मंसिर १७ गते जिप दुर्घटनामा परि घाइते हुनु भएका संविधानसभा सदस्य हरिबहादुर खड्कालाई उपचारका लागि न्युरो अस्पताल ल्याएको थाहा पाएर अस्पताल पुग्दा त्यहाँ चिन्ता र तनाबको अवस्था थियो । एकातर्फ विरामीको अवस्थाले सबैलाई चिन्तित बनाएको थियो भने अर्कातर्फ समयमा किन उद्धार भएन भन्ने कुराले आक्रोशित बनाएको थियो । उपचार गरेर निक्लनु भएका डा. देवकोटालाई दौडेर गएर सोधें ? उनले भने हामीले सक्दो प्रयास गरेका छौं तर वहाँको अवस्था ठिक छैन । हरि दाई अस्पतालको शैयाबाट मृत्युसंग पैंठेजोरी खेल्दै गर्दा हामीले गर्न सक्ने भनेको केवल प्रार्थना मात्र थियो ।
२१ गते राति खवर आयो हरि दाईले यो युद्ध जित्न सक्नु भएन, कठोर मृत्युले जित्यो । नेपाली कांग्रेसको राजनीतिमा अपार सम्भावना बोक्नु भएका हरि दाईको अल्पायुमा अप्रत्याशित रुपले भएको निधनमा शोकग्रस्त भएका हामीहरुको बिचमा दुईबटा कुरा भएरहेको थियो; पहिलो सरकारले गठन गरेको समितिले सत्य तथ्य बाहिर ल्याउनुपर्छ । घाइते हरि दाईलाई समय मै काठमाडौं किन ल्याउन सकिएन यसको जाँचबुझ हुनै पर्छ र जो दोषि देखिन्छ त्यो दण्डको भागिदार हुनुपर्छ । अर्को विषय थियो नेपालमा यति धेरै दुर्घटनाहरु किन भइरहेका छन् ? कुरा भइरहेको थियो हाम्रो सडकको स्तरको बारेमा । हाम्रो सवारीसाधनको अवस्थाको बारेमा, चालकको लापरवाही र प्रशासनको गैर-जवाफदेहिताका बारेमा, कानुनमा भएका कमजोरीका बारेमा ।
म सोचिरहेको थिँए; पछिल्ला केही महिनामा (श्रावण १) पछी मात्र भएका सवारी दुर्घटनामा १००० जनाले ज्यान गुमाउनु परेको छ भने ६००० भन्दा बढी घाइते भएका छन्। दुर्घटना भएका ति सबै जसो सडकमा मैले यात्रा गरिसकेको छु । बास्तबमै ति “सडक” भन्न लायक छैनन् । जुन सडक भन्न लायक छन्, त्यहाँ हामीलाई गाडी चलाउन आउँदैन । प्रत्येक पटक गन्तब्यमा पुगेपछी लाग्छ आज फेरी बाँचियो । सडक दुर्घटनाको विषयमा अहिले सबैको ध्यान तानिएको छ। संसदको समितिदेखि सरकारका बिभिन्न निकायले सम्म अहिले यसलाई महत्व दिएर काम सुरु गरेकाले अब पक्कै केही होला । यस्तै सोचिरहेको थिँए; अब पक्कै केहि होला, यस्तै यस्तै सोचिरहेको थिए ।
२२ गते अन्त्यष्टीका लागि हरी दाईको पार्थिव शरिरलाई बागलुङ लगियो । म पनि हरि दाईको अन्तिम संस्कारमा २३ गते विहान पोखरा हुँदै बागलुङ जाने निधो गरें । तर २२ गते राति ९ वजे फोन आयो । मेरो बहिनी निशा वस्नेतको स्कुटर लाई तिनकुनेमा ट्रकले ठक्कर दियो । टिचिङ हस्पिटलमा राखेको छ । म टिचिंग हस्पिटल पुगे । बाटोमा लागिरहेको थियो सामान्य दुर्घटना होला ।
ईमरजेन्सीमा पुगेर निशाको अवस्था देख्दा म केहि बोल्न नसक्ने भए । उसको शरिरको तल्लो भाग क्षत-विक्षत भएको थियो । शरीरका भित्री अंगहरु बाहिर बेडमा लडिरहेका थिए । डाक्टरको टोली प्रयास गरिरहेको थियो । हामी स्तव्ध थियौं ।
“हामी अपरेसन गर्छौं । सायद चमत्कार हुन्छ कि ! डाक्टरले यति भन्दा पनि आशा पलायो । रगत जाम्मा गर्न थाल्यौं । राति ११ बजे तिर अपरेसन सुरु भयो । करिब ६ घण्टामा अपरेसन सकियो । मलाई डाक्टरले आ ई सि यु मा बोलाउनु भयो । म डराइ-डराइ छिरे । भित्र निशा लाई सि पि आर (CPR) दिएको दृश्य देखेपछि म सम्हालिन सकिन । अब हामीसँग प्रार्थाना गरेर बस्ने बाहेकको अन्य विकल्प थिएन । बिहान १० बजे डाक्टरले मलाई फेरि भित्र बोलाउनु भयो र भन्नु भयो ” She is no more! उनी रहिनन् !
