिलै लिईएको पाइँदैन जसरी यो वर्ष लिईएको छ । कहिलै नसुनिएका नामहरु पनि सिधै उपल्ला तहका पदाधिकारीमा दावी गर्दै मैले यो गर्छु र उ गर्छु भन्ने प्रतिबद्धतासहितका फेशनेबल जस्ता लाग्ने उम्मेदवारीको घोषणालाई हेर्दा यस्तो लाग्छ एनआरएन जापानको अधिवेशन अब चुनावी अभ्यास गर्ने प्लेटफ़र्मको रुपमा विकास हुँदै छ । बिशेषगरी नेतृत्वका दाबेदारहरुले करिव करिव अस्तब्यस्तको अवस्थामा पुगेको एनआरएन जापानलाई के साँच्चिकै ब्यवस्थित र सशक्त ढंगले नेतृत्व प्रदान गर्न सक्लान् त ? एनआरएन अभियानलाई जापानबासी सर्बसाधारण नेपालीको बीचसम्म पुर्याउन त्यहीअनुसारको प्रभावकारी कार्यक्रम तथा योजना ल्याउलान् त ? उनीहरुको कार्यशैली र कार्यक्षमताले यी र यस्ता जनमानसमा उठेका यक्ष प्रश्नलाई सम्बोधन गर्न सक्ने हैसियत राख्लान् त ? आजको दिनमा एनआरएन जापानको वरिपरि घुमिरहेको सबैभन्दा सोचनीय र केन्द्रिय बिषय भनेको यही हो । अधिवेशनको पूर्वसन्ध्यामा मानिसहरु बहकिनु, भावनामा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा लाग्नु मानवीय स्वभाव हुन् । प्रतिबद्धताका नाममा दर्जनौ बूँदाहरु संप्रेषित हुनु पनि कुनै नौलो कुरा भएन । यस्ता प्रतिबद्धताका फेहरिष्ट यसअघि पनि धेरैको हेरिएकै हो, पढिएकै हो । यद्यपि उम्मेदवारहरुले जापानका नेपालीलाई यतिधेरै मूर्ख बनाउने चेष्टा यो भन्दा बढि नगरे हुन्थ्यो, किनभने गर्न नपर्ने खोक्रो आश्वासन र उधारो प्रतिबद्धताले भोट तान्ने दिन अब गए । त्यो भन्दा बरु यहाँका नेपालीहरुको मन जित्ने काम गरेर देखाउन सके भोट माग्नै पर्दैन, आफै दिन आउँछन् । अधिवेशनको एकाध महिना अगाडि हतारमा सदस्यता वितरण गर्ने, उम्मेदवारलाई आवश्यक पर्ने पकेट-भोट जम्मा गर्न आफुले भनेको मान्नेहरुलाई फ़र्म भराउने, उनीहरुको सदस्यता शुल्क उम्मेदवार आफैले तिर्ने जस्ता प्रवृत्ति जापानमा चलाईएको सबैभन्दा घिनलाग्दो चलन हो, यस्तो प्रचलन बन्द गरिनुपर्दछ । यसको शुरुवात यसपालीको अधिवेशनबाटै स्वयम उम्मेदवारहरुले गर्ने हिम्मत देखाउन सक्नुपर्दछ । अत्यन्त कम समयमा जसले धेरै सदस्यता बनाउन सक्छ उसैको धेरै भोट हुने र त्यसैको बलमा चुनाव जितेर नेतृत्वमा पुग्ने जापानको एनआरएनभित्र रहेको डरलाग्दो सरुवा रोग हो । यो रोग जबसम्म रहन्छ, तबसम्म सक्षम र योग्य नेतृत्व अगाडि आउन सक्ने संभावना रहँदैन । अबको नयाँ पुस्ताका बौध्दिक एवं आँटिला एनआरएनहरुले यो सँस्कारलाई चिर्न सक्नुपर्दछ ।
यसकारणले पनि एनआरएन जापानको टिम बन्ने र बनाउने प्रक्रियामा यस अभियानका अग्रजहरु रमिते बनेर बस्नुहुँदैन । उपलब्ध उम्मेदवारहरुबाट अभियानका लागि सबैभन्दा योग्य, जाँगरिला एवं काम धेरै, कुरा थोरै गर्नेहरुको टिम निर्माण गर्ने कार्यमा सक्दो प्रयास गरिनुपर्दछ । सकेसम्म सहमतिमा, नभए प्रजातान्त्रिक बिधि र पद्धतिअनुसार तर स्वस्थ्य प्रतिस्पर्धाबाट सशक्त टिम निर्माण होस् भन्ने यतिबेला हरेक नेपालीको चाहना हो । यस कार्यमा एनआरएन अभियानको भलो चाहने हरेकबाट निस्वार्थ भावनाले सहयोगी भूमिका हुनु जरुरी छ ।
