काठमाडौंको भिमसेनगोलामा फेन्सी पसल गरिरहेका सिन्धुलीका गोकुल कार्कीले हिलो र धुलो खान थालेको तीन वर्ष भयो । भिमसेनगोलादेखि मैतीदेवी हुँदै पुतलीसडक जोड्ने सडक विस्तार गर्ने कार्य सुरु भएको तीन वर्ष बित्दा पनि पूरा नभएपछि उनले यस्तो सास्ती खेप्नुपरेको हो । आठ वर्षदेखि फेन्सी पसल सुरु गरेका उनको व्यापार पनि तीन वर्षदेखि चौपट छ । भन्छन, सुरुका पाँच वर्ष केही आशा पलाएको थियो तर तीन वर्षयता सटरको भाडा तिर्न पनि मुस्किल भइरहेको छ । यो पटक त बाटो पूरा कसो नहोला भन्दा भन्दा तीन वर्ष बितेपछि पनि गएको वर्षमा उनले यो बाटोमा हिड्नै नसक्ने हिलोको सामना गर्नुपर्यो ।
सुर्खेतको छिन्चुदेखि जाजरकोट सदरमुकाम जोड्ने सडक मार्गमा पर्ने भेरी नदीको पुल पनि बन्न थालेको १० वर्ष बित्यो । दस वर्षमा नदीमा बल्ल पिलर ठडिन थालेका छन । दस वर्षमा यो पुलसँग जोडिएका र पुल नहुँदा गाडी तार्न सञ्चालन गरिएको फेरीका बारेमा सयौं समाचार सञ्चारमाध्यममा आए तर पुल बनेन ।
गत भदौ अन्तिम साता पाँचथरको कावेली ए जलविद्युत परियोजनाको जिम्मा पाएका निर्माण व्यवसायीलाई एक स्थानीय राजनीतिक दलका जिल्ला अध्यक्षकै संलग्नतामा अपहरण गरियो र करोडौं रकम फिरौती मागियो । यद्यपी उनीहरुलाई प्रहरीले सकुशल मुक्त गर्न सफल भयो । तर, अहिले पनि सामाजिक सुरक्षाको अवस्था कमजोर छ भन्ने यो दृष्टान्त हो ।
अरु त परै छन देशमा भइरहेका हरेक कार्यलाई नजिकबाट नियाल्दै खबरदारी गरिरहेको नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको भवन बन्न लागेको पनि ४ वर्ष भयो । चार तले भवन बनाउन ४ वर्ष पूरा बितिसक्यो तर अझै भवनले पूर्णता पाएको छैन । सबै पत्रकारहरुको चासो र निगरानीमा बनिरहेको महासंघको भवन बन्नुपर्ने समय सकिएको एक वर्षभन्दा बढी भइसक्यो । तर, निर्माण व्यवसायीको आग्रहका कारण ६ पटकभन्दा बढी समय थप पनि गरिएको छ । प्रत्येक पटक अन्तिम भन्दै समय थपिएको छ । भवन निर्माण मूल समितिको माइन्यूटमा त्यो थपिएको अन्तिम समय नाघेमा कालोसूचीमा चढाइने कुरा पनि लेखिएकै छ । तर पनि बन्दैन भवन । भवन बनाउँदाको झन्झट र अनेक ताकेता गर्दा पनि समयमा भवन पूरा गर्न नसकेपछि महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले त्यो बेला भनेका थिए, ‘सार्वजनिक निकायको हातमा टन्न पैसा, राम्रो योजना र जग्गा छ भने पनि भवन भनेको समयमा भवन बन्दो रहेनछ ।’ उनको यो भनाईभित्र उनको तीन वर्षको ठूलो पीडा लुकेको छ । महासंघको भवन बनाउन ताकेता गर्ने क्रममा एक पटक प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव कृष्णहरी बास्कोटाले पनि भनेका थिए, ‘प्रधानमन्त्री कार्यालयबाट कैयौंचोटी राजधानीमा बनिरहेका सडकको निर्माण कार्य सक्न निर्देशन दिइसकियो तर काम सकिएकै छैन । निर्माण व्यवसायीहरु प्रधानमन्त्री कार्यालयको निर्देशन त पालना गर्दैनन अरुको के कुरा ?
