Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

अहिलेको नेपाललाई जनताको मनोभावना बुझ्ने र परिणाम ‘डेलिभर’ गर्न सक्ने नयाँ राजनैतिक शक्तिको खाँचो टड्कारो रुपमा देखिएको छ । यस विषयमा पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा बिभिन्न बिचारहरू बाहिर आइरहेका छन् । तर धेरैजसो विश्लेषकहरुले बताए झैं त्यस्तो नयाँ शक्तिको बिकास त्यति सजिलो भने छैन ।

बरिष्ट सञ्चारकर्मी रविन्द्र मिश्र तथा नेकपा (एमाओवादी) का उपाध्यक्ष बाबुराम भट्टराई लगायतबाट शुरु भएको नयाँ राजनैतिक शक्तिको बहसले अहिले अरु चर्चा पाउन थालेको छ । तर ‘कस्तो शक्ति ?’ भन्नेमा चाहिं उनीहरूको कुरा बाझेका छन् । विशेष गरेर वर्तमान राजनैतिक वृत्तमा सम्मिलितहरूमा अहिलेकै राजनैतिक शक्तिलाई ‘शुध्दिकरण गर्दै लैजानुपर्ने धारणा पाइन्छ । गैर-राजनैतिक व्यक्तिहरू भने विल्कुलै पृथक शक्तिको आवश्यकता औंल्याउँछन् ।

नयाँ शक्तिको आवश्यकता किन छ ? त्यस्तो नयाँ शक्ति वृहतरुपमा फैलिनका निमित्त के कस्ता कठिनाइहरू छन् र तिनको समाधान के हुन सक्छ ? र त्यो नयाँ शक्ति कस्तो हुनुपर्छ ? यो लेख यी तीन विषयमा केन्द्रित रहनेछ ।

नयाँ शक्तिको आवश्यक किन ?
गएको सत्तरी वर्षमा नेपाली राजनैतिक पार्टीहरूले पटक-पटक ‘क्रान्ति’को नेतृत्व गरे । जुन-जुन आन्दोलनलाई जनताले सहयोग गरे, ती सफल भए पनि । जसको उदाहरण २००७, २०४६, र २०६३ का आन्दोलन र परिवर्तन हुन् । तर कुनै न कुनै रुपमा हिंसा, उत्तेजना, र ‘उज्ज्वल भविष्यको सपना’ का आडमा उदाएका यी शक्तिहरूले जनतालाई दुरगामी रुपमा शान्ति, स्थायित्व र विकास भने दिन सकेनन् । सकुन् पनि कसरी ? यी विषयमा तिनीहरूसँग न योजना थियो, न सामर्थ्य, र न नैतिकता नै ।

जो नेता लामो समय जेल बस्यो उही ‘बडा’ हुने, उसले नै ठुलो (र ‘लाभदायी’) मन्त्रालय पाउने, र उसैको हैकम चर्को हुने जस्ता कुरा पनि देखियो । आन्दोलन चलाउने र देश चलाउने शैली फरक हुन्छन् । यो धारणाको कमी विशेष गरी २०४६ पछि टड्कारो रुपमा महसुस भएको छ ।

अहिलेका प्रमुख राजनैतिक शक्तिहरूको लगाम पुरानो जत्थाले समातेको छ । ती शक्तिहरूको ‘स्टेरिङ्’ चलाउने ड्राइभरहरू बीस-तीस वर्ष अगाडि जो-जो थिए, अहिले पनि लगभग तिनै छन् । केही चर्चा कमाएका युवाहरू ‘ड्राइभर-सीट’ नजिक नपुगेका त हैनन, । तर ती संख्यात्मक रुपमा न्यून छन् । र जेजति त्यहाँ पुगेका छन्, तिनको पनि आवाज वुलन्द छ । स्थायी विकासको लागि पुस्ता परिवर्तन हुँदै जानुपर्छ, जुन नेपालमा पटक्कै भइरहेको छैन ।

