Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

madhav nepal17हामी पार्टीको नवौँ महाधिवेशनको पूर्वघडीमा छौँ । महाधिवेशनलाई लिएर पार्टी पङ्तिमा बहस, छटपटी, जिज्ञासा र चिन्तासमेत देखिएको छ । जति प्रश्नहरु उठेका छन् तिनलाई मार्क्सवाद र जनताको बहुदलीय जनवादका आधारमा समाधान गर्न सकियो भने नेकपा एमाले नयाँ गति र उचाईमा अगाडि बढ्ने छ । यदि यो छटपटी र उठेका प्रश्नहरुको समाधान हुन सकेन भने पार्टीका अगाडि अझ ठूल्ठूला चुनौतिहरु थपिँदै जानेछन् । यस पार्टीको निर्माणका लागि तात्कालिन नेकपा मालेको स्थापनाकालदेखि नै सक्रिय रहेको एउटा अगुवा सदस्यका हिसाबले पार्टीका सामु अहिले आएका चुनौति र सम्भावना, पार्टी र मुलुकको राजनीतिको एउटा सहभागीका हिसाबले मेराबारे भएका केहि प्रचारहरु र नवौँ महाधिवेशनमा पार्टीको अध्यक्षको जिम्मेवारी लिनका लागि तयार रहन तपाईँहरुले गर्नु भएको आग्रहका बारेमा आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा तपाईहरुप्रति धन्यवाद ज्ञापन गर्दछु ।
कतिपयले पहिलो पुस्ताका नेताहरुका महत्वाकाङ्क्षाहरुको व्यवस्थापन गर्नु नै नवौँ महाधिवेशनको एजेण्डा हो भन्ने हिसाबले प्रचार गरिरहेका छन् र यो या त्यो नेताका विरुद्ध आम कार्यकर्तालाई विभाजित गर्ने प्रयास गरेका छन् । देशका विभिन्न भागमा गरिएका केहि भेलाहरुमा पार्टीका भावी नेताहरुको क्रमानुसार नामावली घोषणा गरिएको छ । समाज र राजनीतिलाई यस्थास्थितिवादी कोणबाट हेर्दा नवौँ महाधिवेशनको काम नेताको निर्वाचन गर्नु मात्रै हो । तर मार्क्सवादी तथा जनताको बहुदलीय जनवादी आँखाले हेर्दा हाम्रो समाज र राजनीतिमा आएको ऐतिहासिकरुपले महत्वपूर्ण परिवर्तन र तिनको विकासलाई बुझ्नु पर्नेछ, जननेता कमरेड मदन भण्डारीको अगुवाइमा स्थापित भएको जनताको बहुदलीय जनवादलाई परिवर्तित परिस्थिति अनुरुप अझ विकसित र समृद्ध गर्नु पर्ने र पार्टीलाई अहिले हाम्रा सामु देखा परेका चुनौतिहरुको सामना गर्न र सम्भावनाहरुलाई प्राप्त गर्न सक्ने गरी पुनव्यवस्थित गर्नु पर्ने छ । एउटा कोणबाट हेर्दा पार्टीका अगाडि कुनै नयाँ सम्भावनाको ढोका खुलेका छैनन्, हामीले जे गर्दैछौँ त्यो नै पर्याप्त छ । अर्को कोणबाट हेर्दा नेकपा एमाले छोटै समयमा कम्युनिष्ट आन्दोलनको केन्द्र बन्न सक्ने, राष्ट्रलाई एकतावद्ध पार्दै मुलुकको समृद्धिको नेता बन्न सक्ने र १५/२० वर्षभित्रै मुलुकलाई विकासको नयाँ उचाईमा पुर्‍याउन र समाजवादका आधार तयार पार्न सकिने स्पष्ट सम्भावना देखा परेका छन् । एउटा कोणबाट हेर्दा पार्टीका सामु कुनै नयाँ चुनौति थपिएकै छैनन्, अर्को कोणबाट हेर्दा पार्टीमा व्यक्तिवादी गुटबन्दी संस्थागत बन्दै गएको छ, अराजनीतिक प्रवृत्तिहरु हुर्किँदै छन्, श्रमजीवी वर्गबाट पार्टी अलग–थलग हुन थालेको छ, जीवनशैली खर्चिलो बन्दै गएको छ र त्यसका लागि जेसुकै पनि गरेर सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले टाउको उठाउन खोज्दैछ, पार्टीको काम भनेको संसदीय निर्वाचनमात्रै हो भन्ने मनोविज्ञान स्थापित हुँदैछ र त्यसका लागि समाजका बहिष्कृत आवारा–गुण्डाहरुको समेत प्रयोग हुने खतरा बढ्दै गएको छ । सङ्क्षेपमा, पार्टीका सामु गम्भीर चुनौति देखिएका छन् जसको सामना गर्नु पर्नेछ ।