यी त साना उदाहरण भए । नेपाल सरकारले राष्ट्रिय गौरवका योजना भनेर प्राथमिकता दिएका योजना समेत यस्तै पीडामा छन् । मेलम्ची ल्याएर काठमाडौंका सडक पखाल्ने उद्घोष गर्ने कृष्णप्रसाद भट्टराईको निधन भएको पनि तीन वर्षभन्दा बढी भइसक्यो । तर, मेलच्ची सपनामै छ । यी दृष्टान्तहरुले एउटा कुरा प्रष्ट पार्दछ कि भनेकै समयमा काम भयो भने पनि नेपाललाई विकसित राष्ट्रहरुको नजिक नजिक पुर्याउन पनि पचासौं वर्ष लाग्छ । यसैगरी सुस्तता, अटेरीपना र बाध्यताहरुमा अल्झिने हो भने त नेपाल बनाउने सपना यसै तुहिने पक्का छ ।
तर, नेपालमा केही राम्रा सम्भावना पनि छन् । पछिल्लो समय सञ्चार, शिक्षा र स्वास्थ्यमा केही राम्रा सुधार पनि भएका छन् । नेपालमा सुपर मार्केटको सफल सुरुवात गरेको भाटभटेनीले अनामनगरमा एउटा भव्य भवन बनायो चार महिनाभित्रै । चारमहिना अघि सुरु गरेको अहिले भव्य सपिङ मल ठडिएको छ । यदि त्यो सार्वजनिक कार्य भएको भए चार वर्षमा पनि बन्दैनथ्यो । सबैभन्दा ठूलो कुरा व्यक्तिको सोंच र उसको संस्कार रहेछ । व्यक्तिलाई संस्थागत र समूहगत बनाउने राजनीतिक नेताहरुको सोचसँग जोडिन्छ यो विषय ।
हिजो आज राजनीतिक दलका नेताहरु र सरकारमा रहेका मन्त्रीहरुलाई सहजै भन्छन, ’अहिलेको हाम्रो प्राथमिकता भनेको संविधान हो, विकास होइन । संविधान नबनेसम्म विकास असम्भव छ ।’ सर्बसाधारणको विकास चाहनालाई उनीहरु यसरी टार्ने गर्दछन् । तर, यथार्थ कुरा के हो अहिले निर्धारण गरिएको माघ ८ मा नै संविधान बन्यो भने पनि यो संस्कार हट्नेवाला छैन र तीब्र गतिमा विकासका काम सुरु कदापी हुने छैनन् । राजनीतिक खिचातानी, अटेरी र अराजकता यही हुनेछ । विकासका काम गर्न संविधानले कहिले पनि छेक्दैन । हामीसँग अहिलै पनि थुप्रै मौजुदा कानुन छँदैछन् । संविधान बन्यो भने पनि हाम्रो प्रवृति, संस्कार र शैली यही त हो । सबैभन्दा ठूलो कुरा भनेको मान्छेको बुझाई र उसको दृष्टिकोण हो । हामीले कहिले पनि आफ़्नो संस्कार र काम गर्ने प्रवृति बदल्न मानेनौ । बरु बिभिन्न तरहले रातारात धनी हुने प्रयास मात्र गरिरह्यौ । एक बोरा आलुभित्र एउटा आलु कुहिएको छ भने विस्तारै बोराको सबै आलु कुहाउँछ भनेजस्तै भयो । आदर र सत्कारले होइन, क्रोध र आक्रोशले भरिएका छौं हामी । अहम् भावना र क्रोधित मनले कहिले पनि समाज बनाउँदैन । आफूले केही गरेर देखाउने कुरा त परै छ अर्काले केही गर्न थाल्दा खुट्टा तानेर उसलाई पनि गर्न नदिने प्रवृत्ति पूर्णता: नत्याग्दासम्म समाजको विकास हुँदैन । यो कुराको व्यवहारिक बोध कहिले हुने ? मान्छे क्रोधले नै सकिन्छ । एउटा दल सरकारमा जाँदा अर्काले सडक तताउने, अर्को जाँदा अर्कोले केही पनि गर्न नदिने नेपालका राजनीतिक दलको आम प्रवृत्ति छ । अर्कोले गर्दा हुने काम आफूले नै गर्नुपर्ने र त्यसको जस आफैले पाउनुपर्ने अहम् भावना तोड्ने कसरी ?
