‘ओइ मोरी हेर न मसँग त यसपाली नयाँ साडी नै छैन भन्या, तिम्रो देऊ न है एक दिनका लागि । हेर न उजेली, यसपाली त म त्यो सुन्तलीको भन्दा धेरै गहना लगाएर कार्यक्रममा जाने विचार गरेकी छु । नेपालबाट झिकाएका गहना पनि आइपुगेका छन् ।
यी माथिका संवाद तीज नजिकिदैं गर्दा जापानका ब्यस्त महिलाहरुबीच पछिल्ला दिनहरुमा बाक्लै सुनिने गरेका संवाद हुन् । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको आगमनसंगै जापानका महिलाहरुलाई पनि बर्षेनी चटारोले छोप्ने गर्दछ । महिनौ अगाडिदेखि नेपालबाट साडी, ब्लाउज, चुरा, पोते र सुनका गरगहना झिकाएर तीजभरि सजिएर आफन्तकहाँ दर खान जाने, कार्यक्रममा गएर धितमरुञ्जेल नाचगान गर्ने चलन ह्वाट्टै बढेको छ ।
केहि वर्ष अगाडिसम्म सीमित समुदायका महिलाहरुमा मात्र उल्लास छाउने यो पर्व अब सबैको साझा र साँस्कृतिक पर्वका रुपमा रुपान्तरित भएको छ । पछिल्ला दिनहरुमा आएर पुरुषहरुलाई पो यो पर्वले अझ बढि छुने गरेको पाईन्छ । तीजका कार्यक्रमहरुमा जता पनि महिला बराबर पुरुषहरु पनि नाचेर, उफ़्रेर रमाईरहेका हुन्छन् ।
धार्मिक दृष्टिले भन्दा अब यो पर्व साँस्कृतिक र सामाजिक धरोहरकारुपमा स्थापित भईसकेको छ । प्रवासमा नेपाली एकताका लागि यो सकारात्मक पक्ष मान्न सकिएला ।यद्यपि पर्वको नाममा गर्व गर्न लायकका मौलिकता हराउँदै जान थालेकोप्रति भने समाजका अगुवाहरु चिन्ता ब्यक्त गर्न थालेका छन् । उनीहरु भन्छन् – उहिलेका तीजमा माइतीको मझेरीमा बसेर दर खाँदै चेलीको बुहार्तनका पीडालाई तीजे भाकामा सर्लक्कै उनेर तीजे गीत गाईन्थ्यो अचेल भने जमाना फेरिएको छ । आधुनिकताको नाममा तीज सँस्कृतिमा जबरजस्ती विकृति थोपरिएको छ । चाहे त्यो तीजबिशेष गीतसंगीतमा होस् या गरगहना र भेषभूषा र फेशनमै किन नहोस् । ब्यस्तताभित्र महिनौ तीज मनाउने चलन, देखासिकी प्रबृत्ति, महंगा फेशन र गरगहना प्रदर्शनले प्रवासमा तीजको बहुआयामिक महत्वमाथि धावा बोलेको छ, यसतर्फ समाजका सचेत महिलाहरुको ध्यान जानु आवश्यक छ ।
तीज पर्वको बिषयमा जापानकी समाजसेवी अग्रज महिला इन्दिरा सुजुकी भन्छिन् – जमानाअनुसार तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ, बिदेशमा दुख गरेर आर्जन गरेको कमाईलाई आफ़्नो इच्छा र रहर पुरा गर्न खर्च गर्न पाउनु स्वभाविकै हो । बर्षको एकचोटी दिदीबहिनीहरु तीजका श्रृँगाररमा मनखोलेर रमाउने र मनका पीरमर्काहरु बिर्सने पर्व हो तीज । सबैका आ-आफ़्ना चाहना हुन्छन् कमाएर मात्र के गर्ने खर्च गर्ने अवसर पनि हो यो महिलाहरुका लागि । यसो भन्दैमा तीजको मौलिकता नै कुरुप हुने गरी बिकृति र बिसंगति भित्रन दिनु हुँदैन यसबारेमा समाजका सबै जिम्मेवार हुनैपर्छ ।
