नेपाली जनताको आशा र भरोसायोग्य एउटा मात्रै दल नेकपा एमालेको नवौं महाधिवेशन आउन अब १ महिना १४ दिन मात्रै बाँकी छ । यसबीचमा हामीले महाधिवेशन तयारीका सन्दर्भमा गर्नुपर्ने कामहरू तीव्र गतिमा अघि बढाएका छौं । गत फागुनमै हुनुपर्ने महाधिवेशन सर्दैसर्दै १९ असारसम्म पुगेको छ । त्यो मितिमा पनि महाधिवेशन हुन्छ कि हुँदैन, फरि सर्छ कि त भन्ने आशंकाहरू पनि प्रशस्तै छन् । केन्द्रीय कमिटीमै रहेका केही साथीहरू महाधिवेशन सार्ने कुरा गरिरहनु भएको छ । जसका लागि यो महाधिवेशन अनुकूल छैन, आफ्नो पद प्राप्तिका लागि वा नीतिमा भ्रष्टीकरणका लागि प्रतिकूल नै प्रतिकूल देखिरहनु भएको छ, उहाँहरू महाधिवेशन सार्ने दाउपेचमा हुनुहुन्छ । विभिन्न प्रयत्नहरू पनि भइरहेका छन् । तर, दुई पटक सरिसकेका कारण अब महाधिवेशन सार्ने कुनै बहाना बाँकी छैन । कस्तै परिस्थितिमा पनि महाधिवेशन सर्दैन भन्ने टुंगोमा हामी सबै पुगिसकेका छौं । त्यसै कारण व्यापक छलफल गरेर अन्तिम पटक अब नसार्ने गरी महाधिवेशनको मिति तय गरिएको हो । त्यसकारण अब १९ असारमा एमालेको नवौं महाधिवेशनको उद्घाटन हुन्छ । केही–केही साथीहरूमा रहेको महाधिवेशन सारेर आफ्नो अनुकूलता खोज्ने सपना अब पूरा हुँदैन । यसर्थमा अब एमालेजन मात्रै नभई सिंगो देशवासीले कतै फेरि पनि महाधिवेशन हुँदैन कि भनेर आशंका गर्न जरुरी छैन ।
यसबीचमा एमालेभित्र विचारको सवालमा एकता निर्माण भएको छ । अर्थात् विचारमा एकमत भइसकेको छ । विचारका सवालमा सबैजना सहमत भइसकेका छौं । यो निकै राम्रो काम हो । यसले हामीलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने मूल मुद्दालाई सम्बोधन गरेको छ । हाम्रो पार्टीमा एउटा प्रवृत्ति थियो, पाँचौं महाधिवेशनदेखि नै । जननेता मदनकुमार भण्डारीको नेतृत्वमा प्रतिपादन भएको जनताको बहुदलीय जनवादी सिद्धान्त (जबज)प्रति केही साथीहरूको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको थियो । उनीहरूले लगातार जबजमाथि आक्रमण गर्दै आए ।
तर, केही जोर चलेन । पछिल्लो समयमा जबजको विरोध पनि गर्न नसक्ने, समर्थन पनि गर्न नसक्ने अवस्थामा उनीहरू पुगे । अर्थात् जबजको न समर्थन, न विरोध गर्ने अवस्था रह्यो । त्यसैले उनीहरूले जबजका बारेमा भ्रम सिर्जना गर्न खोजे । आफूअनुकूल भ्रष्टीकरणको योजना पनि अघि सारेका थिए । सफल हुन सकेनन् । उनीहरूले पछिल्लो समयमा पनि जबज सिद्धान्त बन्न सकेको छैन, केहीकेही थपेर हामी सिद्धान्त बनाइदिन्छौं, म सिद्धान्त बनाइदिन्छु भन्नेसम्मका कोसिसहरू पनि गरे । तर, उनीहरूको प्रयास कामयावी हुन सकेन । सम्भव पनि थिएन । अहिले दस्तावेज समितिमै उनीहरूको त्यो गलत विचार पराजित भएको छ ।
