गाउँसहरका बस्तीदेखि देशपरदेशका झुपडिसम्मका नेपाली नारीमनहरुलाई एकैचोटी ब्यूँझाउँछ तीजले । यो तीज यति पावरफूल छ कि बर्षभरि हम्मेसी उत्साह र उमंगको सञ्चार नदेखिने महिलागणमा हिमाल, पहाड र तराईका सबै महिलाहरुलाई एकैचोटी जुरुक्क ब्यूँझाउँछ तीजले ।
थोरै शब्दप्रयोग गरेर भन्नुपर्दा माइती र चेलीबिचको अन्तरसम्बन्धलाई सँधै ताजा राख्न बर्षेनी नविकरण गर्ने पर्व हो तीज । धर्मकर्म, पूजापाठ र तिर्थव्रत जस्ता धार्मिक पक्ष एकातिर छँदै छन तीजपर्वका, अब तीजपर्व यतिमा मात्र सीमित रहेन, यो अब सामाजिक र साँस्कृतिक साझा पर्वकारुपमा बिकसित हुँदो छ । समाजका सबै जातजाति, वर्ग, समुदाय र आस्थाका नेपालीलाई यो पर्वले बर्षेनी एकचोटी सबैलाई पुलंकित तुल्याएको हुन्छ । यस्ता साँस्कृतिक पर्वहरुले सामाजिक एकता र सद्भावको जग बलियो बनाउन सदियौंदेखि मलजल गरिरहेका हुन्छन् । यो अत्यन्त असल पक्ष हो । यति हुँदाहुँदै तीज पर्व अनपेक्षित ढंगले भड्किलो बन्दै गईरहेको छ । समाज परिवर्तनका हिमायतीहरुका लागि यो अत्यन्त सोचनीय बिषय हो । समाजलाई त्यता जानबाट कसरी कम गर्न वा रोक्न सकिन्छ, एक-एक दुई भएजस्तै आफैबाट र आजैबाट सबैले मनन् गर्न जरुरी छ ।
माईत आएका टोलभरिका चेलीहरु माईतीको मझेरीमा पलेटी कसेर थपडि बजाउँदै पराई घरमा ब्यहोर्नुपरेका बुहार्तन र बेदनाका फोहोराहरु रातभर रातभर जाग्राम बसेर तीजेभाकामा ओकल्ने तीज अब एकादेशको कथा जस्तै भईसकेको छ । अब त ५ किलोको जरीवला सारी र नाईटो, भुँडी, पिठ्यूलगायतका कम्मरदेखि घाँटीसम्मको असीप्रतिशतभन्दा बढि भूभाग ढाकछोप गर्नै नपर्ने पारदर्शी ब्लाउजमा ठाँटिएका आधुनिक नेपाली चेलीको तीज धेरैगुणा परिष्कृत भईसकेको छ । बिकसित तीज मनाउने र दरखाने नाउँमा हाम्रा आधुनिक चेलीहरु महिनौ पहिलेदेखि महिनौ पछिसम्म निर्बाधरुपले बाहिरिने गर्दछन । मानौ उनीहरुलाई तीजको नाममा पुरै स्वतन्त्र छ, यो अवधिभर उनीहरुलाई श्रीमान, बच्चाबच्ची जहानपरिवार, घरब्यवहार, तिरोभारोको कुनै जिम्मेवारीले छुँदैन । आज किन ढिला ? भनेर विचरा बुबुरो पतिनारायणको सोध्ने अधिकार पनि कुण्ठित पारिएको हुन्छ यतिबेला । त्यसैले धेरै पतिनारायणहरुका लागि अचेल तीज दशा बन्ने गरेको छ, नभनेर मात्रै हो। आज पनि दरखानेको निम्तो, भोलि पनि निम्तो, पर्सी पनि निम्तो ! यसरी नै महिनौ दिनसम्म तीजको चक्करले नेपाली समाजले धान्नै नसक्ने गरी आर्थिक बोझ बोक्नुपरेको छ ।
समाजमा हुँदाखाने र हुनेखाने बिचको सीमारेखा कोरिएको छ । देखावटीकै लागि भए पनि लोकलाज जोगाउन र नखरा पार्न नेपाली समाज घिस्रिदै खर्चिलो तीजको भारी बोक्न बाध्य छ । यो गलत सँस्कारलाई चिर्न स्वयम महिलाहरुकै अग्रसरता र पहलकदमी भूमिका अपेक्षित छ । यसरी नेपाली समाजमा भड्किलो बन्दै गएको तीजको बिकृति देशभित्र मात्र नभएर देशबाहिर पनि ब्याप्त छ ।
जापानकै कुरा गर्ने हो भने पनि को भन्दा को कम ? जस्तै गरी देखासिकी र आडम्बर शैलीमा महंगा-महंगा गरगहना, सारी, पहिरन नेपालबाट मगाई सजिएर जापानका सँस्थै पिच्छेले दिनहुँजसो आयोजना गर्ने तीज कार्यक्रमहरुमा भागलिने प्रचलन अस्वभाविकरुपले बढ्दै गईरहेको छ । जापानको नेपाली समुदायमा जिम्मेवारी बहन र नेतृत्वदायी भूमिकाका हिसाबले महिलाको उपस्थिति शून्यप्रायः छ । बिभिन्न संघसंस्थाहरुमा पनि महिलाहरुको उपस्थिति, सक्रियता र सहभागिता उतिसारो छैन। तर तीजपर्व भने पछि टोकियोभरिका महिलाहरु एकैदिन एकैठाउँमा भेला गर्ने हैसियत राख्दछ यो पर्वले । यो कसरी संभव भयो भन्ने बारे यहाँका जिम्मेवार एवं जानेमानेका अगुवा महिलाहरुले सोच्ने बेलाआएको छ ।
उत्साह र उमंगको जादूमय हैसियत राख्ने यो पर्वलाई महिला सशक्तिकरण, चेतनामुलक एवं सन्देशमुलक महोत्सवकारुपमा उपयोग गर्ने कि, यसरी नै घरैपिच्छे, टोलैपिच्छे र बारैपिच्छे रेडिमेड एवं उरेन्ठेउला गानाबजानामा लाखे नचाएझैं नचाएर, उफ़्रेर बिना उपलब्धिका क्षणिक मनोरञ्जनमा मात्र सीमित राख्ने ? यो बिषयमा समाजका अगुवाहरुले मुख खोल्न जरुरी छ । यो पर्वको दीर्घकालिन र सामरिक महत्वलाई कम आँकलन गर्न र हल्कारुपमा लिन मिल्दैन । दूरगामी महत्व बोकेको यो पर्वलाई बेलैमा गलत दिशामा जानबाट रोक्ने हो भने आम नेपाली महिलाहरुमा तिब्र चेतनाको स्तर अभिबृद्धि गर्दे समाज परिवर्तनको दिशामा अभुतपूर्व सदुपयोग गर्न सकिने कुरामा दुईमत छैन । त्यसैले पनि यो पर्वलाई भड्किलो, उत्ताउलो र खर्चिलो हुनबाट जोगाउन जरुरी छ । त्यो काम आफैबाट र आजैबाट सुरु गरिएमा मात्र गौरवपूर्ण साँस्कृतिक सम्पदा तीज पर्वलाई भड्किलो हुनबाट जोगाउन सकिन्छ। अन्यथा ‘दिस इज भड्किलो तीज’ कै रुपमा आफ्नो मौलिक अस्तित्व गुमाउँदै झनझन कुरुप र बिरुपबन्दै जाने कुरालाई नकार्न सकिन्न ।
(साभार – नेपाली समाचार)