रमेश खरेल अहिले एकल मनुवा होइनन् । अब उनले चाहेर पनि एकल जीवन अवलम्बन गर्न पाउदैनन् । उनी सार्बजनिक मान्छे भईसके । भोलि रिटायर्ड जीवनमा पनि उनी सबैको साझा मान्छे हुनेछन् । दुई क्षेत्र गरेर वामदेवलाई जिताउने करिव ३२ हजार मतदाता भन्दा धेरैगुणा नेपालीले उनीमाथि बिश्वास र भरोसा गरेका छन् कि यस्ता इमान्दार सिपाहीले देशका लागि अब केहि गर्छन् । उपनिर्वाचनको मिति ३ हप्ता नजिकै आईपुगेको बेला रमेश खरेलजस्तो प्रहरी अधिकृतको कार्वाही स्वरुप सरुवा गरिनुमा षडयन्त्रको ठूलो गन्ध छ । सरुवा नै गरिनु थियो भने यस अघि नै किन गरिएन अनि पछि गर्दा के बिग्रन्छ ? चुनावकै मुखमा आएर रमेश खरेलको सरुवा गर्ने हिम्मत गरेर वामदेव गौतमले आफ़्नो खुट्टामा आफै बञ्चरो हानेका छन् यसको मूल्य निकै महंगो पर्ने देखिन्छ । अब जनता चुपचाप बस्नेवाला छैनन् । परिस्थिति जटिल बन्दै गएको छ । निर्वाचन आयोगले पनि सहजै सहमति दिने संकेत छैन । जनताले रमेश खरेललाई सरुवा मात्रै गरेर देखाउ वामदेव तिम्रो हालत के हुन्छ आफै हेर्दै जाउ भन्न थालेका छन् ।
बर्दी लगाएर रमेश खरेलले दिएको अभिब्यक्ति र चेन अफ कमाण्डको बिषयमा अलिकति चर्चा गरौं । उनले संगठन र संगठनका सिनियरहरुको मानमर्दन हुने गरी बोल्नुहुन्थेन । फौजमा यो संगठनको खिलाफ मानिन्छ । तर राष्ट्रघात हुने कुरा बोलेका त छैनन् नि । केहि गडबडि हुँदैछ भन्ने संकेत मात्र दिन खोजेका हुन् । त्यो फरक ढंगले दिन सक्थे तर सार्बजनिक ठाउँमा त्यसरी दिंदा नोटका बिटा र मोलमोलाईका सेटिङहरु धरापमा पर्न गएकोले उनीहरुको नजरमा खरेल आँखाको तारो बन्न पुगेका हुन् यो कुरा सबैलाई थाहा हुनुपर्छ । अर्कोतिर नजिकै आईरहेको उपनिर्वाचनलाई केन्द्रमा राखी रमेश खरेललाई पन्छाउन वामदेवहरुलाई के निहुँ पाऊं कनिका बुकाऊं बन्न पुगेको पनि सबैलाई थाहै छ । अब नेपाली जनताले छातीमा हात राखेर भन्ने बेला आएको छ कि राजनीतिक प्रतिशोधका हिसाबले गलतलाई पनि ठिक भन्ने कि ? ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने ? केहि ब्यक्तिको स्वार्थका लागि एउटा देशभक्त इमान्दार सिपाहीलाई बलिको बोको बनाउन मिल्दैन । चेतनाको स्तर धेरै माथि पुगिसकेका नेपाली जनता अब चुप लागेर बस्ने छैनन् ।
पन्छाउने बहाना खोज्दै गरेको बेला खरेलको अभिब्यक्ति बाहिर आयो । लाभको अवसर ढुकेर बसेका प्रहरी प्रशासनका सिनियर अधिकृतहरुले यहि बेलामा मौका छोप्दै गृह सम्हालेका वामदेव गौतमसंग भाका मिलाउन पुगे अनि कार्वाही स्वरुप सरुवा गर्ने नाटक मञ्चन गरियो । ब्यक्तिको अभिब्यक्ति स्वतन्त्रता कुन हदसम्म लागू हुने र कहाँ कहाँ लागू हुने भन्ने नयाँ बहसले अहिले ठाउँ पाएको छ । देश भाँडमा जाँदै गरेको सुराकी पाएको एक सिपाहीले संगठनको फलामे जञ्जिर तोडेर दिएको अभिब्यक्तिलाई चेन अफ कमाण्ड भन्न मिल्ने कि नमिल्ने ? आफुले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि तयार हुँदै खरेलले आफ़्नो जागीरलाई दाउमा राखेर करौडौको चलखेलमा भ्रष्टाचारीलाई बढुवा नगरियोस् भन्ने अभिब्यक्ति राष्ट्रघाती अभिब्यक्ति भन्न मिल्दैन । उनको अभिब्यक्ति राष्ट्रघाती मान्ने हो भने सरुवा नै किन बर्खास्त नै गरेर देखाउन सक्नुपर्छ गृह सम्हालेका वामदेव गौतमले ।
केहि मान्छेहरु भन्न थालेका छन् सार्बजनिक समारोहमा नेताझैं विवादित भाषण ठोकेर हिड्ने हो भने बर्दी फुकालेर राजनीति गरे हुन्छ । हो एक जना प्रहरी अधिकृतले कतिसम्म अभिब्यक्तिको स्वतन्त्रता उपभोग गर्न सक्छ भन्ने प्रहरी संयन्त्रमा आचारसंहिता बनेकै होला उसो त यसअघि पनि खरेल मिडियामा छाउँदै आएका छन् अहिलेसम्म प्रहरी संगठनले के हेरेर बसेको थियो ? तर किन बोले खरेलले यति आलोचनात्मक शैलीमा । यसको कारण पनि खोतलिनुपर्छ । त्यसो नगरीकन सरुवा गर्ने प्रपञ्च जुन रचियो यो उनले गरेको गल्तीको सजायसंग दाँज्न मिल्दैन । त्यसो नगर्न सचेत गराईन सकिन्थ्यो, केहि निश्चित अवधिका लागि सार्बजनिक कार्यक्रममा नजान, नबोल्न निर्देशन दिन सकिन्थ्यो, स्पष्टिकरण लिएर त्रुटी सच्याउन, सस्पेन्स गर्न, आत्मालोचना गर्ने अवसर दिन सकिन्थ्यो तर चुनावको मुखैमा सरुवा नै गर्नुपर्ने किन ? यहाँनेर नेपाली जनताको सबैभन्दा तिब्र असन्तुष्टि हो । खरेल सरुवा प्रकरणमा गृह मन्त्रालयले पुनर्विचार नगरेमा अब जनता सडकमा उत्रन तयार छन् । तिनै नेताले सिकाएको बिरोध प्रदर्शनका सबै शैलीहरु अवलम्वन गर्न उनीहरु तयार छन् । ***