वास्तवमा जनताको बहुदलीय जनवाद पाँचौं महाधिवेशनमै सिद्धान्त थियो र हो । त्यसलाई कसैले भनिरहनुपर्ने विषय थिएन । समाजको क्रान्तिकारी परिवर्तनको क्रार्यक्रम पनि जबज थियो र हो । यसको विपक्षमा लाग्ने केही साथीहरूबाहेक अरूमा यसबारे दुविधा थिएन । अहिले आएर सबै उक ठाउँमा आइपुगेका छन् । जबजलाई स्थापित हुने गरी नै दस्तावेज पारित भएको छ, मस्यौदा समितिबाट । त्यसैले विचारको सवाल, नीतिको सवालमा एमालेभित्र एकमत निर्माण भइसकेको छ । यो महाधिवेशनकै सन्दर्भमा चलेको बहसको उपलब्धि हो । खराब विचार बोक्नेहरू पराजित हुने र असल विचारले जित्ने यथार्थ हो । यसलाई यतिभन्दा नै काफी हुन्छ ।
नवौं महाधिवेशनको तिथि जति नजिकिँदै छ, त्यत्ति नै नीतिसहित र नेतृत्वको विषयमा बहस केन्द्रित भइरहेको छ । नीति सर्वसम्मत भइसकेकाले अब सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डासहित नेतृत्व पनि सर्वसम्मत बनाउने अभियानमा लागेका छौं । विचारको प्रश्नमा एमाले एक ठाउँमा छ, त्यसकारण नेतृत्वको विषयमा पनि सर्वसम्मति नै हुन्छ भन्नु अन्यथा होइन । हामी सबै त्यसै अभियानमा लागेका पनि छौं । हामी किन नेतृत्व सर्वसम्मत हुन्छ भनिरहेका छौं भने त्यसका विभिन्न आधारहरू छन् ।
वर्तमान पार्टी अध्यक्ष झलनान खनालले आफ्नो पालामा पार्टी निकै माथि आएको कुरा गर्नुभएको छ, त्यो सही नै हो । एकीकृत पार्टीको नेतृत्व एक पटक मात्रै गरेकाले दोस्रो पटक पनि गर्न पाउनुपर्छ भन्नु पनि सही नै हो । तर, उहाँ स्वयंले यी चाहना हुँदाहुँदै पनि म अध्यक्षका लागि चुनावमा जान्न, सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेल्छु भनेर अभिभावकीय भूमिका खेल्ने प्रस्ट पारिसक्नु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्षको लागि अहिलेसम्म इच्छा देखाउनु भएको छैन ।
उहाँ स्वयंबाट अध्यक्षको दाबी पनि आएको छैन । अहिलेसम्म कुनै बैठकमा पनि भन्नुभएको छैन, कसैकसैले उहाँको नाम बाहिर ल्याएका मात्रै हुन् । तर, उहाँजस्तो नेता सर्वसम्मत नेतृत्व निर्माण गर्ने कार्यकर्ताको चाहनाविपरीत चल्नु हुन्छ भन्ने मलाई लाग्दैन ।
१५ वर्षसम्म पार्टी नेतृत्व गर्दा गर्न नसकेको बाँकी कुन काम छ र उहाँले फेरि नेतृत्वको दाबी गर्ने ? त्यसैले माधव नेपालले अब नेतृत्वको दाबी गर्नुहुन्न भन्ने हाम्रो बुझाइ छ । उहाँले सर्वसम्मतिका साथ १५ वर्षसम्म पार्टीको नेतृत्व गरेको हो । अब सर्वसम्मत पार्टीको नेतृत्व गरेको उहाँजस्तो नेता विवादतिर हानिने र त्यसपछि मतदानतिर जानु हुन्छ जस्तो लाग्दैन । नैतिकताको आधारमा पनि फेरि मूल नेतृत्वको दाबी गर्न मिल्दैन, उहाँले । उहाँले १५ वर्ष पार्टी हाँकेर नैतिकताको आधारमा राजीनामा दिनुभयो । हामी कसैले पनि राजीनामा दिनोस् भनेका थिएनौं । नैतिकताको आधारमा राजीनामा दिनुभएकाले पनि
त्यसको कुनै हदम्याद हुँदैन ।
