देशभित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र राम्रो अवसरको खोजी गर्नेहरु विकसित मुलुकतिर जान बाध्य छन् ।
९० को दशकपछि पोर्तुगल पनि हामी नेपालीहरुको लागि राम्रो एउटा गन्तब्य बन्दै आइरहेको छ । विस्तारै नेपालीहरु पोर्तुगल आउने क्रम बाक्लिँदै गइरहेको छ भने यहाँ नेपाली राजनीतिक, साँस्कृतिक अनि सामाजिक गतिविधिहरु पनि बढ्दै गएका छन् ।
नेपालीहरुको बाक्लो उपस्थितीसँगै विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन तथा विभिन्न संघ संस्था एवं जातीय, क्षेत्रीय संगठनले आफ्नो सञ्जाल फैलाउँदै गएका छन् । नेपालीहरुको बाक्लै उपस्थिति भइसक्दा पनि आजसम्म पोर्तुगलमा यति नै नेपाली छन् भन्ने अभिलेख छैन । तर, करिव १० हजार नेपाली रहेको अनुमान लगाउन कठीन छैन ।
बैधानिक रुपमा कागज बनाउनकै निम्ति पनि दिन–प्रतिदिन विभिन्न मुलुकहरुबाट नेपालीहरु पोर्तुगल भित्रिने क्रम जारी छ । दुःखको कुरा यतिधेरै नेपालीहरु भइसक्दा पनि पोर्तुगलमा आजसम्म नेपाली दूताबासको स्थापना हुन सकेको छैन । त्यसकारण पनि पोर्तुगलमा रहेका नेपालीहरुको लागि फ्रान्सस्थित नेपाली दुतावास धाउनु पर्ने असहज अवस्था छ ।
नेपालमा पनि पोर्तुगल दूताबासको लागि दिल्ली धाउनु पर्ने बाध्यात्मक अवस्था छ । तसर्थ पोर्तुगलमा रहेका हामी नेपालीहरुले सँधै निकै हैरानी खेप्नु परि रहेको छ । हुन त अघिल्लो बर्ष मात्र लिस्बोनमा खोलिएको कन्सुलरको कार्यालयले केही सहज महसुस गरिएको छ ।
अब विषयवस्तुतिर लागौँ, पोर्तुगलमा रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको २०१५ नोभेम्बरभित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनु नै हो । बैधानिक भएकाहरु र छुट्टी मिलार नेपाल जानेहरुले त मौकामा नेपालतिरै एमआरपी बनाएर फर्किए या फर्किनेछन् । तर, अबैधानिक, नेपाल जान नपाउने र जान नसक्नेहरुको लागि फ्रान्स स्थित नेपाली दुताबास नै धाउनु पर्ने बाध्यता छ । एमआरपीको लागि एनआरएन पोर्तुगलले फ्रान्सस्थित नेपाली दूतावास र पोर्तुगलस्थित नेपाली समुदायबीच काम गर्दै आइरहेको एउटा उदारणीय राम्रो पक्ष छ । तर, सेवाग्राहीबाट १० यूरो झ्वाम किन पारिँदैछ ?
एमआरपी बनाएबापत नेपाल सरकारलाई प्रत्यक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ । थप १० यूरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्यक व्यक्तिको ठेगानामा नयाँ एमआरपी पोस्ट् गर्ने व्यवस्था दूतावासले गरेको छ ।
एनआरएन पोर्तुगलले पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्व बापत १२० यूरो, फ्रान्सस्थित नेपाली दुतावासबाट नयाँ एमआरपी, पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो, पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दुताबास पु¥याउन १० यूरो गरि जम्मा १४५ यूरो उठाउने गरेको छ ।
नयाँ एमआरपी आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरेको छ । हिसाव लगाउँदा १० यूरोको हिसाव छैन । १० हजार नेपाली रहेको पोर्तुगलमा प्रत्येकसँग १० यूरो उठाउँदा ठूलो रकम तलमाथि भएको प्रष्टै भएको छ ।
अहिलेको समयमा नेतृत्व गर्नेहरु भन्दा नेतृत्व दिनेहरु धेरै बुजक छन् । अझै यूरोपसम्म आइपुगेका हामी नेपालीहरु पक्कै पनि लाटा होइनौँ बरु बाध्यतामा पिल्सिएका छौं । हो त्यही बाध्यताको फाइदा उठाउँदै यसरी झ्वाम पारेको रकम खै कहाँ छ ? एमआरपीका लागि उठाएर बचेको रकम भूकम्प पीडितलाई राहत दिए बरु धन्य हुनेछ ।
– लिस्बोन पोर्तुगल