कमरेडहरु ! उपरोक्त सन्दर्भमा मैले आफुलाई माक्र्सवादको, जनताको बहुदलीय जनवादको, पार्टीको अग्रगति र मुलुकको समृद्धिको कित्तामा उभिएको घोषणा गर्दछु । तपाईहरुले पनि आफुलाई त्यसै कित्तामा राख्नु भएको छ र पार्टीलाई नयाँ नेपालको निर्माण गर्ने नयाँ पार्टीकारुपमा पुनर्गठित गर्न सङ्गठित हुनु भएको छ । तपाईहरुको यस प्रयत्नलाई म सराहना गर्दछु र सम्पूर्ण पार्टी पङ्तिलाई त्यसै कित्तामा उभिन आह्वान गर्दछु । सैद्धान्तिक, राजनीतिक, साङ्गठानिक हिसाबले नेतृत्व गर्न सक्ने सुझबुझ, अध्ययन र सङ्कल्पका साथ तपाईहरु जसरी अगाडि आउनु भएको छ त्यसमा सन्तोष र खुसी व्यक्त गर्न चाहन्छु । साथै, अहिले पार्टीमा चलेका बसहलाई नजिकबाट हेर्न, बुझ्न र पार्टी र मुलुकको विकासको पक्षमा योगदान गर्न देशभरिका र प्रवासमा रहेका पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुलाई आह्वान गर्दछु ।

नवौँ महाधिवेशनका सन्दर्भमा हामीले नेपाली समाज र राजनीतिका विषयमा असाध्यै महत्वपूर्ण विषयहरुमा बहस–छलफल गर्दैछौँ । हामी अहिले नेपाली समाज र क्रान्तिको विकासको कुन अवस्थामा छौँ भन्ने प्रश्न नै यस बहसका मुख्य कुरा हुन् । पार्टीको स्थापनाकालदेखि हामीले नेपाली समाज ‘अर्धसामन्ती–अर्धऔपनिवेशिक’ भन्दै आएका हौँ तर अहिले पार्टीमा नेपालीको विकासमा देखापरेका परिवर्तनका आधारमा समाजको चरित्रबारे नयाँ उचाइबाट छलफल गर्दैछौँ । दोश्रो, हामीले २०६२/६३ को जनक्रान्तिद्वारा मुलुकको राजनीतिमा जुन परिवर्तन ल्याएका छौँ त्यसको स्तर र चरित्रका बारेमा छलफल गर्दैछौँ । यसले हामी नेपाली क्रान्ति तथा राजनीतिक विकासको कुन अवस्थामा छौँ भन्ने कुराको किटानी गर्नेछ । तेश्रो प्रश्न २०६२/६३ को ऐतिहासिक परिवर्तनपछि नेपाली क्रान्तिको दिशा के हो अथवा नेपाली क्रान्ति कसरी अगाडि बढ्छ भन्ने हो । ऐतिहासिक भौतिकवादका आधारमा यी प्रश्नको समाधान गर्दा हामीले जनताको बहुदलीय जनवादलाई अर्को नयाँ उचाईमा विकसित र समृद्ध गर्नेछौँ ।
जमिनमा स्वामित्व भएकै कारणले शासन गर्ने अधिकार पनि स्थापित हुने सामाजिक–आर्थिक व्यवस्था सामन्तवाद हो । संसारका सबैजसो समाजझैँ नेपाली समाजमा पनि दुइहजार वर्षसम्म त्यस्तो व्यवस्था कुनै न कुनै रुपमा रह्यो । तर पुँजीवादको विकास र सामन्तवाद विरोधी राजनीतिक सङ्घर्षको क्रममा त्यो कमजोर हुँदै गयो । पुँजीवादको विकासले राजनीतिक सङ्घर्षकालागि भौतिक अवस्था तयार हुँदै गयो भने राजनीतिक सङ्घर्षले सामन्ती उत्पादन तथा राजनीतिक व्यवस्थालाई कमजोर पार्दै गयो । खासगरी २००७ सालपछि सामन्तवादको विघटन तीब्र हुँदै गयो । यसै क्रममा हामीले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापित गरिसकेका छौँ । अब नेपालमा सामन्ती आर्थिक र राजनीतिक व्यवस्था अन्त्य भैसकेको छ । सामन्तवादका अवशेषका विभिन्नरुपहरु अझै पनि छन्, तिनीहरु लामो समयसम्म रहन सक्छन् तर ती अवशेषहरुले आजको नेपाली समाजको चरित्र निर्धारण गर्दैनन् । त्यसैले नेपाली समाज आधारभूतरुपले पुँजीवादी भैसकेको छ । यो तथ्यलाई हामीले बुझ्नु पर्छ ।
राणाकालमा नेपालको राज्य बेलायती साम्राज्यको ‘नियन्त्रण’ मा गएको निष्कर्षका आधारमा नेपाललाई कमरेड पुष्पलालले ‘अर्धउपनिवेश’ भन्नु भएको थियो । वस्तुतः नेपाल कहिल्यै पनि साम्राज्यवादको प्रत्यक्ष नियन्त्रणमा रहनु परेन । विभिन्न कालमा राष्ट्रको अस्तित्वमाथि खतराहरु नआएका होइनन् तर हाम्रा पुर्खाले यसको स्वतन्त्रताको रक्षा गरे । साथै, २००७ सालपछि नेपाल सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा अन्तरराष्ट्रियरुपले पनि परिचित र स्थापित हुँदै गयो । संयुक्त राष्ट्र सङ्घको सदस्य, असंलग्न आन्दोलनको संस्थापक सदस्य हुँदै अहिले अनेकौँ अन्तरराष्ट्रिय संस्थाहरुमा नेपालले स्वतन्त्र राष्ट्रको हैसियतमा प्रतिनिधित्व गरेको छ । यसको अर्थ हामीमाथि विभिन्न खालका नवऔपनिवेशिक चरित्रका दबाब र थिचोमिचोहरु छैनन् भन्ने होइन, हाम्रा विरुद्ध त्यस्ता गतिविधिहरु भएका छन् । नेपाली जनताले ती सबै दबाबहरुको प्रतिवाद गरेका छन्, सङ्घर्ष गरेका छन् र कम्युनिष्ट पार्टी