त्यसैले उहाँ अब नेतृत्वको दाबी गर्नुहुन्न । यसकारण पनि नवौं महाधिवेशनबाट वरिष्ठ नेता केपी ओलीको नेतृत्वमा नयाँ नेतृत्व छानिन्छ । यो पूर्वनिर्णित जस्तै छ । यो निर्णयमा आमसहमति छ । कसैको चाहनाले सर्वसम्मत हुन नदिए अत्यधिक बहुमतबाट केपी ओली अध्यक्षमा निर्वाचित हुनुहुन्छ । ओली सर्वसम्मत अध्यक्ष बन्ने देखेर नै केहीकेही व्यक्तिहरू आफ्नोअनुकूल बनाउनका लागि बिरामी जस्तो संवेदनशील विषयलाई पनि आफ्ना उन्नतिका लागि नारा बनाइरहेका छन् । यो अत्यन्त अशोभनीय र अमर्यादित अभिव्यक्ति हो । ओली अब ठीक हुनु भइसकेको छ । उहाँले केही दिनमै फर्किएर पार्टीको नेतृत्व गर्न सक्ने प्रमाण दिनुहुन्छ । चिकित्सक र नेता ओली स्वयंले यो कुरा भनिसक्नु भएको छ ।
नेतृत्व चयनको सवालमा सर्वसम्मत हुने अन्य पनि थुप्रै आधारहरू छन् । त्यसमध्ये दासढुंगा हत्याकाण्डपछिको घटना मात्रै स्मरण गरे पनि सर्वसम्मत नेतृत्व चयन हुने प्रस्ट हुन्छ । दासढुंगामा भएको जिप दुर्घटनामा तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र कुसल संगठक जीवराज आश्रितको हत्या भएको थियो । उहाँहरूको शव पहिचान भएपछि पशुपति आर्यघाटमा अन्तिम
संस्कार गरिरहँदा नै नेताहरूमा भावी नेता को भन्ने आशंका थियो । मूल नेताकै हत्या भएको
अवस्थामा सबैतिर सन्नाटा छाउनु र नेता को बनाउने भन्ने सोच्नु पार्टी र क्रान्तिका लागि जरुरी थियो । त्यसबेला बामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप नेपाल, मुकुन्द न्यौपानेलगायतका सिनियर नेताहरूसहित अलिक जुनियर हामीहरूले केपी ओलीलाई भावी नेता भन्यौं । सबैले एक मतले विचारको हिसाबले र जबजको कार्यक्रम र सांगठनिक नेतृत्वको हिसाबले पनि ओली नै भावी नेता हुनुपर्छ भन्ने निष्कर्षमा पुगे । तर, केपी ओलीले मान्नुभएन । उहाँले जस्तो हालतमा जनताको बहुदलीय जनवादी सिद्धान्त (जबज) पारित भयो, यस्तो अवस्थामा अर्काे पक्षले पनि धेरै हामफुल नमान्ने गरी नेता बनाऔं । त्यसका लागि माधव नेपाल ठीक हुन्छन् भनेर उहाँको नाम प्रस्तुत गर्नुभयो ।
अरू साथीहरू माधवलाई नेता मान्न तयार थिएनन् । त्यसैले कार्यबाहक महासचिव मात्रै बनाऔं भनेर प्रस्ताव राखे । त्यसबेला माधवले पनि कार्यबाहक हुँदा विश्वासमा संकट आउँछ, दिने भए महासचिव नै दिनोस् भनेर आग्रह गर्दा कसैले मानेनन् । तर, केपी ओलीले माधव कमरेडलाई महासचिव नै बनाऊँ, यसमा तपाईंहरूले सहमति जनाउनुहोस् भनेर सबैलाई आफ्नो निर्णयमा सहमत गराउनु भएको हो । यस कारण पनि अब माधव नेपालले आफू अध्यक्ष होइन, केपी ओलीलाई अध्यक्ष बनाएर अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ । मैले बुझेको माधव नेपालले अरूको उक्साहटमा लागेर त्यो कटु सत्यलाई भुल्नु हुन्न भन्ने लागेको छ ।
(केही दिन अघि आयोजित पत्रकार सम्मेलनमा व्यक्त विचारका आधारमा)