यसैगरी ५ वर्षअघि जापान आएकी साइतामा निवासी पार्वती केसी भन्छिन् – उहिले तीज आउँदा के के नै आएजस्तो हुन्थ्यो, तीजको कति महत्व हुन्थ्यो । अचेलका तीजमा खासै आकर्षण छैन, रौनक छैन । जताततै कार्यक्रम नै कार्यक्रम । जोगीभन्दा खरानी धेरै भनिएझैं आवश्यकताभन्दा बढ्ता कार्यक्रम भएर पनि यसको महत्व बढ्नुको सट्टा झन घटेर गएको छ । सस्ता लोकप्रियताका लागि तीज पर्व उपयोग हुन थालेको छ । यो पर्वलाई नारी जागरण र सशक्तिकरणका लागि अवसरकारुपमा उपयोग गर्नुपर्नेमा केवल मनोरञ्जनका लागि मात्र उपयोग भईरहेको छ । मनोरञ्जनले मात्र समाजलाई खासै केहि दिदैन ।
उता नागोया बस्दै आएकी नारायणी सापकोटा अधिकारीको विचार भने अलि भिन्न छ । उनी भन्छिन् – विदेशको ठाउँमा सवै व्यस्त हुन्छन् एक दिन भए पनि समय मिलाएर यस्तो पर्व मनाउनु राम्रो कुरा हो । ब्यस्तताका कारण वर्षभरिको थकानलाई बिसाउने अवसरकारुपमा पनि तीज पर्व मनाईनु उचित मानिन्छ ।
जापानको सन्दर्भमा तीज पर्व औपचारिकरुपमा मनाउने थालनीको श्रेय छक्कू उदासी, इन्दिरा सुजुकी लगायतका अग्रज महिलाहरुलाई जान्छ । १५, २० जना महिला भेला भएर मनाउने परम्पराको थालनीलाई निरन्तरता प्रदान गर्दै हुकाईएको यो सँस्कार अहिले फरक रुप धारण गर्न थालेको बताउँछन् अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष शालिकराम भण्डारी । भण्डारी अगाडि भन्छन् – नारीहरुको पर्व तीजमा नारीहरुकै सक्रियता एवं आयोजनामा मौलिक तीज मनाउने परम्परा पछिल्ला दिनमा आएर तोडिएका छन् । संघसंस्थाहरुबीच फेशनकारुपमा तीज कार्यक्रमको आयोजना गर्ने अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ । जसले गर्दा समाजलाई जुटाउने भन्दा फुटाउने काम भएको छ । यसलाई ब्यवसायकारुपमा आयोजना गर्ने, कलाकार ल्याएर हलमा प्रदर्शन गर्ने, तीजका नाममा असम्बन्धित गीतहरु गाउने बजाउने सँस्कार जबरजस्ती थोपरिएको छ । सस्तो लोप्रियताका लागि तीज उपयोग हुन थालेको छ । महिनौसम्म दर खाने, देखासिकी र श्रृँगारमा रमाउने प्रथाले मलजल पाएको छ । समग्रमा भन्नुपर्दा इतिहास मेटिएको छ ।
दुइ वर्षअघि जापान आएकी रुपा खड्गी (नाम परिवर्तन) भन्छिन् – विवाहित नारीका लागि सौभाग्यको प्रतिक तीज पर्व मनाउनुभन्दा पनि गरगहना र महंगा लुगाको फेशन देखाउने पर्वको रुपमा विकास हुँदैछ । जसका कारण हामीजस्ता जिउमा सामान्य रातो धोती, हातमा चुरा, गलामा एउटा तिलहरी मात्र झुण्डाउनेहरुलाई कागको बथानमा बकुल्ला हुनुपर्ने स्थिति छ । तैपनि रमाइलो गर्ने त हो नि भन्ने सोचले कार्यक्रमतिर गईहाले पनि अरुका लागि हँसिमजाकको पात्र बनिन्छ ।
पहिले पहिले कति रमाइलो हुन्थ्यो आफ्नै घरमाइतीमा बसेर परिवारसँगै मीठो मसिनो जे भएपनि सन्तुष्टिकासाथ खाइन्थ्यो जिउमा सौभाग्यसूचक एकसरो रातो लुगा, एक त्यान्द्रो पोते लगाएर पनि मन खोलेर हिंडिन्थ्यो, दिदीबहिनी, साथीसंगी मिलेर तीजेभाकामा जानीनजानी मादल ठोक्दै नाचगान गरिन्थ्यो ।अहिले त तीजमा पनि रत्यौलीमा जस्तै उत्ताउला गीतहरु बजाएर नाच्ने चलन बढेको छ ।यसबाट प्रष्ट हुन्छ कि हाम्रो तीज अब कता जाँदैछ ?