त्यस्तो सङ्घर्षमा सँधै अगाडि रहिआएको छ । हामीले नेपाल कसैको उपनिवेश होइन, आफै एउटा सार्वभौमत्तासम्पन्न राष्ट्र हो भन्ने तथ्य र मान्यताका आधारमा हाम्रा विरुद्ध हुने कुनै पनि बलमिच्याईँको विरोध गर्दै आएका छौँ । हाम्रो समस्या राष्ट्रिय स्वाधीनता प्राप्तीको होइन किनकि नेपाल सधैँ स्वाधीन रहँदै आएको छ । समस्या नेपालको स्वाधीनताको रक्षाको हो । हाम्रो राष्ट्रिय हित, मर्यादा र स्वतन्त्रताको पक्षमा हामी अझ बढी सचेत रहनै पर्छ र हाम्रो स्वाधीनता र स्वतन्त्रताको विरुद्ध हुने कुनै पनि प्रकारको गतिविधिको विरुद्ध प्रतिवाद गर्नै पर्छ ।
२०६२÷६३ को जनक्रान्तिले राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको छ । लोकतान्त्रिक गणतन्त्र संवैधानिकरुपले संस्थागत भएको छ । अब कुनै पनि व्यक्ति, परिवार, कूल वा वंशका विशेषाधिकारहरु छैनन् । महिला, दलित, जनजाती, मधेशी, अल्पसङ्ख्यकहरुका अधिकारहरु संविधानमा संस्थागत भएका छन् । सामन्तवादमा विकसित राजनीतिक तथा कानूनी व्यवस्था अन्तरगत बनेका राजनीतिक संस्थाहरुमध्ये राजतन्त्र प्रमुख थियो । त्यसको अन्त्य हुनु नेपालको राजनीतिक विकासका सन्दर्भमा ऐतिहासिक घटना हो । यसैलाई पुँजीवादी जनवादी क्रान्ति भनिन्छ । युरोपमा यस्तो क्रान्तिको नेतृत्व पुँजीपति वर्गको नेतृत्वमा सम्पन्न भएको थियो भने चीनलगायत अन्य कतिपय मुलुकहरुमा श्रमजीवी वर्गको नेतृत्वमा भएको थियो । तर नेपालमा सम्पन्न भएको यस क्रान्तिको नेतृत्व न पुँजीपति वर्गले मात्रै ग¥यो न श्रमजीवी वर्गले मात्रै, बरु यो क्रान्ति श्रमजीवी वर्गको मुख्य नेतृत्व र पुँजीपति वर्गको समेत सहभागीतामा संयुक्तरुपले सम्पन्न भएको छ । अर्थात् नेपालमा पुँजीवादी जनवादी क्रान्तिका राजनीतिक कार्यभार आधारभूतरुपले पूरा भएको छ । यस तथ्यलाई हामीले ध्यान दिनु पर्छ ।
नेपाली समाज आधारभूतरुपले पुँजीवादी छ भन्नुको अर्थ अब हामी सोझै समाजवादी कार्यक्रमका लागि तयार छौँ भन्ने होइन किनकि यो पुँजीवाद विकासको स्तरका हिसाबले प्रारम्भिक अवस्थामा नै छ । पुँजीको चरित्रका हिसाबले जुन मात्रामा दलाल वा नोकरशाही पुँजीको विकास भएको छ त्यसको तुुलनामा उद्यमशील पुँजीको विकास भएको छैन । त्यसले गर्दा परम्परागत कृषिमा ठूलो श्रमशक्ति अल्झेको छ । जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा संलग्न हुनु तर राष्ट्रिय आयमा त्यसको योगदान सानो हुनुको कारण उद्यमशील पुँजीको न्यूनता नै हो । पुँजीको यस्तो चरित्रका कारणले हाम्रो पुँजीवादी विकासको चरित्र पराश्रयी छ । अर्थतन्त्रको पराश्रयी चरित्रले राजनीतिक पराश्रय र राजनीतिक पराश्रयले आर्थिक पराश्रयलाई बढाउँछन् । यसरी राष्ट्रको स्वतन्त्र निर्णय गर्ने क्षमता कमजोर हुँदै जान्छ, वैदेशिक हस्तक्षेप बढ्छ । आज हाम्रो राष्ट्रियताका समस्यालाई पनि यो अर्थराजनीतिक सन्दर्भमा विश्लेषण गर्नु पर्छ । अर्कोतर्फ, भौगोलिक हिसाबले हाम्रो पुँजीवादी विकास धेरै अगाडिदेखि असमानरुपमा भयो । असमान पुँजीवादी विकासको कारणले गर्दा देशका विभिन्न क्षेत्र र ती क्षेत्रमा बस्ने जनताको बीचमा असमानता उत्पन्न भए । कुनै क्षेत्र तुलनात्मकरुपले केहि विकसित र अरु क्षेत्र अविकसित भए । जसले गर्दा क्षेत्रीय र जातीय समस्याहरु देखापरे । सङ्क्षेपमा, आज हामीमाथि भएका बाह्य थिचोमिचोका समस्या अर्थात् राष्ट्रियताका समस्या, मुलुकको गरिबी अर्थात् वर्गीय समस्या र जातीय तथा क्षेत्रीय समस्या अर्थात् पहिचानका समस्याहरु मूलतः एउटै अर्थराजनीतिक जरोबाट निस्केका रुखहरु हुन् । अर्थात् हाम्रा समस्याहरुको मुख्य जरो राष्ट्रिय पुँजीको निर्माण नहुनु हो । त्यसैले आजको हाम्रो मुख्य कार्यभार राष्ट्रिय पुँजीको विकास गर्नु हो ।