२०४६ पछिको करिब पच्चीस वर्षमा देशको राजनैतिक, सामाजिक, र भौतिक बिकासमा नेपालको स्तर अन्य देशको तुलनामा गिर्दै गरेको अवस्था छ । नेकपा एमाओवादी राजनैतिक मुलधारमा आएको पनि आठ वर्ष पुगिसक्यो । यी शक्तिहरूले यतिका लामो समयमा जनतालाई स्थायित्व, शान्ति र विकास तथा नयाँ संबिधान दिन सकेनन् । भलै यो विफलताको लागि उनीहरू एक अर्कालाई औंलो ठड्याउँने छन् (र ठड्याउँदै आएका पनि छन्) । तर समग्रमा उनीहरू पूर्ण ‘विफल’ भएकोमा दुई मत नहोला ।

वर्तमान नेपाली राजनैतिक शक्तिहरूमा प्रष्ट दर्शन र विचारको खाँचो छ । तिनीहरूले आ‍-आफ्नै ‘वाद’लाई आदर्शको रुपमा छाँटेको देखिन्छन् नै । तर ती क्लिस्ट भाषामा बोलिने ‘वाद’हरूलाई जनताले बुझ्न सकेका छैनन् । पार्टीको आदर्शमा नलेखिए पनि सत्ताको बागडोरमा पुग्नेहरूको आचरण हेर्दा उनीहरू स्व-भौतिकवाद र स्व-सुबिधावादमा भने एक मत देखिन्छन् ।

अहिलेको अन्तर्राष्ट्रिय परिप्रेक्षमा नेपाली काँग्रेस समाजवादको नारा बोकिरहेको छ । कम्युनिष्ट पार्टीहरू त झन फेलै खाइसकेका विश्वका राजनैतिक मोडलहरूलाई आफ्ना नामभित्रै उनेका र भिरेका छन् । ती नामले क्रान्तिको युगमा त काम गरे होलान्, तर अबको शान्तिको युगमा बेकाम भएका छन् । वर्तमान अन्तर्राष्ट्रिय उदारवादी युगमा उनीहरूलाई आ-आफ्नो ‘वाद’ र ‘नाम’हरू निल्नु न ओकल्नु भएको छ ।

हालको नेपाली राजनीतिमा प्रतिस्पर्धाको परिपाटी परित्याग भएको छ । २०६३ पछिको प्रमुख दलहरूबिच भएको ‘सबै कुरामा सहमतिमा जाने’ नीतिले ‘बाइप्रडक्ट’को रुपमा ‘सिन्डिकेट’ भित्र्यायो । एक अर्काका गल्तीहरू ढाकछोप गर्ने र सबैले मिलेर ‘खाने’ जस्ता प्रबृत्तिको बिकास भयो । जनतामाथि सरासर धोका भयो । भविष्यमा यिनै दलमाथि विस्वास गर्ने हो भने नेपाली जनताको निमित्त आउने हरेक चुनाबका अनुहारहरू ‘खाए खा नखाए घिच्’ हुने अवस्था अवश्यम्भावी छ । त्यसैले पनि यी राजनैतिक शक्तिसँग प्रतिस्पर्धा गर्ने अर्को शक्तिको खाँचो परेको छ ।

नयाँ शक्तिको वृहत उदयका निमित्त के कठिनाइ छन् र तिनको समाधान के छ ?
लोकतन्त्र र स्वतन्त्रताले जरो गाडिसकेको अवस्थामा विल्कुलै नयाँ शक्ति एक्कासि झुल्किन त्यति सजिलो छैन । त्यस्तो शक्ति एकैपटक शिखरमा पुग्न पनि हुँदैन, किनकि त्यसले देशमा अस्थायित्वको संकेत दिन्छ ।
नयाँ शक्ति निर्माणको लागि पहिलो समस्या हो – ‘ग्रासरुट’ निर्माण । यसको बारेमा सञ्चारकर्मी रविन्द्र मिश्रले पनि औंल्याएका छन् । अरू पार्टीबाट मान्छे ल्याएर कार्यकर्ता खडा गर्न सकिँदैन । अहिले पनि नेपालमा ठुलो युवाको ‘मास’ छ, जो शिक्षित छ र जानी-जानी कुनै पार्टी विशेषसँग ‘टाँसिन’ हिच्किचाउँछ । त्यस्ता युवालाई आकर्षित गर्नुपर्छ । जसको निमित्त सजिलो भाषामा प्रष्ट बिचार प्रस्तुत गर्न सक्नुपर्छ ।