रुवाबासिको बिचमा सोचिरहेको थिए । यो के भइरहेको छ ? उता हरि दाइको अन्त्येष्टी भइरहेको छ । आफन्तका मनमा प्रश्नै प्रश्न छन् । त्यो सडक राम्रो भएको भए ? समयमा रेस्क्यू भएको भए ? धौलागिरीमा ट्रमा सेन्टर भएको भए ? यस्तै यस्तै । यता मेरो मामा माइजुको मनमा पनि सायद यस्तै प्रश्न छन् होला ! स्कुटर नचलाएको भए ? त्यो बाटोमा नहिँडेको भए ? यस्तै-यस्तै । देशको विभिन्न भागमा भएका दुर्घटनामा आफ्नो प्रियजन गुमाउने प्रत्येकको मनमा यस्तै प्रश्नहरू मडारिरहेका होलान ।
अनि मैले सोचेँ; यो के हो ? पहाडको बाटोमा दुर्घटना हुँदा हामी भन्छौं; सडक नै ठिक छैन त्यसैले दुर्घटना भएको हो । तर, काठमाण्डौका सडक त ठिक छन् नि ? बाहिर दुर्घटना हुँदा हामी भन्छौं; ड्राईभरले बदमासी गर्दा भएको हो । प्रहरी प्रशासनले नहेरेर हो । तर, यहाँ त प्रहरी प्रशासनले हेर्दा पनि दुर्घटना भइहेको छ । मलाई लाग्न थाल्यो यहाँ दोष सडकको मात्र होइन । ड्राईभरको पनि होइन । प्रहरी वा प्रशासन को पनि होइन ।
दोष हाम्रो हो । सडकमा गाडी गुडाउने बेला हाम्रो भइसकेको रहेनछ । सडक र बिमानस्थल बनाएर उड्ने वा गुड्ने हैसियत त प्राप्त हुँदो रहेछ तर क्षमता भने आफैं निर्माण नहुँदो रहेछ । हामी सडकमा गाडी कुदाउन र खुल्ला आकासमा हवाइजहाज उडाउन “Qualified” भइसकेका रहेनछौं । त्यसैले, म भन्छु अब फेरी हिँडौं । सडकहरुमा गाडी कुदाउन नै प्रतिबन्ध लगाउँ । आकासमा हवाइजहाज उड्न प्रतिबन्ध लगाउँ। फेरी पुराना दिनमा फर्कौं जहाँ कहिले हवाइजहाज दुर्घटना हुँदैन थियो । सडक दुर्घटना हुँदैन थियो । होइन, गुड्ने हो, उड्ने हो भने केही बेर गुड्न र उड्न बाट अडिएर सोचौं, हामीले के गर्नुपर्ला जसले उड्न र गुड्न हामीलाई “Qualified” बनाउने छ त्यो गरौं अनिमात्र उडौं, अनिमात्र गुडौं !!
अस्ती साझँ निशालार्इ दागबत्ति दिँदै गर्दा छेउको चित्तामा सिस्नेरीको दुर्घटनामा मृत्यु भएको नवविवाहित जोडीको शरिर जलिरहेको थियो । जता ततै दुर्घटनामा परेकाहरु को लास जलिरहेको थियो । धुवाँ- धुवाँको बिचमा सोचिरहेको थिएँ । मेरो बहिनी निशा हाम्रो बिचमा नभए पनि यो संसारलाई त उनी हेरिरहनेछिन्, ती दुई जाना अपरिचित बालकको माध्य्मबाट जसले उनको शरीरबाट दान गरिएका नानिहरु पाउनेछन् ।
तर, यहि कामना गर्दछु, तिनका नानी पाउने दुई वच्चाको आँखा भने यस्ता दुर्घटनामा परेर कहिले बन्द नहोस् । कहिले बन्द नहोस !!