अब नेपालका अगाडि दुईवटा बाटा छन् ः एउटा बाटो पुँजीवादको स्वच्छन्द विकासको बाटो हो, जुन बाटोले नेपाली समाजलाई विश्व पुँजीवादको पुच्छर बनाउँछ । त्यसले नेपाललाई विश्व पुँजीवादी उत्पादनको बजारमात्रै बनाउँछ । दोश्रो राष्ट्रिय पुँजीको विकास गर्दै आर्थिक विकासमा श्रमजीवी वर्गको नेतृत्वलाई स्थापित गर्दै समाजवादतर्फ जाने बाटो हो । हाम्रो बाटो दोश्रो हो । अन्य बुर्जुवा पार्टीहरुले पनि आर्थिक विकास र सुशासनको कुरा गर्न सक्छन् तर उनीहरुको विकास र सुशासन दलाल पुँजीपति वर्गको हितमा आधारित हुनेछ जबकि हाम्रो विकास र सुशासन श्रमजीवी वर्र्ग र आम जनताको हितमा आधारित हुनेछ । त्यसको अर्थ स्पष्ट छ ः राष्ट्रिय पुँजीको तीब्र विकास र न्यायपूर्ण वितरण नै समाजवादको आधार हो । यस क्रममा हामीले हाम्रो देशको गरिबी र पछौटेपनलाई अन्त्य गर्छौँ, श्रमजीवी जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता समस्यालाई समाधान गर्छौँ; योजनावद्ध विकासको माध्यमबाट पछाडि पारिएका लिङ्ग, जातजाती, क्षेत्रको विकास गर्छौँ र जातजाती, भाषा, क्षेत्रको समाज विकासमा आधारित राष्ट्रिय एकतालाई सुदृढ पार्छौँ र आत्मनिर्भर, स्वाधीन अर्थतन्त्रको जगमा राष्ट्रिय स्वतन्त्रता तथा स्वाधीनताको रक्षा र विकास गर्दै समाजवादको आधार तयार गर्छौँ । अब हाम्रो विचार, सिद्धान्त, सङ्गठन, आन्दोलन तथा जनपरिचालन, आचरण–व्यवहार यिनै दुईवटा कुरामा केन्द्रित हुनुपर्छ । अब हरेक नेता, कमिटी, सदस्य, जनसङ्गठन र तिनका सदस्यको मूल्याङ्कन राष्ट्रिय पुँजीको विकास, लोकप्रिय आन्दोलनमा सहभागीता, जनताका समस्या र चाहानाको सम्बोधन र न्यायपूर्ण वितरणमा उसको योगदानका आधारमा हुनेछ । कुन कमिटी वा कुन सदस्यको योग्यता र क्षमताको स्तर के छ भन्ने कुराको मापदण्ड स्पष्ट भएपछि आजको पार्टी निर्माणको प्रश्न पनि स्वतः समाधान हुन्छ ।
नेपाली समाज र राजनीतिको उपरोक्त विश्लेषण र कार्यभारसम्बन्धी निष्कर्षहरु हाम्रो पार्टीका लागि ऐतिहासिक महत्वका छन् । किनकि तिनले हामीलाई सैद्धान्तिक, राजनीतिक र साङ्गठानिकरुपले नयाँ चरणमा उठाउँछन् । यी नयाँ निष्कर्षहरुको महत्वलाई पार्टीमा राम्ररी स्थापित गर्न सकिएन भने आजको युगको पार्टी निर्माण हुन सक्दैन । यी विचारहरु आठौँ महाधिवेशनदेखि औपचारिकरुपमा प्रवेश गरेका थिए । त्यसपछि यी विचारहरुलाई स्थापित गर्न युवा कमरेडहरु लागिरहनु भयो, विभिन्न कमरेडहरुले बहस–छलफलमा भागलिँदै जाने क्रममा अहिले यी विचारहरु पार्टीकै विचार बन्दैछन् । विचार निर्माणका विषयलाई गुटबन्दीको आँखाले हेरेर सकेसम्म पार्टीमा विचारको छलफल हुनै नदिने प्रयासहरु अब असफल भएका छन् । तर पार्टीले गर्न लागेका महत्वपूर्ण विचारहरुमाथि पर्याप्त समय दिएर पार्टीव्यापीरुपमा छलफल चलाउनु आवश्यक थियो । त्यसो गर्दा नयाँ निष्कर्षबारे पार्टी पङ्ति शिक्षित–प्रशिक्षित हुन्थ्यो । गुटबन्दीका तानातानीमा एकातिर हामीले यी निष्कर्षहरुको महत्वलाई ओझेलमा पार्दैछौँ भने अर्कोतर्फ कार्यकर्तालाई एउटा ठूलो अवसरबाट बञ्चित गर्दैछौँ । जे भए पनि अब नेकपा एमाले विचारका क्षेत्रमा पुनर्गठित हुँदैछ । विचारका हिसाबले हामी पुनव्र्यवस्थित हुँदैछौँ भन्नुको अर्थ जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित जनताको बहुदलीय जनवादलाई नयाँ उचाइमा विकसित हुँदैछ, अझ समृद्ध हुँदैछ ।
माक्र्सवाद, जनताको बहुदलीय जनवाद र हाम्रा पछिल्ला निष्कर्षहरुका आधारमा हामीले जनताको बहुदलीय जनवादलाई विकसित गर्न सक्दा हाम्रो पार्टी एकिकृत कम्युनिष्ट आन्दोलनको केन्द्र बन्न सक्छ । अब नेपाल शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाटै समाजवादमा संक्रमण गर्छ भन्ने बारेमा हामीले पार्टी पङ्तिलाई प्रशिक्षित गर्नु पर्छ र त्यो कार्यभार बहन गर्न सक्ने पार्टी सङ्गठनको निर्माण गर्नु पर्छ । शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजवादको निर्माण गर्ने आम बाटो नै जनताको बहुदलीय जनवाद हो भनेर परिभाषित र स्थापित गरियो भने अरु सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने मार्ग प्रसस्त हुनेछ । यसरी नवौँ महाधिवेशनको ऐतिहासिकता स्थापित हुनेछ ।

उक्त कार्यभार बहन गर्ने जिम्मेवारी सिङ्गो नेकपा एमाले परिवारको हो । तर सबैभन्दा बढी जिम्मेवारी केन्द्रिय कमिटीको हो । पार्टीको कार्यभार स्पष्ट नहुँदा महाधिवेशनको आयोजना केवल नेतृत्वको महत्वाकाङ्क्षीहरुको गुटबन्दीको मैदान बन्न जान्छ । अब हामीले महाधिवेशनको आयोजना र नेतृत्वको चयन गर्दा राष्ट्रिय पुँजीको विकास र न्यायपूर्ण वितरणको व्यवस्था गर्दै समाजवादका आधार तयार गर्ने योजना र सङ्गठनका प्रस्तावहरुमा प्रतिस्पर्धा गराउनु पर्छ जसले गर्दा नेतृत्वको हरेक प्रत्यासीले आफ्नो कार्यक्रमका आधारमा प्रतिस्पर्धा गरोस् । कुनै व्यक्ति अध्यक्ष भएर पाँचवर्ष नेतृत्व गर्दा मुलुकको कृषि, उद्योग, सेवा र बाणिज्य क्षेत्रमा के परिवर्तन आउँछ र श्रमजीवी, महिला, दलित, मधेसी, थारु, मुस्लिम, दुर्गम क्षेत्र, पछाडि परेका तराई–मधेश तथा जनजातीय क्षेत्रका जनताको जीवनमा कति परिवर्तन हुन्छ भन्ने कुरामा छलफल होओस् । यसरी पार्टीको माथिल्लो तहबाटै गुटबन्दीका आधारमा व्यक्तिको मूल्याङ्कन हुने अवस्थाको अन्त्य हुन्छ र योग्यतमहरु नै नेतृत्वमा पुग्ने कुराको ग्यारण्टी हुन्छ । व्यक्तिवादी वा नेताको वरिपरी गुटबन्दी हुने अहिलेको अवस्थाको अन्त्य हुनेछ र वास्तविकरुपले पार्टीमा नीतिको प्रधानता स्थापित हुन्छ । त्यहि हिसाबले सबै योग्यता पुगेका व्यक्तिलाई विना भेदभाव सदस्यता दिइनेछ । पार्टी कमिटीका स्थानीय अधिवेशनहरुको आयोजना गरिने छ र सबै तहको नेतृत्वको निर्माण हुनेछ । यसरी पार्टीको हरेक कमिटी र सदस्य सामाजिक रुपान्तरणको योग्यतम बाहक बन्न प्रयास गरिरहने छ । हरेक सदस्य योग्यतम बन्न प्रयास गरिरहने सङ्गठन नै पार्टी क्रान्तिकारी बनिरहने कुराको ग्यारण्टी हुनेछ ।
हामी अहिले राष्ट्रिय पुँजीको विकास गर्नु पर्ने अवस्थामा छौँ किनकि दलाल तथा नोकरशाही पुँजीले उद्यमशील पुँजीको विकासलाई अवरुद्ध गरेको छ । यस्तो समाजमा निर्माण गरिने पार्टीमा भ्रष्टाचार र दलालीको प्रभाव बढ्न सक्छ । त्यसबाट जोगाउन सकिएन भने कम्युनिष्ट पार्टी नै खतरामा पर्नसक्छ । राजनीतिलाई नीजी लाभको पेशा बनाउनेहरुले पार्टीलाई कब्जा गर्न सक्छन्, त्यसका बलमा राज्यलाई झन्झन् कमजोर पार्न सक्छन् । त्यसैले हाम्रो पार्टीको हरेक सदस्य आफैले उत्पादन गरेर बाँच्छ र आफ्नो आम्दानीको कर राज्यलाई बुझाउँछ भन्ने कुराको ग्यारण्टी गर्नु पर्छ । पार्टीका विभिन्न स्तरमा पूर्णकालीन सदस्यहरु हुनै पर्छ । स्थानीयदेखि केन्द्रिय तहसम्मको पार्टी उत्पादन र न्यायपूर्ण वितरणमा संलग्न भएपछि वास्तविक पूर्णकालीन कार्यकर्ताको अझ ठूलो सङ्ख्या आवश्यक हुनेछ । पूर्णकालीन कार्यकर्ताको दैनिक जीवन निर्वाहका लागि आवश्यक पर्ने पारिश्रमिकको व्यवस्था पार्टीले गर्नु पर्छ । जब पार्टी मुलुकको चौतर्फी विकास र न्यायपूर्ण वितरणको व्यवस्थाका लागि सम्पूर्ण हिसाबले समर्पित हुन्छ तब पार्टीसँग अनेकौँ वैधानिक आर्थिक श्रोत हुनेछन् । पार्टी पङ्तिले नै पार्टीका जुनसुकै खर्च चलाउन सक्ने अवस्था तयार हुन्छ, सँधैभरी चन्दाबाट चल्नु पर्ने अवस्थाको अन्त्य हुन्छ ।
हाम्रोजस्तो समाज र प्रतिस्पर्धात्मक राजनीति भएको समाजमा पार्टीलाई समाजवादी ध्येयमा टिकाइरहन सकिन्छ कि सकिन्न भन्ने कुरा पार्टीमा विचारधारात्मक तथा सैद्धान्तिक चेतनाको लागि कस्तो वातावरण छ भन्ने कुराले निर्धारण गर्नेछ । त्यसैले हरेक कमिटीका सदस्यले निश्चित तहको पार्टी स्कूल उत्तिर्ण गरेको छ भन्ने कुरा निश्चित हुनु पर्छ । नियमित र अनिवार्य पार्टी स्कूलको व्यवस्था पार्टीलाई समाजवादी ध्येयको कम्युनिष्ट पार्टीका रुपमा टिकाइरहने सबैभन्दा महत्वपूर्ण शर्त हो । एक पटक प्रशिक्षित भएपछि पुग्छ भन्ने अहिलेको प्रचलनलाई हटाउनु पर्छ र हरेक वर्ष केन्द्रिय कमिटीदेखि स्थानीय तहसम्मका सबै कमिटीका सदस्यले पार्टी स्कूलमा अनिवार्यरुपले अध्ययन गर्ने व्यवस्था गर्नु पर्छ ।
कार्यभारका बारेमा सैद्धान्तिकरुपले नै अस्पष्टता रहनु र सङ्गठन गुटबन्दीमा विभाजित हुँदा पार्टीका जनसङ्गठन स्वयं पनि गुटबन्दीको शिकार भएका छन् । यो अवस्थालाई फेर्नु पर्छ । अब जनसङ्गठनहरुको कार्यभार पार्टीको कार्यभारजस्तै राष्ट्रिय पुँजीको विकास र समाजवादी ध्येयको विस्तार हो भनेर तोकिनु पर्छ र आफ्नो समुदायको सामग्रिक हितको काममा केन्द्रित हुनुपर्छ । त्यस ध्येयमा आधारित भएर हाम्रा सबै जनसङ्गठनहरु सञ्चालित हुनेछन् र आआफ्नो क्षेत्रका बहुसङ्ख्यक व्यक्तिहरुलाई कुनै न कुनै हिसाबले सङ्ठित वा परिचालित गर्छन् भन्ने लक्ष्यका साथ ती सङ्गठनहरु सञ्चालित हुनेछन् । जस्तै, अनेरास्ववियु समृद्ध र न्यायपूर्ण मुलुकको निर्माणमा कुनै न कुनै हिसाबले योगदान गर्ने लक्ष्य बोकेका विद्यार्थीहरुको सङ्गठनकारुपमा विकसित गर्नु पर्छ जसले मुलुकका बहुसङ्ख्यक विद्यार्थीहरुलाई नेतृत्व गर्न सकोस् । त्यसै हिसाबले हाम्रा सबै जनसङ्गठनहरुको पुनर्निर्माण र सञ्चालन गरिनु पर्छ । यसरी जनसङ्गठन र पार्टी कमिटीको सञ्चालन गर्दा नयाँ नेताहरुको ठूलो पङ्ति तयार हुँदैजान्छ । त्यस अवस्थामा हामीले हरेक महाधिवेशनबाट २५ प्रतिशत नयाँ केन्द्रिय सदस्यहरु निर्वाचित गर्ने र २५ प्रतिशतलाई बिदा गर्ने व्यवस्था गर्नु पर्छ ।

पाचौँ महाधिवेशनको ४ महिना पनि बित्न नपाउँदै पार्टीका महासचिव जननेता कमरेड मदन भण्डारी र कुशल सङ्गठक कमरेड जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु हुनु पार्टीको जीवनमा असाधारण विपत्तिको अवस्था थियो । त्यस अवस्थामा पार्टीका श्रद्धेय अध्यक्ष कमरेड मनमोहन अधिकारी र अन्य वरिष्ठ कमरेडहरुको आग्रहलाई इन्कार गर्न सकिन र म पार्टीको महासचिवको जिम्मेवारीका लागि तयार भएँ । हामीले शोकलाई शक्तिमा बदल्ने कसम खायौँ र पार्टीलाई सम्हाल्यौँ । दिवङ्गत नेताहरुप्रति अभिव्यक्त भएको शोकलाई राष्ट्रियता, जनवाद र जनजीवीकाको लागि आन्दोलनरत पार्टीको शक्तिमा रुपान्तरित गर्‍यौँ । त्यसैक्रममा हामी २०५१ सालको निर्वाचनद्वारा पहिलो पार्टी बन्यौँ । जनताप्रति उत्तरदायी र लोककल्याणकारी दिशाका साथ हामीले सरकारको सञ्चालन गर्‍यौँ । आजसम्म पनि नेकपा (एमाले)को नौ महिने सरकार नै विकास र सुशासनको नमूना उदाहरणका रुपमा लिइने गरेको छ । यसै सन्दर्भमा हामीले नेतृत्व गरेको सरकारले पनि धेरै महत्वपूर्ण र दुरगामी महत्वको काम गरेको कुरा र नौ महिने सरकारको कार्यक्रमलाई निरन्तर अबलम्बन गरेको कुरा प्रति ध्यानाकर्षित गर्न चाहन्छु । नौ महिने सरकारको लोकप्रियताको बलमा २०५४ सालको स्थानीय निर्वाचनमा पार्टीले ऐतिहासिक नतिजा ल्यायो । एकातिर पार्टीले एकपछि अर्को विजय हासील गर्दै थियो भने अर्कोतर्फ भर्खर स्थापित प्रजातन्त्रका विरुद्ध दरबारले षडयन्त्र आरम्भ गरेको थियो । त्यसैबेला माओवादी उग्रवादले विद्रोह आरम्भ गर्‍यो । परिस्थितिले हामीबाट दूरदर्शिता र सावधानीको माग गरिरहेको थियो भने हामी आन्तरिक कचिङ्गलमा फस्दै गयौँ । पार्टी विभाजनलाई रोक्न मेरोतर्फबाट अनेकौँ प्रयत्न गरेँ तर त्यसमा म असफल भएँ । नेतृत्व पङ्तिले सङ्कीर्ण हितलाई केन्द्रमा नराखेको भए पार्टीको विभाजन रोक्न सकिन्थ्यो भन्ने लागेको हुँदा पार्टीको एकताका लागि पनि मैले नै पहलकदमी पनि लिएँ र केहि क्षतिका साथ भए पनि पार्टीको पुनः एकिकरण भयो ।