देशको यही अवस्थाका बीच गैर आवासीय नेपालीहरुको आठौं विश्व क्षेत्रीय सम्मेलन हालै जापानको तातेसिनामा सम्पन्न भयो । एनआरएनको सम्मेलनमा सहभागी हुँदा माथिका सबै दृष्टान्त केवल विवशता हुन भन्ने बोध भएको छ । यदि हामी अरुका विवशताभित्र खुम्चिएनौ भने देश चाँडै माथि उठ्नसक्छ भन्ने विश्वास सम्मेलनले पैदा गराएको छ । नेपालको समृध्दीका लागि आर्थिक मार्गचित्र तयार गर्न केन्द्रित एनआरएनको आठौं क्षेत्रीय सम्मेलनले थुप्रै सम्भावनाहरुको उदघाटन गरेको छ । पहिलो यो सम्मेलनले तमाम समस्याका बाबजुत पनि नेपालमा केही गर्नुपर्दछ भन्ने कुराको बोध यसका सहभागीहरुलाई गराएको छ । नेपालमा लगानीका के के सम्भावना हुनसक्छन् भन्ने कुराको मूर्त छलफल पनि सम्मेलनमा भयो । विश्वका विकसित मुलुकमा गएर पनि सफल व्यवसायी बनेका एनआरएनहरुले अब कुरा मात्र गरेर हुँदैन काम सुरुवात नै गर्नुपर्छ भन्ने बोध सम्मेलनको अर्को सन्देश हो । माथि उल्लेखित बुझाई र व्यवहार एनआरएनहरुमा पनि भयो भने त्यो दुर्भाग्य हुने बोधसहित एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भने, ‘हामीले लगानी गरेनौं भने नेपालको विकास नै हुँदैन भन्ने होइन तर अब लगानी
केन्द्रित गरिएन भने अरु विदेशीहरुले सुरु गर्नेछन् । हामी पछि पर्नेछौं । हामीले आफ़्नो मुलुक आफैले बनाउनुपर्दछ ।’
एनआरएनको तातेसिना सम्मेलन अर्को अर्थमा पनि निकै सन्देशात्मक बन्यो । श्रम गरेर आधारभूत तहबाटै उठेका एकजना नेपालीको सफलता विश्वव्यापीरुपमा बाँड्न यो सम्मेलन सफल भयो । भवन भट्टको सफलता उनको मात्र सफलता होइन । ३ सय ३३ जना सहभागीहरुको व्यवस्थापन र त्यो पनि आफ़्नै घरमा जस्तै विचरण गर्न पाउन सामान्य कुरा होइन । आर्थिकरुपमा समृद्ध भएका देशबाट आएका सहभागीहरु समेत भवनको सफलता र उनको लगावबाट प्रभावित भए । एनआरएनका संस्थापक अध्यक्ष महतो र वर्तमान अध्यक्ष शेष घलेले भवनको सफलतालाई नेपालमा लागु गर्ने नै एनआरएनको सपना भएको बताए ।
जमिनमाथिको मात्र होइन, जमिन भित्रको भाग समेत सदुपयोग गरिरहेको विकसित मुलुक जापानमा सम्पन्न सम्मेलनमा एनआरएनहरुले अब रेमिट्यान्स मात्र बढाउने होइन, विदेशमा प्राप्त गरेको सफलता देशमा नै केन्द्रित गर्नुपर्ने जोड गरिरहँदा मैलै सुरुमा उल्लेख गरेका कुराहरु भुले । ठूलो कुरा व्यक्ति स्वयमको प्रतिवद्धता र लगाव हो । व्यक्तिको लगाव र प्रतिवद्धतालाई राज्यले संरक्षण मात्र गर्ने हो । सके राज्यले संरक्षण गर्नुपर्छ, त्यति नसके डिष्टर्व नगरे पनि नेपालमा धेरै काम हुनसक्छ भन्ने अनुभूति सम्मेलनमा भयो । स्वचालित यन्त्रसँगको जापानको दैनिकी नेपालमा लागु गर्न नसकिएला तर एनआरएनले आफूले सिकेको सिप र आर्जन गरेको सफलता भने अवश्य लागु गर्न सक्नुपर्दछ । तर, देशमा सामाजिक असुरक्षा छ, राज्यले सुरक्षा गर्दैन लगानीको वातावरण छैन भनेर बसेर मात्र कदापी हुँदैन । सुरुवात आफैबाट गर्ने हो । एनआरएनका उपाध्यक्ष तथा सफल व्यवसायी भवन भट्टले एनआरएनको आठौं सम्मेलन उदघाटन मन्तव्यका क्रममा भनेझै कुरा नगरेर काममा केन्द्रित हुन सके एनआरएनले नेपालमा अब नयाँ अध्याय सुरु गर्ने अवस्था छ । ***
(लेखक चलाउने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हुन)