आफ़्नो देश परिवार र साथीभाइलाई छोडेर ठूलो सपना बोकेर नेपाली युवायुवतीहरु मुग्लान छिर्ने गर्दछन् । तर ति मध्ये कतिपयको सपना पुरा हुन्छ भने कतिपयको सपनाहरु सपनामा मात्रै सीमित रहन्छ । जापान एक अत्यन्तै सम्पन्नशाली र विकसित राष्ट्रमा पर्दछ । प्रायजसो नेपालीहरुको जापान एउटा सपनाको सहर बनेको छ । जापान आउने भनेपछि पछिका संभावित समस्याहरुलाई सोच्दै नसोची महिनामै लाख कमाउने सपना देख्ने गरिन्छ । पछिल्लो केही समययता नेपाली युवाहरु जापानमा अध्ययनको सिलसिलामा होस् वा नेपालीले खोलेका इण्डियन नेपाली रेष्टुरेन्टमा काम गर्न आउने क्रम बढ्दो रहेको छ भने समस्याहरु पनि त्यतिकै मात्रामा बढ्दै गईरहेका छन् ।
अध्ययनको सिलसिलामा जापान आउने नेपाली विद्यार्थीका मात्र समस्या नभएर अहिले कुक भिषामा जापान आउनेहरुका समस्या पनि उत्तिकै छन् । यहाँ खोलिएका रेष्टुरेन्टहरु कतिपय व्यापारिक दृष्टिकोणले भन्दा पनि भिषाको प्रलोभनमा खोलिएका पाइन्छन् । त्यसकारण उनीहरु रेष्टुन्टमा आफ़्नो खाना बेचेर भन्दा त्यतातिर लाग्ने गरेको पनि देखिन्छ । तर कतिपय रेष्टुरेन्टहरु भने व्यापारिक दृष्टिकोणबाट पनि राम्रोसँग चलाएका छन् र जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् ।
गत वर्ष कुक भिषामा जापान सरकारले कडाई गरेर कमै मात्रामा कुक भिषा दिएको थिया भने हाल आएर फेरि पहिलाको भन्दा कुक भिषा दिएका कारण नेपालबाट कुकमा आउने क्रम बढ्दो देखिन्छ । त्यसकारणले पनि भिषा निकालेर मोटो रकम असुल्न पल्केका रेष्टुरेन्ट मालिकहरु फेरि सलबलाउन थालेका छन । हाल आएर विद्यार्थी भिषामा भने केहि कडाई गरेको पाइन्छ । केहि समय अगाडि जस्तो सजिलै विद्यार्थी भिषा नदिएको कुरा नेपालमा रहेका कन्सल्टेन्सीका सञ्चालकहरुले बताउने गरेका छन् ।
यसैगरी अर्कोतिर सुनौलो भविष्यको खोजीमा जापान आउने नेपाली युवाहरुले आत्महत्याको बाटो रोज्नुका कारणले पनि जापानमा रहने अरु नेपालीहरुलाई चिन्तित बनाएको छ । जापानमा पछिल्लो केहि समययता जापानमा भाषा अध्ययन गर्न आउने विद्यार्थीदेखि कुक भिषामा आउने नेपाली युवाहरु डिप्रेशनका कारण वा अन्य कारणहरुले गर्दा आत्महत्या गर्ने क्रम बढ्दो पाइन्छ ।
दैनिक एक हजार ५ सय नेपालीहरु रोजगारीका लागि विदेश जाने गरेको छन् । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्व ५२ करोड रुपैंया स्वदेशमा पठाउने गरेका छन् । देशको मूल अर्थतन्त्र नै विदेशमा
बस्ने नेपालीहरुले पठाउने पैसा रेमिट्यान्सबाट चलेको छ तर पनि देशको अस्थिर राजनीति र संक्रमणकालिन अवस्थामा देश चलेका हुँदा वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि राज्यले उनीहरुको हितको लागि ठोस नीति नै नभएको आभाष वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई भएको छ ।
दिनँहुजसो खाडी मुलुकबाट नेपालीहरु मृत अवस्थामा देशमा भित्रिदा पनि या सम्बन्धमा नेपाल सरकारले कुनै चासो देखाएको पाइदैन । आखिर यो क्रम कहिलेसम्म चलिरहन्छ ? राज्यले यस विषयमा तत्काल सोच्नुपर्ने अवस्था आएको छ ।
जापान नेपालीहरुका लागि रोजगारीका धेरै सम्भावानहरु हुँदा पनि यस विषयमा नेपाल सरकारले खासै चासो देखाएको छैन् । केबल राजनीतिक खिचातानीमा नै व्यस्त छ । जापानमा रहेका कतिपय नेपालीहरुले शरणार्थीको बाटोहरु रोज्नुपरेको छ । यो एउटा नेपालीहरुका लागि नै लज्जितको विषय बनेको छ । हाल यो क्रम बढ्दै गएको हुनाले यस वर्षबाट जापान सरकारले शरणार्थी भिषामा निकै कडाई गरेको र नयाँ नियम ल्याउन लागेको समाचारहरु जापानका मिडियाहरुमा आएका छन् ।
जापानमा च्याउँ उम्रिएझैं उम्रेका संघसंस्था एवं गैरआवासीय नेपाली संघ जापानले यहाँका कुक तथा नेपाली विद्यार्थीहरुका समस्याका बारेमा सोचिनु आवश्यक छ । एक त जापान आउने चाहे कुक भिषामा होस् या विद्यार्थी भिषामा होस् उनीहरुले जापानको बारेमा अनभिज्ञ हुनु र यहाँको वातावरणका बारेमा थाहा नहुनुको कारणले पनि दुःख पाउनुपरेको छ भने अर्को कुरा आफु जापान जुन काममा आएका हुन् त्यस सम्बन्धमा दक्ष नहुनुको कारणले पनि धेरै समस्याहरुसँग लड्नुपर्ने हुन्छ र आफ़्नै धनमा आफू नै कमारो बन्नुपर्ने बाध्यता रहेको छ । ***
(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सहसचिव हुन)