बेरोजगारी, गरिबी, अपांगता तथा बृध्दाहरुको सङ्ख्यामा बृद्धि, प्राकृतिक प्रकोप, बाढीपहिरो जस्ता समस्याहरु मुलुकमा प्रमुखरुपमा देखापरेका छन् । राजनीतिक अवस्थामा सुधारको संकेत नदेखिनु र दण्डहिनता बढ्दै जानाले आम मनिसहरुमा नैराश्यता थपिदै गएको छ । यस्तै समस्या बढ्दै जाने हो भने देश असफल राष्ट्रको सूचीमा पहिलो नम्बरमा पर्ने निश्चित छ ।
राजनीतिक नेतृत्वबाट आशा गरेअनुसारको सफलता प्राप्त नभए पनि पछिल्लो समयमा परोपकारी समाज निर्माणका निम्ति देश-विदेशबाट ठूलो सहयोग प्राप्त हुंदै आएका छन । सामाजिक कार्यका निम्ति पछिल्लो समयमा विदेशमा रहेका नेपालीबाट ठूलो सहयोग थपिदै गईरहेको छ । विदेशमा रहँदा आफ़्नो जन्मभूमिको यादले सताउने र आफु जन्मेको ठाउंमा केही गर्नुपर्छ भन्ने भावना बढ्दै गएको छ, यसले समाजमा परेका सामान्य समस्याहरु हल गर्न सजिलो हुंदै गईरहेको छ ।
प्रसंग हो जापानको, यस वर्ष पनि विभिन्न सामाजिक नाराहरुसहित तीजमा भिन्न-भिन्न ठाउंमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । अपांग-वालवालिका, बाढी-पहिरो पीडित, गरिब तथा जेहेन्दार विद्यार्थीको निम्ति छात्रबृत्ति, आपतकालिन अवस्थामा तुरुन्त सहयोग गर्नका निम्ति व्यक्तिगत तथा सामाजिक कोषहरु निर्माणार्थ विभिन्न ठाउ“मा कार्यक्रमहरु भए । म नेपाली ग्रुप, अन्तर्राष्ट्रिय नेपाली समाज, वि फर अल, स्याङ्जा समाज जापान, गल्कोट समाज जापान, गुल्मेली समाज, गोर्खा समाज, कास्की पोखरा समाज, म्याग्देली सञ्जाल, फुकुओका नेपाली सोसाइटी लगायतका अन्य थुप्रै सँस्थाहरु प्रमुखरुपमा देखापरे र सबैको एउटै लक्ष थियो सामाजिक कार्य । कलाकारहरु कोमल ओली, खुमन अधिकारी, टिका पुन, रमिला न्यौपाने, जानकी तरामी मगर, मञ्जु पौडेल, कला पंगेनी लगायतको उपस्थितिले आयोजकहरुले दर्शकहरुलाई पूर्णरुपमा मनोरञ्जन प्रदान गरे र लगभग सबै कार्यक्रमहरु सफल रहे ।
यसै बिषयमा विगतका वर्षभन्दा यो वर्ष तीजको कार्यक्रम सबैको राम्रो भएको बताउनुहुन्छ स्याङ्जा समाजकी उपाध्यक्ष जीवन अर्याल । साथै यस वर्ष एउटा सँस्थाको कार्यक्रम सकिएपछि अर्को सँस्थालाई खुलेरै सहयोग गरेकोले सबै कार्यक्रम सफल भएको र आपसी समझदारीको बिकास भएको बताउनुहुन्छ मातृभूमिका लागि युवा अभियान जापानकी कोषाध्यक्ष बिनिता सिंखडा ।
विदेशमा रहँदा धेरै काम गर्न संभव नभए पनि समयसमयमा आयोजना गरिएका कार्यक्रम, चन्दा संकलन तथा विभिन्न अभियानहरुले निकै ठूलो काम गर्ने गरेको पाईन्छ । कार्यक्रम आयोजना गर्ने समयमा आयोजकले कस्तो कार्यक्रम हो तथा त्यस कार्यक्रमबाट कसको निम्ति कुन ठाउंमा कति सहयोग भन्ने कुरा सुरुबाटै योजनासहित गर्न सक्यो भने चन्दादातालाई पनि भुक्तानी गर्न सजिलो हुने बताउनुहुन्छ पत्रकार तथा व्यापारी भूषण घिमिरे । यसरी आयोजना गरिएका कार्यक्रमहरुबाट आर्थिक संकलन गरिएकोले छिट्टै रकम सम्बन्धित पक्षलाई हस्तान्तरण गरिने संस्थाका प्रतिनिधिहरुले जानकारी गराएका छन् । आयोजकहरुले उद्देश्य बमोजिम सम्बन्धित पक्षलाई सहयोगराशी पठाउन ढिला गरिनु हुदैन ।
पछिल्लो समयमा परोपकारी काममा निकै ठूलो सफलता हासिल गरिरहेका हेल्प नेपाल नेटवर्क, हिमानी ट्रष्ट, रेखा फाउण्डेसन, विभिन्न रोटरी, रोट्रयाक्ट क्लबहरु लगायत अन्य थुप्रै संस्थाहरुले विपतमा परेकाहरुका निम्ति सहयोगीको भूमिका खेलेका छन् । नाम मात्रका लागि नभएर विभिन्न स्थानमा खोलिएका संस्थाहरु सामाजिक सहयोग गर्नको निम्ति अझ सशक्त रुपमा सफल रहुन् । बन्दै गरेको घरमा तपाईंको घर राम्रो बनोस् भनेर शुभकामना दिनुभन्दा एउटा इटा मात्र थपियो भने पनि त्यो घर चाँडो बन्दछ । अन्त्यमा, पत्रकार रविन्द्र मिश्रको भनाई सापटी लिदै सहयोग गर्नुहुने सम्पूर्णलाई जीवनभर खान पुगोस अनि दिन पुगोस । ***
( स्याङ्जा समाजका सचिवसमेत रहेका लेखक सुबेदी नेपाल पत्रकार महासंघ जापानमा आबध्द छन )