अर्को समस्या पैसा हो । अहिलेको राजनैतिक अस्थिरतादेखि वाक्क भएका नेपाली जनमानसलाई इमान्दारिताको विश्वास प्रदान गर्नु बाहेक विकल्प देखिँदैन । त्यो कठिन छ, असम्भव छैन । बिदेशमा बस्ने नेपालीहरूबाट पनि सहयोग लिन आवश्यक छ । तर त्यसको व्यवस्थापन र हिसाब-किताब भने पारदर्शी हुनुपर्छ । अमेरिका, जापान, बेलायत जस्ता देशहरूमा जस्तै राजनैतिक ‘चन्दा’हरूको बिवरण राख्ने र सार्वजनिक गर्ने नियमहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ ।

सबैभन्दा ठुलो चुनौती ‘निरन्तरता’ हुनेछ । नेपालमा विदेशका सिको गर्ने लहरहरू धेरै आउँछन्, जान्छन् । अमेरिकामा ‘अकुपाइ वालस्ट्रिट’ चल्दा नेपालमा ‘अकुपाइ बालुवाटार’ आयो, भारतमा ‘आम आदमी पार्टी’को लहर हुँदा नेपालमा पनि त्यस्तै ‘वैकल्पिक शक्ति’को खाँचो देखियो । तर तिनीहरू प्रभावकारी रुपमा लामो समयसम्म टिक्न सकेनन् । वेगमा आउने लहर, क्षणमै हराउँछ । त्यसैले शक्ति निर्माण बिस्तारै-बिस्तारै बढ्दै र सिक्तै जाने प्रक्रिया हो, न कुनै रातारातमा गरिने खेल । ‘ग्रासरुट’को विकास गर्दै, जनताको समस्या बुझ्दै, अनि त्यसको समाधानहरू खोज्दै दिन-दिन, महिना-महिना, वर्ष-वर्ष आकार बढाउँदै जानुपर्छ । त्यसको लागि धैर्यता र निरन्तरताको खाँचो पर्छ, जसको प्रेरणा नेतृत्वतहले दिन सक्नुपर्छ ।

विकासमुखी र बुझेका ईमान्दार नेताको खोजी अर्को अपरिहार्य पाटो हो । कसैको पनि निधारमा इमान्दारीताको टीका कोरिएको हुँदैन । शुरुमा एकै भावना भएका र स्वच्छ छविका व्यक्तिहरू लाग्दा भलै सजिलो होला । तर बिस्तारमा दुषित तत्वहरू छिर्न सक्ने सम्भावनालाई ध्यानमा राखी प्रष्ट नियमहरू बनाउनु आवश्यक हुन्छ । यसको यो अर्थ होइन कि विवादितहरूको निमित्त संधैको लागि ढोका बन्द होस् । केन्द्रीय तहको नेतृत्वको चयन पूर्णरुपमा ‘ग्रासरुट’ का कार्यकर्ताले गर्ने, वर्षैपिच्छे नेतृत्वको मूल्यांकन गर्ने, एकै जनाले नेतृत्व गर्न सक्ने पदावधिको संख्या निर्धारण गर्ने जस्ता नीतिहरू अवलम्बन गर्नुपर्छ । यसले कार्यकर्ताको मनोवल मात्रै बढाउँदैन, नेतृत्वतहबाट ‘फोहोर-मैला’ लाई बढारिदिन्छ । प्रजातन्त्रको सौन्दर्य नै यही हो । यसको अर्को के पनि फाइदा हुन्छ भने, ‘डेलिभर’ गर्न नसक्नेहरू स्वत: हट्दै जान्छन् र सक्षमहरू माथि आउँछन् ।