एनआरएन जापानले अबको एकाध महिनामै नयाँ नेतृत्व पाउनेवाला छ । यसै परिप्रेक्ष्यमा एनआरएन जापानको ऐतिहासिक पक्षलाई सुक्ष्मरुपमा प्रकाश पार्नु यहाँ सान्दर्भिक ठानिएको छ । संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग र महासचिव डा. कुमार बस्नेतको पहिलो कार्यकाल संगठनलाई स्थापित गर्न र बिश्वसामु परिचित गराउन लागिपर्यो । दोस्रो कार्यकाल पुनः राजन प्रधानाङ्गको नेतृत्वमा डा. हेमराज शर्मा र बेलु थापाले आधा आधा समय महासचिव सम्हालेको कार्यकालमा संगठनलाई बिस्तार गर्दै बिधिबिधान र नीतिगत पद्धती बसाल्ने कार्य एवं महजोडी लगायतका कार्यक्रम गरेर आर्थिक सुदृढीकरणलाई प्राथमिकता दिएको पाईन्छ । त्यसपछि भवन भट्टको अध्यक्षतामा डा. सुदिप अधिकारी महासचिव रहेको चुनावी प्रतिस्पर्धाबाट आएको एनआरएन जापानको तेस्रो कार्यकालमा केन्द्रसंगको समन्वय कायम गर्ने, एनआरएन अभियानमा जापानलाई अग्रमोर्चामा उभ्याउने र मुलुकमा लगानी भित्र्याउने वातावरण तयार गर्ने जस्ता कामहरु भएको पाईन्छ । त्यसपछि एनआरएन आइसीसीको बिधान र कार्यकालसंग मिलान गर्नुपरेको कारणले एक वर्षका लागि मात्र समय पाएको रोशन केसीको अध्यक्षता र जिज्ञानकुमार थापा महासचिव रहेको चौथो कार्यकालले सन् २०११ को मार्च ११ मा आएको महाभूकम्प र सुनामीबाट पीडित र प्रभावित जापानीहरुको उद्वार तथा राहत कार्यमा जापानबासी नेपालीहरुलाई गोलबन्द गर्दै बिपदमा नेपाली एकता प्रदर्शन गर्ने कार्यमा बिशेष भूमिका निर्बाह गरेको पाईन्छ । त्यस पछिको ओम गुरुङ अध्यक्ष र डा. राजेन्द्र पराजुली महासचिव रहेको पाँचौ कार्यकाल केही आन्तरिक विवादका बाबजुद पनि सक्रिय र क्रियाशील रह्यो । नियमित बैठक तथा समसामयिक कार्यक्रमहरु यस अवधिमा सबैभन्दा धेरै भएको देखिन्छ । त्यसपछि हुलाकी मतदानको आधारमा चुनावी प्रतिस्पर्धाबाट आएको अहिलेको मौजुदा कार्यसमितिको कार्यकाल अबको केही हप्तापछि समाप्त हुँदै छ । अध्यक्ष पारसमणि पोखरेल र मुक्तिराम खनाल ‘बिनोद’ महासचिव रहेको पछिल्लो कार्यसमिति जति तामझाम र अपेक्षाका साथ निर्माण भयो सोहीअनुसार कार्यसम्पादनका हिसाबले कार्यकुशलता र सक्रियता प्रदर्शन गर्न सकेन । पहिलो कुरो त चुनावी प्रतिस्पर्धाबाट जितेर आएकाहरुको टिम भएकोले यो कमिटीमा थोरबहुत उन्माद देखियो भने नेतृत्व जति राजधानी टोकियो बाहिर गयो । अधिवेशनबाट नेतृत्व चयन भएलगत्तै दशैतिहार, एनआरएन विश्वसम्मेलन, नयाँ वर्ष आदि कारणले नयाँ टिमले काम थाल्दा ६ महिना चिप्लिसकेको थियो । बाँकी रहेको डेढ वर्षमा नेपाल फेष्टिवल, तातेसिना सम्मेलन लगायतका ठूला इभेण्ट आयोजना गर्दैमा यो कार्यसमितिको अधिकाँश समय र ऊर्जा खर्च भयो । त्यसबाहेक राजधानी काठमाडौंमा बन्न लागेको एनआरएन भवन निर्माणका लागि र पछिल्लो समयमा भूकम्प पीडितका लागि जापानमा राहत संकलन गर्नुपर्ने जिम्मेवारी पनि यो कार्यसमितिको भागमा पर्यो । जापानको ब्यस्तता, भौगोलिक दूरी जस्ता समस्याहरुसंग झेल्दै दुई वर्षको अवधि यता र उता गर्दैमा लगभग सकिन लागेको अवस्थामा अब यो कार्यसमितिसंग अन्तिम एउटा कार्यभार बाँकी छ । यो कार्यभारलाई अत्यन्त संयमित, गम्भीरता एवं इमान्दारिताका साथ सम्पन्न गर्न सक्यो भने यो कार्यसमितिलाई खोट लगाउने ठाउँ रहँदैन । त्यो भनेको निष्पक्ष र भयरहित वातावरणमा चुस्त र सशक्त नयाँ कार्यसमिति बनाएर जिम्मेवारी हस्तान्तरण गरी बहिगर्मन हुने हो । यस अर्थमा अहिले पोखरेल नेतृत्वको एनआरएन जापान कार्यकालकै सबैभन्दा महत्वपूर्ण दायित्व पुरा गर्ने ऐतिहासिक संघारमा उभिएको छ ।