एकातिर उग्रवादले मुलुकलाई अस्थीरताको भुवँरीमा धकेल्यो भने अर्कोतिर दरबारीया कुण्ठा जाग्रत हुँदै गयो । यस्तो अवस्थामा पार्टीभित्र राजाका विरुद्ध माओवादी उग्रवादसँग घुँडा टेक्ने र अर्कोतर्फ उग्रवादको विरोधका नाममा राजाको पक्षमा वकालत गर्ने प्रवृत्तिहरु देखा परे । माओवादी विद्रोह र दरबारका महत्वाकाङ्क्षाले गर्दा मुलुकमा अन्तरराष्ट्रिय शक्तिकेन्दहरुको चासो गहिरिँदै गयो । थोरै पनि असावधानी हुँदा हामी माओवादी, दरबार र अन्तरराष्ट्रिय शक्तिकेन्द्रका गोटी बन्नसक्ने असामान्य जटीलताको अवस्थाबाट गुज्रिनु प¥यो । पार्टीलाई माओवादी उग्रवादसँग बचाउनु पथ्र्यो तर त्यस उग्रवादलाई हतियारका बलमा मात्रै एकपक्षियरुपमा दबाउने बाटो लिनु ठूलो गल्ती हुन्थ्यो किनकि त्यसले मुलुकलाई राजाको नेतृत्वमा सैन्यिकरणको दिशामा धकेल्थ्यो । दरबारको महत्वकाङ्क्षालाई सहयोग पुग्ने कुनै पनि कदम गल्ती हुन्थ्यो तर दरबारसँग हाम्रो अन्तरविरोधबाट माओवादी उग्रवाद र अन्यशक्तिले फाईदा नलिउन् भन्ने कुरामा ध्यान दिनु पर्ने थियो । हरेकजसो महिना पार्टीका नेता कार्यकर्ताको हत्या भइरहेको थियो, ज्यानको परवाह नगरिकन गाउँ–जिल्लामै बस्नुस् भन्न सकिँदैनथ्यो, गाउँ–जिल्ला छोड्नुस् भन्न पनि सकिँदैनथ्यो, कैयन् स्थानीय नेताहरु विस्थापित भैरहनु भएको थियो । त्यस्तो असामान्य अवस्थामा पनि पार्टीभित्र गुटबन्दीले जरा हालिरह्यो । यस्तो अवस्थामा पार्टीको प्रमुखका हिसाबले मैले अनेक खतराहरु झेल्दै र कतिपय अवस्थामा अपमान र ग्लानी ब्यहोर्दै भए पनि मुलुकको राजनीतिलाई शान्ति र लोकतन्त्रको मार्गमा ल्याउन निरन्तर प्रयत्न गरिरहेँ ।
देशभित्र र बाहिरका शक्ति र दबाबले उत्पन्न गरेका अनेकौँ उतार–चढावपछि मुलुकको राजनीति क्रमशः हामीले अपेक्षा गरेको र पहलकदमी लिएकै दिशामा अगाडि बढ्यो । माओवादीसँग हामी लोकतन्त्रमा सम्झौता गर्न सक्दैनथ्यौँ, दरबारसँग गणतन्त्रमा सम्झौता गर्न सक्दैनथ्यौँ । त्यसैले हामीले लोकतान्त्रिक गणतन्त्रको बाटो लियौँ । हामीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा घोषणा गरेपछि नेपाली काङ्ग्रेस पनि त्यसमा समाहित हुँदै गयो र हाम्रो आन्दोलन क्रान्तिमा विकसित हुँदै गयो । गणतन्त्रलाई रोक्न देशभित्र र बाहिरबाटसमेत अनेकौँ प्रयत्न भएका थिए तर ती सबैलाई हामीले चीर्न सक्यौँ । तर उग्रवादको लपेटाका प्रभावबाट जनमतलाई जोगाउन सकिएन । २०६४ सालको संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरन्तर पहलकदमी गरिरहेको हाम्रो पार्टीले पराजय व्यहोर्नु पर्‍यो । नेकपा एमालेले राजनीति जितेको थियो र निर्वाचनमा पराजित भयो । त्यसको नैतिक जिम्मा मैले लिएँ र महासचिवबाट राजीनामा गरेँ । मैले पार्टीको पराजयको नैतिक जिम्मा लिएको थिएँ तर राजनीतिबाट भागेको थिइन । नैतिक जिम्मा कबोल गरे बापत मलाई कतिपय कमरेडहरुले लाञ्छित गर्ने प्रयत्न गरेको देख्दा दुःख लाग्छ । मुलुकको असामान्य राजनीतिक अवस्थामा मैले पार्टीको नेतृत्व सम्हालेँ । यहाँनिर मैले एउटा तथ्यबारे मैले पार्टी पङ्तिलाई जानकारी दिनै पर्छ कि जब पार्टीलाई कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको शोकको अवस्थाबाट सम्हालियो त्यहाँदेखि नै पार्टीमा गुटबन्दी आरम्भ भयो । यो साना दुखले आर्जेको पार्टी