हामी नेपालीको पहिचान भनेकै विविध प्रकारका चाडपर्व भएकोले यसलाई थप गरिमायुक्त र विशेष वनाउन हामी सवैको दायित्व पनि हो । हाम्रो ठूलो पर्व दिपावली पांच दिन सम्म रमाइलो वातावरणमा मनाइन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वीतीय तिथिसम्म मनाइने यमपञ्चकका पांच दिन विभिन्न तिहार मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरी कागतिहारका रुपमा मनाइन्छ । भनिन्छ कागले कसैमाथि भेदभावको दृष्टिले हेर्दन यो सर्वभक्षी पंक्षी हो यसले हाम्रो जस्तो कृषिप्रधान देशमा अन्नवालीमा लाग्ने विभिन्न प्रकारका किरा फट्याङ्ग्रा आदि खाइदिएर अन्नवालीको रक्षा गर्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । यसै दिनदेखि दीपावली आरम्भ हुने भएकोले कागको पूजाआजा गरी कागतिहार मनाउने हाम्रो प्रचलनमा धार्मिक साँस्कृतिक र सामाजिक पक्षको अद्वितीय समन्वयलाई समेत स्पष्ट पारेको छ ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुदशीका दिनलाई नरकचतुर्दशी पनि भनिन्छ । कागलाई कुकुरलाई पनि यमराजकै दूतको रुपमा लिइन्छ । कुकुर यमराजको अर्को नजिकको भक्त पनि हो । कुकुरलाई आज्ञापालक र रक्षक मात्र मानिदैन । विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने यस सम्वन्धमा अनुसन्धान गर्ने कार्यमा महत्वपूर्ण सहयोग गर्ने ककुरले गर्दछ । कुकुरको उत्पत्ति सूर्यको कूलमा भएको शास्त्रीय कथन पनि पाइन्छ । चोर डा“का आए भने भुकेर तिनिहरुलाई भगाउने घरका सवैलाई सजग गराउने तथा कुनै दैविक विपत्ती आउन लाग्दा पूर्व संकेत कार्य समेत कुकुरले गर्दछ । भनिन्छ कुकुरले धर्मात्मा र पापात्मालाई सजिलै चिन्दछ । कुकरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले त भैरव मन्दिर वाहिर दायां वायां कुकुरको प्रतिमूति स्थापना गरेको पाइनु जस्ता कुरालाई मनन गर्दा कुकुरसंग हाम्रो सँस्कृति गांसिएको छ । यी विभिन्न कारणले गर्दा कुकुरसंग हाम्रो सँस्कृति गांसिएको छ । यी विभिन्न कारणले गर्दा कुकुर तिहारको दिन विशेष पूजा आजा गरी मनपर्ने खानेकुरा दिई माला लगाइदिएर रमाइलो वातावरणमा कुकुर तिहार मनाइन्छ ।
गाइतिहार र लक्ष्मीपूजाः हामी कुनै पनि शुभकार्य गर्नु अगाडि गोदान गर्छौं । श्रावण शुल्क पूर्णिमाका दिन हातमा वांधिएको र सूत्रलाई कार्तिक कृष्ण औसीका दिन गाइको पुच्छरमा वांधिदिए मृत्युपछि पनि गाईले त्यस व्यक्तिलाई रक्षा गरी वैतरणी नदि पार गर्दा सहयोग पुर्याउने विश्वास गरिन्छ । कुनै पनि धार्मिक तथा साँस्कृतिक कार्य गर्नु पूर्व त्यस स्थानमा गाईको गोवरले लिप्ने दशै तिहार लगायतका मुख्य पर्वका अवसरमा गाइको गोवरले घर आंगन लिपेर पवित्र वनाउने परम्परा छ भने जुठो सुतक परेपछि घर शुध्द गराउन पनि गहुंतले चोखो वनाइन्छ । गाइलाई अत्यन्तै उपयोगी गुणी जनावरको रुपमा पुजिने भएकोले गौमाताको महिमा ज्यादै उच्च रहेको छ । हाम्रो प्रसिद्ध धार्मिक ग्रन्थ महाभारतमा गाइले नै विश्वरुप देखाएको प्रसंग पनि पाइन्छ ।
लक्ष्मीलाई धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीकका रुपमा विभिन्न ग्रन्थहरुमा चर्चा गरिएको पाइन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्याँरो रातको रुपमा लिइन्छ । यस अन्धकारमय रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य यसै लक्ष्मीपूजाको दिन गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई मानिसमा अन्तरनिहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश समेत रहेको देखिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरुको नास गरेपछि कार्तिक कृष्ण औसीको दिन अयोध्याको दिपावली गरेको प्रसंग होस् या यमराजले यमपञ्चका पांच दिन आफ़्नी वहिनी यमुनाकहां वस्ने गरेको कारण यस दिन मृत्यु हुने कुनै पनि मानवले नरक देख्नु नपर्ने विश्वासमा खुशी मनाउंदै दिपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस् यी सवै प्रसंगहरुमा यसदिनको ठूलो महिमा रहेको प्रष्ट हुन्छ ।