अबको शक्ति भनेको ‘कर्पोरेट’ जस्तै हो, जहाँ नियम प्रष्ट हुन्छन र जहाँ प्रतिष्पर्धा हुन्छ । दलभित्रै पनि जसले बढी ‘रिजल्ट’ दिन सक्छ, उही दलको केन्द्रतर्फको भरयाङ् चढ्दै जान्छ ।

अबको नयाँ शक्ति कस्तो हुनुपर्छ ?
यी माथिका कारणहरू केलाउने हो भने वर्तमान राजनैतिक शक्तिलाई पुछपाछ गरेर वा टालटुल पारेर दीर्घशान्ति, स्थायित्व र बिकासको सम्भव छैन । त्यसैले एउटा पृथक राजनैतिक आदर्श बोकेको, युगको माग ‘डेलिभर’ गर्न सक्ने, र सक्षम युवासमूहले बनेको नयाँ राजनैतिक शक्ति आवश्यक छ । त्यस्तो शक्तिले अहिलेका राजनैतिक शक्तिहरूलाई विस्थापित गर्ने हैन कि, बरू उनीहरूलाई पनि अरू सफा हुन दबाब सिर्जना गर्नेछ ।
नयाँ शक्तिको आदर्श र नीति निर्माण गर्दा वर्तमान र भविष्यलाई बिचार गर्नुपर्छ । हालको दोधारे र अस्पष्ट नीतिले गर्दा नेपालमा विदेशी शक्तिहरूले लगानी गर्ने वातावरण त छैन नै, देशभित्र पनि ‘जसको शक्ति उसकै भक्ति’ भइरहेको अवस्था छ । नयाँ शक्तिले उदार अर्थतन्त्र र पूँजीवादलाई अँगाल्नुपर्दछ । यसले देश विकासका पूर्वाधार बिकास गर्नुपर्छ र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ।

माथिका पंक्तिहरूमा उल्लेख गरिए झैं नयाँ शक्ति युवाकेन्द्रित र परिवर्तनमुखी हुनुपर्छ। त्यसको लागि देशभरिका शिक्षित र इमान्दार युवाहरूलाई ठाउँ दिन आवश्यक छ । तिनै युवाहरूबाट नियमित रुपमा निष्पक्ष चुनाब गराई नेतृत्व निर्धारण गर्नुपर्छ ।

नेतृत्वमा समाज र विकासका विभिन्न पाटोका विशेषज्ञहरू सम्मिलित हुनुपर्छ । उनीहरू क्षमताअनुसार घटुवा-बढुवा हुने नियमहरू बनिनुपर्छ र तिनको कार्यान्वयन हुनुपर्छ । मुख्य कुरा त नेतृत्व आफै परिवर्तनमुखी हुनु आवश्यक छ ।

नेपालले सयौं वर्षदेखि एकपछि अर्का विकासका मौकाहरू गुमाउँदै गयो । संसारमा औद्योगिक क्रान्ति, रेल-रोडको विस्तार, औद्योगिक महानगरहरूको सफाइ, रंगभेदविरुद्धका न्यायिक समानता, संचार विस्तार, सूचना-प्रविधि क्रान्ति जस्ता समाजिक क्रान्तिहरू एकपछि अर्को आउँदै जाँदै गरे । हामीहरू भने अझै पनि राजनैतिक क्रान्तिमा अल्झिरहेका छौं ।

नेपालको मुल जड ‘राजनैतिक व्यवस्था’ कम र ‘राजनीतिज्ञ’ बढी हो । हामी अहिलेसम्म कूटिल र सत्तामूखी राजनीतिज्ञको पिछो गर्दै व्यवस्थाहरू मात्रै लडाइरह्यौं । आगामी दिनमा स्वच्छ, दक्ष, र इमान्दार राजनीतिज्ञ जन्माउने, हुर्काउने र संस्थागत गर्ने काम हामी नेपाली जनता स्वयंले नगरे देशको चौतर्फी विकास, दीर्घ शान्ति र सुशासन सम्भव छैन । युग बुझेको शक्तिले मात्रै नेपालको सच्चा विकास गर्न सक्दछ । ***
http://www.ksimkhada.com/2014/04/21/newpoliticalforce/

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया