नेपाल-जापान सम्बन्धको इतिहास हेर्ने हो भने आजभन्दा ११५ वर्ष अगाडि अर्थात सन १८९९ मा जापानी भिक्षु एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरु भएको देखिन्छ । नेपालको तर्फबाट भने सन् १९०२ मा पहिलो पटक ८ जना नेपाली विद्यार्थीहरु अध्ययनका लागि जापान आएका थिए । यसरी जापानमा नेपालीहरु आगमनको सुरुवात विद्यार्थीहरुबाटै हुनु हाल जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि गर्वको बिषय पनि हो ।
सन् २००० पछि जापान आउने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बृद्धि भएको पाइन्छ । जापानको सरकारी तथ्याङ्कअनुसार सन् २००० मा ३,६४९ जना रहेको नेपालीको संख्या १३ वर्षपछि अर्थात सन् २०१३ को अन्तमा आईपुग्दा त्यसको झण्डै १० गुणाले बृद्धि भई ३१,५३१ जना पुगेको छ । यस अवधिमा जापान आउने नेपालीहरुमा दक्ष कामदारकोरुपमा आउने कुकहरु, तिनका परिवार तथा बिद्यार्थी भिसामा आउनेहरु नै बढी छन् । सन् २०१३ को अन्तमा बिद्यार्थी भिसामा रहेका नेपालीहरुको संख्या ८,८९२ जना रहेको तथ्याङ्कले देखाउँछ । यो संख्या आगामी दिनहरुमा अझ बढि अनुपातमा बढ्ने निश्चीत प्रायः देखिन्छ । यस वर्षोको अप्रिलमा मात्र २ हजार भन्दा बढि नेपालीहरु विद्यार्थी भिसामा जापान आएको र आगामी अक्टोबर सेसनका लागि पनि करिब ३ हजार जनाको आवेदन परेको तथ्याङ्कले पनि यो कुराको पुष्टी गर्दछ ।
जापानमा विद्यार्थी भिसामा रहेकाहरु मध्ये अधिकांश भाषा विद्यार्थी र ब्यवसायिक स्कुल (सेन्मोन गाक्को) मा आवद्धहरु नै भेटिन्छन् । त्यसबाहेक बिभिन्न बिषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरिरहेका नेपाली विद्यार्थीहरु पनि यहाँ छन् । पछिल्ला केहि वर्षहरुमा जापानमा बिदेशी विद्यार्थीहरुको ठूलो हिस्सा ओगटेको चिनियाँ र कोरियाली विद्यार्थीहरुको संख्यामा कमी आएका कारण यहाँका जापानी भाषा विद्यालयहरुले नेपाल लगायत अन्य एशियाली देशलाई विद्यार्थीका वैकल्पिक स्रोतका रुपमा लिन थालेको पाईन्छ । त्यसैले उनीहरुले नेपालमा पनि सम्पर्क कार्यालय तथा कन्सल्ट्यान्सीहरु खोलेर आफ़्नो विद्यालयको प्रचार प्रसार गर्ने कार्यलाई तिब्रता दिन थालेका छन् ।
यसरी, एकातिर जापानी विद्यालयहरुले विद्यार्थीको स्रोतको रुपमा नेपाललाई लक्षित गर्नु र अर्कोतर्फ नेपालको बिभिन्न आन्तरिक कारणले गर्दा नेपाली युवाहरु कुनै पनि बहानामा बिदेश जान लालयित हुनुले माग र आपूर्तिको मेल खान जाँदा नेपाली विद्यार्थीको संख्या जापानमा बढ्दो छ । साथै, जापानको बालजन्मदरमा आएको कमीका कारण यहाँका विश्वविद्यालयहरुमा पढ्ने जापानी विद्यार्थीहरुको संख्यामा कमी आएकोले पनि बिदेशी विद्यार्थीहरुलाई महत्वका साथ जापान भित्र्याउने नीति जापान सरकारको रहेको छ । यसरी जापानमा आएर अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि आगामी दिनमा पनि राम्रो अवसर रहेको देखिन्छ ।
नेपाली विद्यार्थीहरुका लागि जापान प्रवेशको लागि मात्र राम्रो अवसर नभएर यहाँको शिक्षा राम्रोसंग पूरा गरेको खण्डमा यहाँका कम्पनीहरुमा रोजगारको पनि राम्रो अवसर देखिन्छ । त्यसैले, जापानलाई अवसरै अवसरको देशकोरुपमा परिभाषित गर्नेहरु पनि कम छैनन । जापानी भाषाको स्तर एक हदसम्म पार गरेमा यहाँ बिभिन्न अवसरहरु छन् ।
पछिल्लो समयमा देखिएको जापान-चीन तथा जापान-कोरिया सम्बन्धमा आएको भूमि सम्बन्धि विवादको समस्या तथा ति देशहरुको आर्थिक बिकासका कारण रोजगारको अवसर आफ़्नै देशमा भएकोले उनीहरु क्रमशः आफ़्नै देशमा फ़र्कन थालेका छन । यसो हुँदा अहिलेसम्म ठूलो संख्यामा रोजगारको हिस्सा ओगटेको चिनियां र कोरियाली जनशक्तिको स्थान बिस्तारै खाली हुँदै जाने बिश्लेषकहरुको अनुमान छ । उक्त रिक्त रहेको स्थान अब नेपाली विद्यार्थीहरुले लिन सक्ने देखिन्छ । साथै, अर्थतन्त्रको बिश्वब्यापिकरण संगै जापानी कम्पनीहरु पनि बिश्व बजारमा आफ़्नो स्थान बनाउन आफ़्ना उत्पादन केन्द्र तथा शाखा कम्पनीहरु बिश्वको बिभिन्न देशहरुमा बिस्तार गर्ने क्रममा छन् । जसका लागि हाम्रो छिमेकी राष्ट्र भारतलाई पनि एक प्रमुख गन्तब्यको रुपमा लिने गरिएको छ । सन् २०१३ को अन्तसम्ममा १,०५२ वटा जापानी कम्पनीहरुले भारतमा आफ़्नो शाखा कम्पनी स्थापना गरेका छन् भने २,५४२ कम्पनीहरुले सम्पर्क कार्यालय तथा उत्पादन केन्द्रहरु स्थापना गरिसकेका छन् । यस्ता कम्पनीहरुका लागि बिदेशको शाखाको जिम्मेवारी दिनका लागि अंग्रेजी तथा सम्बन्धित देशको भाषा सँस्कृतिको बारेमा जानकारी भएको कर्मचारीको आवश्यकता पर्दछ । त्यस्ता कर्मचारीहरुको अहिले जापानी कम्पनीहरुमा अत्यन्त खाँचो रहेको छ । थोरै धैय गरेर यस किसिमको दिर्घकालिन रोजगारको अवसर लिन चाहने नेपाली विद्यार्थीहरु यसका लागि उचित हुन सक्ने निश्चीतप्रायः छ । जसले सम्बन्धित विद्यार्थीको दिर्घकालिन क्यारियर पनि राम्रो बनाउँछ र आम्दानीको स्रोत पनि स्थायी हुन्छ ।
तर, दुःखको कुरो यसरी दिर्घकालिन फाईदाको बाटो अँगाल्ने नेपाली विद्यार्थीहरु जापानमा कमै भेटिन्छन् । त्यसो हुनुमा उनीहरुको आफ़्नै ब्यक्तिगत तथा पारिवारिक बाध्यता प्रमुखरुपमा देखिन्छन् । त्यो हो जापान आउनका लागि भएको दशौं लाखको लगानी (जुन अधिकांशले ऋण लिएर आएका हुन्छन्) । जसले गर्दा उनीहरु जापानमा पाईला टेकेकै भोलिपल्टदेखि आफ़्नो लगानी तथा आफ़्नो थाप्लोमा बोकेर आएको ऋणको साँवा ब्याजको हिसाब गर्न थाल्छन् र सकेसम्म छिटो त्यसबाट मुक्त हुनका लागि पैसा कमाउनमै ध्यान केन्द्रीत गर्न सुरु गर्छन् न कि जापान र यहाँको दिर्घकालिन अवसरको बारेमा बुझने तर्फ। फलस्वरुप पढाई भन्दा कामलाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसो हुँदा जापानमै दिर्घकालिन रोजगारका लागि आवश्यक पर्ने भाषा तथा ब्यवहारिक क्षमताको बिकास गर्नबाट वञ्चित भई सँधै अल्पकालिन उपायहरुको खोजीमै भौंतारिन बाध्य हुनुपर्छ ।
त्यसो त भाषा स्कुलबाटै जापानको यात्रा सुरु गरेर जापानको ठूला ठूला कम्पनीहरु तथा यहाँका विश्वविद्यालयहरुमा महत्वपूर्ण स्थान ओगट्न सफल नेपालीहरु पनि कम छैनन् । त्यसका लागि निश्चीत चुनौतीहरुलाई पार गर्न सक्नुपर्दछ । त्यस मध्ये पहिलो त भाषाको निपुणता नै हुन आउँछ । साधारणतयाः जापानमा दैनिक जिविकादेखि काम गर्ने ठाउँसम्म जापानी भाषा अनिवार्य सर्तको रुपमा लिईन्छ । कम्तिमा पनि साधारण कुराकानी गर्न सक्ने नभएसम्म यहाँको जीबन गाह्रो हुन्छ । बिशेषगरी विद्यार्थीहरुका लागि काम खोज्न जाँदा झन पहिलो आधारनै जापानी भाषाको क्षमतालाई लिने गरिन्छ । त्यसैले जापानी भाषामा निपुण हुनु पहिलो चुनौतीको रुपमा लिन सकिन्छ । दोस्रो, उसको पारिवारिक आर्थिक पृष्ठभूमिलाई मान्न सकिन्छ । किनभने माथि उल्लेख गरिएअनुसार जापानमा टेकेकै भोलिपल्ट देखि उसको ऋणको ब्याजको मिटर चढ्न थाल्छ र आर्थिक रुपमा दवाव पर्न थाल्यो भने उसले बाध्य भएर कसरी हुन्छ पैसा कमाउने अल्पकालिन उपायहरु अपनाउनुपर्ने हुन्छ । जसले गर्दा उसलाई आफ़्नो क्यारियरको बारेमा सोंच्ने फुर्सदै हुदैन । यदि उसलाई तुरुन्तै पैसा कमाउन दवाब छैन भने आफ़्नो दिर्घकालिन क्यारियरको योजनाका साथ उसले आफ़्नो पढाई लगायतका कुराहरुलाई अगाडि बढाउन सक्दछ । तर हामी नेपालीहरु अधिकांश मध्यमस्तरको पारिवारिक तथा आर्थिक पृष्ठभूमिबाट आएको हुनाले पहिलो विकल्प तर्फ लाग्ने विद्यार्थीहरुकै बाहुल्यता देखिन्छ । यति हुँदाहुँदै पनि दृढ इच्छाशक्तिका साथ पढाई र कामको सन्तुलन मिलाउन सकियो भने दिर्घकालिन रुपमा क्यारियरलाई बिकास गर्न पनि सकिन्छ । त्यसैले, सम्बन्धित ब्यक्तिको इच्छाशक्तिमा उसको भबिष्यको क्यारियर भर परेको हुन्छ ।
कतिपय विद्यार्थीहरु भाषा स्कुल हुँदै ब्यवसायिक स्कुल तथा कलेज सकिसकेपछि काम खोज्ने तरिका थाहा नपाएर दुःख पाएको पनि भेटिन्छ । जापानको कलेज तथा ब्यवसायिक स्कुलहरुमा पढाई सकिनु अघिल्लो वर्षदेखि नै बिभिन्न कम्पनीहरुमा कामका लागि आवेदन दिन पाउने ब्यवस्था हुन्छ ता कि उनीहरु पढाई सकिनासाथ काममा लाग्न सकून् । जसका लागि कलेजले नै कम्पनीका मानिसहरु