उहिलेका तीज र अहिलेका तीजमा आकाश जमिनको फरक देखिन थालेको बताउँछिन नारी कुञ्जकी अध्यक्ष छक्कू उदासी । १२, १४ जना महिलाहरु भेला गराएर जापानमा औपचारिकरुपमा तीज मनाउने प्रचलनको थालनी गरी वर्षौसम्म तीज कार्यक्रमलाई निरन्तरता दिदैं आएकी उदासी अगाडि भन्छिन् – जापानको सन्दर्भमा पहिलेका तीजमा श्रद्धा-भक्तिकासाथ नारीहरु मात्रैले मनाउने गर्थे, नारी बेदनाका शब्दलहरी सुन्नेहरुलाई धुरुक्कै रुवाउने खालका हुन्थे । अहिले त जहाँ पनि जसरी पनि महिलाहरुको तीजको नाममा पुरुषहरुको हालीमुहाली हुने गरेको छ । अर्को शब्दमा भन्नुपर्दा महिलाहरुको तीजमाथि पुरुषहरुको हस्तक्षेप भएको छ, प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिलाहरुमाथि शोषण भएको छ । तीजे भाकाका नाममा सुन्नै नसकिने खालका उत्ताउला र भडि्कला फोहोरी दोहोरीले स्थान पाउन थालेका छन् । यहि ताल हो भने नारीहरुको महान चाड तीज किन भन्नुपर्यो ? खास तीजको भावना र मर्म हराउँदै गएको छ । यो चिन्ताको बिषय हो ।
पौराणिक कालमा पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँ भनी निराहार व्रत बस्ने, भजन-किर्तन गर्ने गरेको कारण उनको मनोकामना पुरा भएको मानिन्छ । सोही समयदेखि नै तीज पर्व मनाउँदै आइएको यो पर्वमा अविवाहित महिलाहरु मनले रोजेको जीवनसाथी पाउँ भन्ने कामना र विवाहित महिलाहरु जीवनसाथी र परिवारको स्वास्थ्य र दिर्घायुको कामना गर्दै यो पर्व मनाउँछन् । विशेष गरी ३ दिन मनाइने यो पर्व दर खाने दिनसँगै शुरु हुन्छ । चेलिबेटी माइतीघरमा भेला भई मीठो परिकार खाने, नाचगान गर्ने, गीतको माध्यमबाट कर्मघरमा भोगेका तितामीठा भोगाइ बिसाउने चलन रहिआएको छ । दोस्रो दिन निराहार ब्रत बसी कथा सुन्ने र तेस्रो ऋषिपञ्चमीको दिन पूजाआजा दानदक्षिणा गर्ने दतिउन टोक्ने तथा शुद्धजल स्नान गरी विधिवत रुपमा तीज पर्व समापन गरिने चलन छ । ***