सार्क मुलुकभन्दा बाहिर रहेका नेपाली र नेपाली मुलका बिदेशी नागरिकलाई संगठित र परिचालित गर्दै नेपालको सबाङ्गीण बिकासमा क्रियाशील गराउने उद्देश्यले गैर आवासीय नेपाली संघको स्थापना सन् २००३ अक्टोबर ११ मा भएको हो । यो संघको स्थापनापछि विभिन्न देशहरुमा राष्ट्रिय समन्वय परिषदको स्थापना गरी सम्बन्धित मुलुकमा बसोबास गर्दै आईरहेका नेपाली र नेपाली मुलका बिदेशी नागरिकहरुलाई संगठित गर्दै एनआरएनको बिश्वब्यापी अभियान सुरु भएको हो । जसअनुसार सन् २००४ को फेब्रुअरी १२ मा जापानमा पनि गैर आवासीय नेपाली संघको च्याप्टर गठन भएको हो ।
एनआरएनको मुल मर्मलाई आत्मसाथ गरी जापानमा रहेका सम्पूर्ण नेपालीहरुबीच एकता र पारस्परिक सम्बन्धको बिकास गर्दै जापानबासी नेपालीहरुको हक, हितको संरक्षण गर्ने मुलभूत उद्देश्यले जापानमा एनआरएनको शाखा गठन गरिएको हो । स्थापना गर्ने बेलामा त्यतिबेलै हामीले प्रष्टसंग भनेका थियौ कि एनआरएन एउटा बिशुध्द गैरराजनीतिक र गैरनाफामुलक सामाजिक संस्था हुनुपर्दछ । अहिले पनि हाम्रो धारणा त्यही नै हो । यस संस्थामा कुनै पनि पार्टीको झण्डा बोकेर कसैलाई पनि राजनीतिक चलखेल गर्न छुट दिनुहुदैन । तर यदाकदा जब जब एनआरएनको नेतृत्व चयन गर्ने समय आउँछ चाहे त्यो केन्द्रको होस् या राष्ट्रिय समन्वय परिषदको, त्यहाँ राजनैतिक आस्थाको आधारमा चलखेल सुरु हुने गर्दछ यो विडम्बनापूर्ण छ । यसलाई चिर्नका लागि एनआरएनको आइसीसीदेखि एनसीसीसम्मको संगठनात्मक संरचनामा परिवर्तन गर्न जरुरी छ । त्यसो गर्न सकियो भने मात्र एनआरएन अभियानलाई अगाडि बढाउन योग्य र सक्षम ब्यक्ति नेतृत्वमा आउन सक्नेछन् । साँगठानिक ढाँचा मात्र परिवर्तन गरेर हुँदैन, नेतृत्व चयन गर्ने प्रणालीमा नै केही सुधार गर्नुपर्ने देखिन्छ । पहिलो त आइसीसी होस् या एनसीसी अध्यक्ष पदका लागि मात्र निर्वाचन गराई नेतृत्व चयन गर्नुपर्दछ र अध्यक्षलाई शक्तिसम्पन्न बनाईनुपर्दछ । निर्वाचित नेतृत्वले दुई बर्षको कार्यकालमा आफुले गर्ने कार्यसूचीको फेहरिष्टसहितको प्रतिबध्दता पेश गर्दै आफुलाई काम गर्न सजिलो हुने गरी बाँकी टिम बनाउने छुट दिईनुपर्दछ । त्यसो भयो भने मात्र नेतृत्वले आफुले कबुल गरेका कामहरु सबै पुरा गर्नका लागि स्वतन्त्रतापूर्वक काम गर्न पाउँछ र जसरी भए पनि सम्पन्न गर्न नैतिक दबाब पर्दछ । यसो गर्दा अर्कोतिर राजनैतिक आस्थाका आधारमा चलखेल गर्ने संभावना कम हुन्छ । यसै गरी हरेक एनसीसीका अध्यक्षहरु स्वतः आइसीसीको सदस्य हुने ब्यवस्था गरिनुपर्दछ र थप आइसीसीका सदस्यहरु पनि सम्बन्धित देशको एनसीसी समितिले चयन गरी पठाउने ब्यवस्था गरिनुपर्दछ ।
हालै नेपाल सरकारले नेपाली मुलका बिदेशी नागरिकलाई निश्चीत अधिकार किटान गर्दै दोहोरो नागरिकता प्रदान गर्ने बारे गरेको निर्णयको स्वागत गर्दै दोहोरो नागरिकता बाहकले निजामति कर्मचारीमा जागीर खान, राजनीतिमा सहभागी बन्न र मतदान गर्न नपाउने ब्यवस्था हुने भनिए पनि बिशेष परिस्थितिमा नेपाल सरकारका वा अन्य महत्वपूर्ण ओहदाका ब्यक्तिलाई आवश्यक सल्लाह, सुझाव दिन सक्ने हैसियत भएका बिशिष्ट ब्यक्तिहरु अवैतनिक सल्लाहकार हुन पाउने प्रावधान भने सुरक्षित राखिनुपर्ने देखिन्छ । यसैगरी एनआरएन अभियानमा लागेका ब्यक्तिहरुले एनआरएनको लोगो वा झण्डा आफ़्नो निजी ब्यवसायिक प्रयोजनमा प्रयोग गर्न नपाईने ब्यवस्था गरिनुपर्दछ । यदि प्रयोग गरिन्छ भने उक्त ब्यवसायबाट हुने आम्दानीबाट रोयल्टीबापत एनआरएनलाई आर्थिक सहयोग दिनुपर्ने ब्यवस्था गरिनुपर्दछ ।
