डिसेम्बर १६ मा चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले जापानमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री सिन्जो आवेको विजयले छिमेकीसितको सम्बन्ध सुधार्ने सम्भावना निकै कम भएको भन्दै एउटा आलेख प्रकाशित गर्यो । चीनमा सि जिनपिङको उदय र जापानमा आवेको विजय संगसंगै भएपछि दुइ देशबीच तनाव बढ्दै गएको छ । केही हप्ता अगाडि मात्रै चीनले नानकिङ नरसंहारको वर्षागांठ मनाएर देशभर जापानका विपक्षमा जनमत तयार पार्ने काम गरेको थियो । यसबीचमा आवेले जापानी संविधानको धारा ९ लाई संशोधन गर्न गरेको प्रतिबध्दताका कारण उनको जितले जापानको आक्रामक विदेश नीतिका लागि बाटो खोल्ने चिनियाँहरुको विश्वास छ । यस्तो विश्वास या आशंकाको कारण इतिहासमा जापानले फैलाएको क्रुर आततायी साम्राज्यवादी शासन हो । खासगरी कोरिया र चीनले यो भुक्तमान व्यहोरेका छन् । पर्लहार्वरको आक्रमणपछि अमेरिकाले जापानसंग बदला लिन आणविक अस्त्रको भयावह विनाशकारी प्रयोग गर्यो (त्यो अपराधका लागि उसले दण्डित हुनुपरेको छैन) । आत्मसमर्पण गरेको जापानलाई फेरि साम्राज्यवादी हैसियत नबनाओस् भनेर अमेरिकाले केही पाठ सिकायो । अहिलेको जापानी संविधान अमेरिकाले जापानलाई त्यही क्रममा उपहारमा दिएको हो । त्यो संविधानले जापानलाई सैन्य शक्तिको विस्तार गर्न र खासगरी जापानबाहिर सैन्य कारबाहीमा भाग लिनबाट वञ्चित गरेको छ । संविधानको धारा ९ मा भनिएको छ : न्याय र सुव्यवस्थामा आधारित अन्तर्राष्ट्रिय शान्तिप्रति पूर्ण विश्वास गर्दै जापानी जनता अन्तर्राष्ट्रिय विवादहरुको समाधानका लागि धम्की तथा शक्तिको प्रयोग तथा युध्दलाई राष्ट्रको सार्वभौम अधिकार मान्ने कुरालाई अस्वीकार गर्छन् यो कुरा प्राप्त गर्न या अरु कुनै युध्द गर्ने उध्देश्यले कहिल्यै पनि स्थल, जल र वायु सेनाको निर्माण गरिने छैन ।
तर, आफ़्नो असाधारण आर्थिक उन्नति र आर्थिक शक्तिकारुपमा पुनर्स्थापनासंगै उसले आफ़्नो सैन्य क्षमतामा विस्तार गर्दै लग्यो । सन् १९९० को वरपर आइपुग्दासम्म जापानले आफ़्नो शैन्य शक्ति विस्तार गरिसकेको थियो । यस्तो विस्तार स्थल, जल र वायु सेनाका सबै क्षेत्रमा सक्रिय थियो । तर, वैधानिक रुपले र राजनीतिक विवादका हिसाबले पनि यस्तो विस्तारले जापानी सीमाभन्दा बाहिर पाइला हाल्न भने रोकेको छ । जापान अमेरिकीहरुको सुरक्षा छाताभित्र रहेको, ओकिनावालगायत सैन्य अखडामा अझै पनि ५० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ रहेको तथा विश्व अर्थतन्त्र र राजनीतिक विचारधाराका हिसाबले जापान अमेरिकी गुटमा रहेको भएर पनि जापानले स्वतन्त्र विदेश नीति अंगाल्न पाएको छैन । यही भएर पनि जापानभित्र केही वर्षदेखि स्वतन्त्र सैन्य शक्तिका रुपमा विस्तार गर्न र आफ़्नो मसल फैलाउन माग गर्ने आवाज उठेका छन् । यो माग एकातिर विश्वको शक्ति सन्तुलनमा आइरहेको फेरबदल, पुंजीवादी दुनियांमा भइरहेको शक्तिका लागि संघर्ष र पूर्वी एसिया र प्रशान्त क्षेत्रमा चीनको उदयसंग सम्बन्धित छ । अहिले आवेको पार्टी एलडिपीले लिएको उग्र राष्ट्रवादी अडान र दिएको नाराले प्रशान्त क्षेत्रमा अमेरिकी हितहरुको सेवा मात्र नगरेर जापानको अलग र स्वतन्त्र हैसियत बढाउन सहयोग गर्नेछ । यही कारण हो कि आवेको उदयले दक्षिण कोरिया र चीनलगायत देशसंग जापानको सम्बन्ध चिसिंदै छ । यो चिस्याइ दोस्रे विश्वयुध्दभन्दा पहिले जापानले कोरियाली र चिनियां जनतामाथि थोपरेको ज्यादती र क्रुरतासंग पनि गांसिएको छ तथा भूराजनीतिसंग पनि ।
यो प्रसंग अघिल्लो महिना जापानको मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सिन्जो आवेको दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले सहज बहुमत र गठबन्धनसहित प्राप्त दुइतिहाइ सिट ल्याएपछिको हो । दुइ वर्ष कार्यकाल छंदै आवेले आर्थिक सुधारका लागि जनादेश माग्दै प्रतिनिधिसभा भंग गरेका थिए । येनको मूल्य घटाई निर्यात बढाउने, ‘क्वान्टिटेटिभ इजिङ’ (अर्थतन्त्रमा केन्द्रीय बैंकका माध्यमबाट पैसा थोपरेर तरलता बढाउने) का माध्यमबाट अर्थतन्त्रमा माग बढाउने, करको दर बढाएर सार्वजनिक ऋण घटाउने र जापानी अर्थतन्त्रलाई गतिशील बनाउने नारा दिएर सत्तामा आएका आवेको कार्यकालमा येनको मूल्य ३० प्रतिशतभन्दा बढीले कम भएर निर्यात बढेको र जापानी कम्पनीका खातामा यसअघि भन्दा बढी वैदेशिक मुद्रा थुप्रिएको भए पनि जापानी अर्थतन्त्र भने उकालो लाग्न सकेन । येनको भाउ घटेपछि आयातित वस्तुको मोल पनि बढ्ने नै भयो । यसरी बढेको मूल्यले धेरै जापानीको खल्ती खाली हुने अवस्था आयो । अर्कातिर यसबीच चीन र दक्षिण कोरियासंग जापानको सम्बन्ध कमजोर मात्र भएन, खासगरी चीनसंगको आर्थिक सम्बन्धमा केही धक्कासमेत लाग्यो । पछिल्ला सात महिनादेखि अर्थतन्त्रको वृध्दीदर लगातार ऋणात्मक रहेको छ । जापानको अर्थतन्त्र फेरि मन्दीमा पुगेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी) झण्डै आठ हजार डलरले कम भएको छ । यसले कथित आबेनोमिक्समा धक्का लागेपछि उनले आफ़्ना सुधारका कार्यक्रममा संशोधन गर्न नयां जनादेश मागेका थिए । उनले हतारमा गरेको निर्वाचनलाई एक प्रकारले आवेको पक्ष या विपक्षमा जनमत संग्रहकारुपमा हेरिएको थियो । उनले त्यसमा जित हासिल त गरे तर जापानी जनताले पूर्णरुपमा उनलाई स्वीकार गरेनन् भन्ने तथ्यचाहिं निर्वाचनमा खसेको मत हो, जुन दोस्रो विश्वयुध्द पछिकै कम ५२ प्रतिशतजति मात्र छ । यसले जपानमा आवेको विकल्पमा अर्को भरपर्दो राजनीतिक दल नभएको भन्ने त देखाउंछ तर आवेको लोकप्रियताको भने यसले खण्डन गर्छ ।