एनआरएन जापानमा मात्र नभएर कुनै पनि संगठनमा नेतृत्वमा जो सुकै भए पनि कार्यकारी एवं चलायमान केन्द्रिय भूमिका भनेको महासचिवकै हुने भएकोले महासचिव भनेको संगठनको मेरुदण्ड हो । अध्यक्षले उसको कार्यक्षमताअनुसार नेतृत्व प्रदान गर्ने, नीति तथा कार्ययोजनाहरु ल्याउने, आन्तरिक तथा बाह्य सम्पर्क तथा सम्बन्ध बिस्तार गर्ने, केन्द्रसंग निरन्तर सम्पर्कमा रहने, टिमलाई निरन्तर क्रियाशील बनाईरहने जस्ता कार्य गर्न सक्दछ भने यी सबै कार्यलाई आवश्यक लिपीबद्ध गरी सबैमाझ पुर्याउने, आवश्यक अभिलेख राख्ने, सहि ढंगले कार्यान्वयन गर्ने जस्ता सबैभन्दा महत्वपूर्ण र केन्द्रिय भूमिका महासचिवको रहन्छ । त्यसकारण पनि अबको महासचिव पछिल्ला समयमा थपिएका जिम्मेवारी र चुनौतीलाई सामना गर्दै संगठनभित्रका ब्यवस्थापकीय सुधार गर्न सक्ने सक्षम र ऊर्जाशील ब्यक्ति आउन जरुरी छ । एनआरएन जापानको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्मका महासचिवहरु एकेडेमिक पृष्ठभूमिबाट आएका देखिन्छन् । तथापि उनीहरुबाट अपेक्षित भूमिका निर्बाह भए वा भएनन् त्यो भने समय आएपछि मुल्याङ्कन हुने नै छ ।
यहाँ भन्न खोजिएको के भने लहडको भरमा उम्मेदवारी घोषणा गर्ने, जसरी हुन्छ चुनाव जित्ने त्यसपछि आफ्नो जिम्मेवारी, कर्त्तब्य र भूमिकालाई भुसुक्कै बिर्सेर निदाएर बस्ने हो उम्मेदवारी घोषणा गरेर क्षणिक चर्चा बटुल्ने कष्ट कसैले नगर्दा एनआरएनको हितमा हुने छ । चुनावी मैदानमा उत्रिसकेपछि हार जित भईहाल्छ, त्यसपछि जुंगाको लडाई सुरु हुन्छ, त्यसले समाजमा कुनै न कुनै रुपमा विभाजन ल्याउन मद्दत गर्छ, जसले गर्दा काम गर्ने वातावरण धुमिल बन्छ । त्यसकारण उम्मेदवारको घोषणा गर्नुअघि अपेक्षित पदका लागि आफु के कति योग्य छु, जिम्मेवारी पुरा गर्न सक्ने क्षमता छ कि छैन, अभियानका लागि के कति समय दिन सकिन्छ, समाजले आफुलाई कसरी हेरिरहेको छ भन्ने राम्रोसंग विचार गर्न आवश्यक छ । सच्चा अभियान्ताले आफुले ताकेको पदमा आफुभन्दा योग्य अरु नै आउँछन भने त्यसका लागि बिनापूर्वाग्रह त्याग गर्न पनि तयार हुनुपर्दछ र आफुबाहेक योग्य ब्यक्तिहरु अरु पनि हुन सक्छन् भन्ने सँधै हेक्का राख्न सक्नुपर्दछ । योग्य र सक्षम ब्यक्तिले पदका लागि मरिहत्ते गर्नैपर्दैन, ब्यक्तिले पद होईन पदले ब्यक्तिलाई खोज्दै आउँछ, ईच्छाशक्ति मात्र देखाउन सक्नुपर्दछ । यसपाली अहिलेसम्मका उम्मेदवारलाई हेर्दा धेरैजसो अन्यत्र जिम्मेवार पदमा बहालवला देखिन्छन् । कम्तीमा पनि अध्यक्ष र महासचिव जस्तो प्रमुख कार्यकारी पदमा आसिन ब्यक्तिहरु दोहोरो भूमिकामा रहनु किमार्थ राम्रो हुदैन । ‘अनुहार एक भूमिका अनेक’ भयो भने जिम्मेवारी वहन कार्य प्रभावकारी ढंगले सम्पादन हुन सक्दैनन् । उनीहरुले कि त हालको जिम्मेवारी त्यागेर आउन सक्नुपर्दछ कि त त्याग्ने आधार आश्वस्त पार्न सक्नुपर्दछ । अब एनआरएन संगठनभित्र शुद्धिकरणको थालनी यहि बिन्दुबाट सुरु गरिनुपर्दछ । ***