एनआरएनको आठौं क्षेत्रीय सम्मेलन हालै जापानमा सम्पन्न भएको छ । सम्मेलनले मुलुकको आर्थिक बिकासमा एनआरएनले के कस्तो योगदान र सहकार्य गर्न सक्छ भन्ने बिषयमा एउटा निचोड निकाल्दै ९ बूंदे घोषणापत्र सार्बजनिक गरेको छ । घोषणापत्रमार्फत एनआरएनहरुले अब केही गरेर देखाउने तातेसिनाबाट उदघोष गरेका छन् । यो उदघोष आफैमा एउटा प्रण हो, कसम हो र प्रतिबद्धता हो जसलाई पुरा गरेरै देखाउनका लागि एउटा नैतिक दबाब हो । अघिल्ला सम्मेलनहरुका घोषणापत्र भन्दा यसपालीको घोषणा पत्रमा यहि फरक छ र हुनुपर्दछ ।
सम्मेलन आयोजनाका सन्दर्भमा तीतामीठा अनुभवहरु हुने नै भए । हामीले चाहेजति सहभागिता जुटाउन नसके पनि २१ राष्ट्रबाट ३३३ जना डेलिगेट्सहरुको सहभागितामा सम्मेलन सम्पन्न गर्न पाएकोमा आयोजक राष्ट्र जापानले बिश्वसामुको एनआरएन समुदायमा एउटा राम्रो सन्देश दिएको छ । केही कमीकमजोरी अवश्य रहे, डेलिगेट्सहरुको नामावली समयमै नआउँदा ब्यवस्थापनमा असहज स्थितिको सामना गर्नु परे पनि त्यसलाई हामीले संयमित भएर समाधान गर्यौं । यस पटकको सम्मेलनमा खुशीको कुरा स्थानीय तथा बाह्य मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रह्यो । उनीहरुका लागि पनि ब्यवस्थापनमा केही कमीकमजोरीहरु रहन गएको हामीले अनुभूति गरेका छौं ।
अर्कोतिर, त्यसै पनि बाह्य मुलुकबाट डेलिगेट्सहरु यहाँ आउन त्यति सहज नभएको राष्ट्र भएकोले आवश्यक भिसा प्रक्रिया झञ्झटिलो र केही कठोर हुनु स्वभाविकै हो । यसका कारण पनि केही मुलुकका साथीहरु सम्मेलनमा सहभागी हुन पाउनुभएन । यस मानेमा भने हामीलाई दुख लागेको छ ।
एनआरएन बिदेशमा बस्ने नेपालीहरुको एउटा साझा घर हो । यसलाई हामी सबैले हाम्रो र राम्रो बनाउनका लागि सोहीअनुसारको काम र अपनत्वको अनुभूत गर्न सक्ने बनाउन आवश्यक छ । त्यो हुन सकिरहेको छैन । निर्वाचन र सम्मेलनका बेलामा मात्र अलि तातेजस्तो गरे पनि औसत समयमा र सरदर नेपालीहरुलाई एनआरएनको राप र तापले अझै आकर्षित गर्न नसकेको वास्तविक तथ्यलाई यहाँ बिर्सन मिल्दैन । एनआरएन अभियानको वितेको एक दशकमा नीति भन्दा नेतृत्वलाई प्राथमिकता दिईयो । बितेका अनुभवबाट पाठ सिक्दै नयाँ शिराबाट काम थालनी गरेर आर्थिक समृध्दि हासिल गर्ने अबको गन्तब्य हुनुपर्दछ । सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भनेझैं धनीहरुको संस्था अझै हुन नसके पनि धनी हुन चाहनेहरुको संस्था भने पक्कै हो एनआरएन । त्यो ब्यवहारमा पनि देखाउन सकौं । एनआरएन अभियान आफैमा एउटा देशका लागि आह्वान हो, सहकार्य र हातेमालो हो, मिलेर केही गरौं भन्ने साझा समर्पण हो । यो अभियान भित्र हामी सबै अट्नुपर्छ, जुट्नुपर्छ र देश बनाउनका लागि उठ्नुपर्छ । ***
(‘एनआरएन डे’ का अवसरमा प्रेषित यस लेखका लेखक प्रधानाङ्ग एनआरएन जापानका संस्थापक अध्यक्ष हुनुहुन्छ)