आवेको विजयका दुइ कारणमध्ये एउटा अर्थतन्त्र हो भने अर्कोचाहिं उनको दलले जापानी राष्ट्रवादलाई दिएको बढावा पनि हो । अहिलेसम्म त जापानले चीनका विपक्षमा प्रशान्त क्षेत्रमा अमेरिकाको स्वार्थ मात्र पूरा गर्दै आएको थियो । तर, बिस्तारै विश्व अर्थतन्त्र र राजनीतिमा आएका परिवर्तनसंगै जापानीहरुको अहं जागेको जस्तो देखिन्छ । यसले दोस्रो विश्वयुध्द अगाडिको शक्तिशाली जापानलाई आफ़्नो पहिचान मान्न थालेको छ । यो युध्द अपराधीहरुको चिहानमा श्रध्दाञ्जली दिन गइरहने आवे र उनका मन्त्रीहरु, जापानी पाठ्यक्रममा आफ़्नो विगतको गौरव गान गर्ने सामाग्री समावेश गर्ने नीतिबाट अभिव्यक्त हुन्छ । यो नै आवेको जितको मुख्य खतरनाक पक्ष हो ।
विश्व अर्थतन्त्र र राजनीतिमा पछिल्लो समय केही नकारात्मक सूचक सक्रिय भएका छन् । सन् २००८ बाट सुरु भएको महामन्दीको प्रभावबाट संयुक्त राज्य अमेरिका र बेलायत केही हदसम्म तंग्रिएको भए पनि युरोपेली अर्थतन्त्र त्यसबाट अझै बाहिर निस्कन सकेको छैन । चीनको उच्च आर्थिक वृध्दीदरको तेस्रो दशक पूरा भएपछि त्यसले क्रमश : घट्दो दर स्थिरतातिर जाने बाटो लिएको छ । यसले अरु देशबाट गरिने आयातलाई प्रभावित गर्ने पर्याप्त सम्भावना छ । विश्व बजारमा कच्चा तेलको भाउ ह्वात्तै घटेर तीन वर्ष अगाडिको भन्दा आधामा झरेपछि त्यसका प्रभाव विश्वको पुंजीबजारमा देखापर्न थालेका छन् । वालस्ट्रिटमा यो साता आएको लगातारको गिरावट, डलरको मूल्यमा आएको वृध्दी तथा रसियाली रुबलको संकटले विश्व अर्थतन्त्रलाई अस्थिर बनाइदिएका छन् । जापानमा आवेको जितपछि पनि सेयर बजारमा गिरावट जारी रहनुले उनको जितप्रति बजार विश्वस्त नरहेकोतर्फ संकेत गर्छ । रसियामा पुटिनको उदय अर्थात् रसियाली राष्ट्रवादको उन्माद, विश्व नम्बर एक अर्थतन्त्रमा चिनको फड्को, प्रशान्त क्षेत्रकेन्द्रीत अमेरिकी सुरक्षा नीति र त्यससंगै आफ़्नो सबै खर्च धान्न सक्ने क्षमतामा आएको ह्राससमेतले जापानको पछिल्लो आकांक्षालाई अमेरिकाले साथ दिने सम्भावना छ । यसले हिन्द चीनका साथै प्रशान्त क्षेत्रमा तनाव बढाउने र शक्तिको होडबाजी चल्ने सम्भावना पनि बढाइदिएको छ । चीनसंग केही टापुहरुको विषयलाई जारी द्वन्द्वले यसको छनक मात्र दिएका छन् । आवेको यसपालिको विजयले जापानी अर्थतन्त्रलाई कति उत्थान गर्छ भन्ने कुरा अनिश्चित भए पनि विश्व राजनीतिमा नयां संकट सिर्जना गर्न यसले अवश्य भूमिका खेल्नेछ ।***