बोलाएर कामको बारेमा जानकारी दिन लगाउने तथा कलेज भित्र नै विद्यार्थीहरुका रोजगारका लागि सहयोग गर्ने बिभागहरु स्थापना गरिएको हुन्छ । यदि समयमै उक्त बिभागमा नियमित रुपमा गई उनीहरुको परामर्श अनुसार तयारी गरेमा कलेजको पढाई सकेपछि रोजगारको समस्यामा अल्झिनु पर्दैन । कुनै पनि कलेजको मुल्याङ्कन त्यहाँबाट उतिर्ण गरेका कति प्रतिशत विद्यार्थीले रोजगारमा लागे भन्ने आधारमा हुन्छ । त्यसैले पनि कलेज तथा ब्यवसायिक स्कुलहरुले सकेसम्म धेरै आफ़्ना विद्यार्थीहरुलाई रोजगारमा लगाउन प्रयासरत हुन्छन् । यस किसिमको प्रणालीको पनि नेपाली विद्यार्थीहरुले बढि भन्दा बढि उपयोग गर्न सक्नुपर्दछ । तर अन्तिम समयमा आएर मात्र बिकल्पको खोजी गर्ने हाम्रो बानीले गर्दा धेरैले दुःख पाएको देखिन्छ ।
यसरी बिभिन्न खालका चुनौतीहरुको सामना गर्दै अवसरहरुलाई सदुपयोग गर्नका लागि जापान आउने विद्यार्थीहरुलाई उचित परामर्शको खाँचो पनि टड्कारो रुपमा देखिएको छ । त्यसका लागि सर्बप्रथमतः नेपालस्थित कन्सल्ट्यान्सीहरुले नै जापानको वास्तविक बस्तुस्थितिको बारेमा जानकारी लिनु आवश्यक छ । जसले गर्दा उनीहरु मार्फत जापान आउने विद्यार्थीहरुलाई उचित परामर्श दिन सकियोस । अर्कोतर्फ कतिपय कन्सल्ट्यान्सीहरुले यहाँको चुनौतीहरुलाई लुकाएर राम्रो राम्रा सपना मात्र देखाउँदा पनि समस्या उत्पन्न हुन गएको पाईन्छ । त्यसैले, त्यस्ता कन्सल्ट्यान्सीहरुले सत्य तथ्य सहितको जानकारी दिएर विद्यार्थी पठाउने गरेमा दुबै पक्षलाई फाईदा हुने देखिन्छ । साथै, जापानमा आईसकेपछि यहाँको भाषा स्कुलहरुले पनि उचित परामर्श दिन आवश्यक छ । जसले गर्दा उनीहरुको दैनिक जीवनदेखि भावी क्यारियरसम्म त्यसले सहि दिशा निर्देश गरोस । यति हुँदा हुँदै पनि सबैभन्दा जिम्मेवार त सम्बन्धित ब्यक्ति नै हुनुपर्ने देखिन्छ । अर्थात आफु जान लागिरहेको ठाउँ या देश र त्यहाँको बस्तुस्थितिका बारेमा सामान्य जानकारी लिएर आयो भने थोरै भएपनि मानसिक तयारीका साथ आउन सकिन्छ र आफुले सोंचेको र देखेकोमा त्यति धेरै फरक हुने छैन । जसले गर्दा यहाँ आईपर्ने समस्याको समाधान गर्न पनि सजिलो हुने छ ।
अन्तमा, आगामी दिनमा पनि निरन्तररुपमा बृद्धि हुने अनुमान गरिएको नेपाली विद्यार्थीको जापान आगमनलाई ब्यवस्थित र उपलब्धिमुलक बनाउन नेपाल देखि जापानमा रहेका सम्बन्धित निकायहरुले आफ़्नो ब्यवसायिक उद्देश्य भन्दा माथि उठेर जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । जसले गर्दा भबिष्यमा तिनै विद्यार्थीहरु नेपाल र जापान दुबै देशले सम्मानगर्न लायक बनुन् ।
(लेखक हाल जापानको चिवा युनिभर्सिटी अफ कमर्शमा अध्यापनरत छन्)