गोरुतिहारः कृषिप्रधान देशमा धर्तीपूत्रको रुपमा पहिचान वनाएको गोरुको सम्वन्ध घनिष्ट रहेको छ । गोरु कर्मयोगी किसानहरुका लागि अत्यन्तै आवश्यक जनावर हो । गोरु भगवान् विष्णुको वाहन पनि हो भने गोपाल शव्दले गाईपाल्ने व्यक्ति, गाईको धर्ती ग्वाला, गोठालो आदिको वोध गराउंछ । गोपाल भगवान श्री कृष्णको पर्यायवाची नाम पनि हो द्वापर युगमा ने इन्द्रले पानी नपारिदिएको कृषि पेशामा संलग्न कर्मयोगी गोपालहरु अत्यन्तै चिन्तित हुन पुगेका थिए । यस अवस्थामा भगवान श्री कृष्णले गोवर्धन पर्वतको पूजा गर्ने सल्लाह दिएकाले सोही अनुसार गरे फलस्वरुप वर्षा भयो । सवै अन्न र ऐश्वर्यबाट समृद्ध भए ।
गाइ र गोरुहरुको संख्यामा पनि वृध्दी भयो यसरी गोरु तिहार पर्व गोवर्धन पर्व संग पनि गांसिन पुगेको छ । हाम्रो गांउघरमा अझै पनि गोरुको विशेष स्याहार सुसार गर्ने र गोरु जोत्ने कार्यमा संलग्न हुने व्यक्तिहरुको सम्मानमा हलितिहार मनाउने प्रचलन पनि रहेको छ । पर्यावरणीय सन्तुलनको पक्ष पनि यसभित्र रहेको छ । पर्यावरणीयय सन्तुलनको पक्ष पनि यसभित्र रहेको छ । तिहार पर्व शरद ऋतुमा पर्ने र वैदिक मनोकामना शरद ऋतुसंगै सम्वन्धित छ । यसै दिन रमाइलो वातावरणमा पौराणीक कथा वाचन गर्दै देउसी भैलो पनि खेलिन्छ ।
भाइतिहारः यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितिया तिथिका दिन यो पर्व नेपाली समाजमा उत्साहपूर्वक मनाइन्छ । संस्कृतको भ्राता शब्दबाट भाइ शब्दको निर्माण हुन पुगेको र भ्राता शव्दले दाजु र भाइ दुवैलाई वुझाउने छ । यो पर्व दिदीले भाइलाई वहिनीले दाजुलाईअनी त्यसैगरी भाइले दिदीलाई र दाजुले वहिनीलाई विशेष मानमनितोका साथ विधिपूर्वक पूजाआजा गर्ने मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने दिदी वहिनीलाई दक्षिणा र वस्त्रादि दिने परम्परा रहेको छ । परापूर्वकालमा वहिनी यमुनाले यसै दिन आफ़्नो दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको कुरा महत्वपूर्ण छ । यमपञ्चकका दिन यमराजले यमुनाका घरमा वास गर्छन भन्ने हाम्रो धार्मिक विश्वास रहेको छ । यसैवेला इन्द्रादि दस दिक्पालले वलि राजाको लागि आफ़्नो राज्य छाड्ने गरेको कथा प्रसंग पनि पाइन्छ ।
यस पञ्चकको अन्तिम दिन गरिने भाइटिकको महिमा विविध कुरासंग गांसिएको छ । दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, विमिर, ओखर, तेल, मखमलीको माला, दुवोको टीका, कटुस आदिको प्रयोग गर्ने कार्यमा आफ़्ना दिदि वहिनी र दाजुभाइको सुख समृध्दी, आरोग्य र दीर्घायुको कामना समेत अन्तरनिहित छ । यसभित्र एकआपसमा प्रेम स्नेह, सदभाव, श्रध्दा, आस्था र विश्वासको आत्मीय पक्ष समेटिएको पाइन्छ । यस दिन विधिपूर्वक टीका ग्रहण गर्ने दिदी वहिनी र दाजुभाइले नरकयातना भोग्नु नपर्ने शास्त्रीय कथन पनि रहेको छ ।
यसरी हामीले दीपावली पर्वमा पर्ने महत्वपूण पांच दिनमा परम्परा मूल्य मान्यता आदिको ख्याल गर्दै रमाइलो गरी दीप प्रज्वलन गर्दै आपसमा खुशी वांडेर पिङ खेल्ने देउसी भैलो खेल्ने जस्ता कार्य गरी मनोरम वातावरणमा मनाउंछौ । ***