थिएन र पार्टीका अगाडि धेरै सम्भावनाहरु उभिएका थिए, तर बढ्दै गएको गुटबन्दीले गर्दा पार्टीमा समस्या गहिरिँदै गयो । गुटबन्दीको चरित्र विषय केन्द्रित भन्दा बढी स्थायी प्रकृतिको बन्दै गयो । गुटबन्दीलाई व्यवस्थापन गर्नु पर्दा सङ्गठनका कैयन् पक्षमा मैले सम्झौता गर्नु पर्‍यो । पार्टी बाहिरको अस्थीर र उतार–चढावपूर्ण राष्ट्रिय परिस्थिति र पार्टीभित्र घर गरेको स्थायी गुटबन्दीका दबाबहरुका कारणले पार्टी सञ्चालनका दैनन्दिन मामिलामा मबाट कतिपय कमिकमजोरी भएका हुन सक्छन् भन्ने कुरा इमानका साथ म स्वीकार गर्छु तर पार्टी र मुलुकको राजनीतिलाई बचाउन, मुलुकमा शान्ति बहाल गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने काममा पार्टीको मुख्य जिम्मेवारका हिसाबले मैले जे जति मेहनत र पहलकदमी गरेँ त्यसमा मैले ठिकै गरेको छु भन्ने लाग्छ । केहि वर्ष अगाडिमात्रै पार्टी र मुलुकको राजनीतिले हिँडेको बाटो सबैको सम्झनामा ताजै छ भन्ने मेरो विश्वास छ ।

पार्टी र मुलुकका चुनौति र सम्भावनाका बीच नेकपा एमालेको नवौँ महाधिवेशनमा अध्यक्ष पदका लागि तयार रहन तपाईँहरु र देशभरिबाट भएका आग्रहलाई म सम्मान गर्छु तर त्यसभन्दा अगाडि मेरो प्रस्ताव सबैका सामु राख्न चाहन्छु । पार्टीमा दोश्रो पुस्ताबाट नेतृत्वको भरपर्दो पङ्ति तयार भैसकेको छ । यो पङ्ति सैद्धान्तिक–राजनीतिक, साङ्गठानिक, वैदेशिक तथा कूटनीतिक चेतना, सुझबुझ र दक्षताको क्षेत्रमा हामी पहिलो पुस्ता भन्दा कुनै पनि हिसाबले कमजोर छैन । त्यसैले हामी पहिलो पुस्ताका नेताहरु सक्रिय छँदै पार्टीको नेतृत्व दोश्रो पुस्तामा नेतृत्व हस्तान्तर गरौँ भन्ने मेरो पहिलो प्रस्ताव छ । हामीले आआफ्ना गुटहरु खडा गरेर दोश्रो पुस्ताका नेताहरुलाई विभाजित नगर्ने हो भने हामी पहिलो पुस्ताको रेखदेख तथा सल्लाह–सुझावमा दोश्रो पुस्ताले पार्टीलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सक्छ भन्ने मेरो विश्वासका आधारमा मैले उक्त प्रस्ताव राखेको छु । तर पार्टीलाई योग्यता–क्षमताका आधारमा सञ्चालन गर्ने होइन, हामी पहिलो पुस्ताकै नेताहरुका बीचमा आलोपालो गर्ने हो र औपचारिकरुपले नै असैद्धान्तिक तथा अवैचारिक गठबन्धनका आधारमा अल्पतन्त्र चलाउने हो भने पार्टीमा हामीले हुर्काएको नयाँ पुस्ताले आफ्नो योग्यताको प्रदर्शन गर्ने अवसरसमेत पाउँदैन । त्यस्तो पार्टीले आजको मुलुकको अभिभारा बोक्न सक्दैन । तसर्थ, नेकपा एमालेको सम्पूर्ण पार्टी परिवारले मेरो प्रस्तावलाई समर्थन गर्न आह्वान गर्दछु ।
आजकल विचार, सिद्धान्त र कार्यभारहरुलाई किनारा लगाएर नवौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने अमूत्र्त चर्चा चलेको छ । म आफै पनि सहमतिको विरुद्ध छैन । तर म दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र पार्टीको अग्रगतिको ग्यारण्टी गर्ने प्रस्तावका साथ सहमतिका लागि तयार छु । यदि मेरो यस प्रस्तावमा सहमति हुँदैन र ‘मिलिजुली बसौँ, बाँडिचुँडी खाउँ’ लाई नै पार्टी नेतृत्वको सिद्धान्त बनाउने हो भने म त्यस्तो सहमतिको पक्षमा छैन । यदि मेरो प्रस्तावमा सहमति हुँदैन भने दशौँ महाधिवेशनभित्रै दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ग्यारण्टीका साथ नवौँ महाधिवेशनमा पार्टी नेतृत्व सम्हाल्नका लागि तपाईहरुले गर्नु भएको आग्रहलाई स्वीकार गर्नु म आफ्नो कर्तव्य ठान्दछु ।
जेठ १७, २०७१
नेकपा एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी घोषणासभामा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले व्यक्त गरेका विचार । उनी महाधिवेशनमा अध्यक्ष दौडमा छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया