नेपालका राजनैतिक खेलाडिहरुमा यदि अहिले कसैलाई ठूलो फसाद परेको छ भने त्यो हो नेपाली काँग्रेसका सभापति सुशील कोईरालालाई । उनी अहिले ठूलो फसादमा मात्र छैनन्, धर्मसंकटमा नै छन् । त्यो धर्मसंकट बित्याँसको हैन, फलिफापको । संबिधान सभाको निर्वाचन दूवै क्षेत्रबाट जित्नु, आफ्नै कार्यकालमा ठूलो पार्टी हुनुकासाथै पार्टीलाई ऐतिहासिक जिम्मेवारी निर्बाह गर्ने अवसर प्राप्त हुनु कोइरालाका लागि फलिफाप नै हुन् । जीवनभरि लाभको पदमा नबसेका कोइरालालाई अहिले जता फर्केपनि कुन लिने कुन छोड्ने भन्ने समस्याले पिरोलेको छ । भनिन्छ बाह्र बर्षपछि खोलो फ़र्कन्छ । धैर्य गर्न सकेपछि एक न एक दिन पालो आउँछ भन्ने कुरो नेपाली काँग्रेसका सभापति सुशील कोईराला अहिले उदाहरण बनेका छन् । संबिधान सभाको निर्बाचनमा पार्टी सबैभन्दा ठूलो भएपछि उक्त दलको नेताको हैसियतले संबिधान निर्माण गर्ने सबैभन्दा बढि जिम्मेवारी पनि अहिले सुशील कोईरालाकै काँधमा छ । ठूलो दलको नेता र त्यसमाथि त्यागी र स्वच्छ छबि भएका कोईरालामा अरु केही कमीकमजोरीहरु भए पनि अहिले उनीसामु मुलुककै राष्ट्राध्यक्ष हुने कि कार्यकारीप्रमुख हुने भन्ने रोज्न पाउने अवसर जुरेको छ र दावी गर्ने हैसियत पनि छ । शायद राजनीतिमा यस्तो अवसर धेरै कमलाई जुर्छहोला ।
पार्टी सभापति पदको बिरासतलाई पनि कायमै राख्दै रोज्ने हो भने यतिखेर कोईरालाले प्रधानमन्त्री पदनै रोज्ने छन् । यदि उनले त्यसो गरेभने राष्ट्रपति पद अरुका लागि त्याग गर्नुपर्ने हुन्छ, त्यो त्याग आफ्ना दलका लागि नभएर नचाहेर पनि अर्को दललाई दिन तयार हुनुपर्ने देखिन्छ । त्यसो गर्दा छँदाखाँदाको सजिलै जुरेको मुलुककै सर्बोच्च पद राष्ट्रपति उनका लागि गुम्ने छ । यस्तो सुनौलो अवसर भोलि यसरी सजिलै जुर्ला नजुर्ला केहि भन्न सकिन्न । कि न कि राजनीतिमा को कतिबेला पछारिने हो वा बढारिने हो केहि ठेगान हुदैन । अर्को जोखिम उनले प्रधानमन्त्री रोजे पनि मोल्नुपर्ने छ । कोईरालाले प्रधानमन्त्री पदमै आँखा गाडे भने पनि धेरै पहिलेदेखि एक ब्यक्ति एक पद भन्दै आईरहेका उनकै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा चुप लागेर बस्नेवाला छैनन् । देउवालाई पार्टीको गतिलै जिम्मेवारी नदिए सम्म उनी सजिलै मत्थर हुने छैनन् किनभने संबिधान सभाको निर्बाचनबाट उनले पनि नयाँ जनादेशकासाथ नयाँ उचाई बनाएर आएका छन् । उनको पनि फूर्तीफार्ती फेरिएको छ । तर कोईरालाले देउवालाई सजिलै पार्टीको डाडुपन्यू अर्थात कार्यकारी कार्यभार सुम्पने संभावना धेरै कम छ ।
अर्कोतिर कोईरालाले राष्ट्रपति पद रोजिहाले भने पार्टी सभापतिको जिम्मेवारी त्याग गर्नुपर्ने हुन्छ भने राष्ट्रपतिको कार्यकाल सकिनासाथ सक्रिय राजनीति जीवनबाटै बिश्राम लिनुपर्ने हुन्छ । किनभने राष्ट्रपति भईसकेको मान्छे फेरि चुनावमा होमिएर राजनीति गर्ने सामान्यतय प्रचलन देखिदैन । हालका राष्ट्रपति डा. रामवरण यादव पनि राष्ट्रपतिको जिम्मेवारी सकिए पछि सक्रिय राजनीतिमा देखिने छैनन् । त्यसै
उता एमालेले भने काँग्रेसले कुन पद लिन्छ र कुन छोड्छ त्यसका आधारमा को अगाडि जाने भन्नेमा सत्ताको दौडमा पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली दाउ हेरेर बसिरहेको अवस्था छ । एमालेभित्रका राजनीतिका यी चतुर खेलाडिहरु कुन पद काँग्रेसलाई दिंदा आफुलाई के आउँछ र त्यसमा आफु कसरी फिट हुने वा आफ्नो स्पेश कसरी सुरक्षित गर्न सकिन्छ भन्ने ध्याउन्नमा को संग मिल्ने वा समिकरण गर्ने भन्नेमा निकै गृहकार्य गरिरहेको देखिन्छ । यसरी सत्ताको जोडघटाउमा अहिले नेपाली काँग्रेस र एमालेका प्रभावशाली पंत्ति अहोरात्र कसरतमा लागेका छन् । सत्ता समिकरणको पेचिलो चलखेलले अरु केहि समय लाग्ने भएकोले संबिधान निर्माणको बिषय अझै केही समय ओझेलमा पर्ने देखिन्छ ।ले राष्ट्रपति पद कोईरालाका लागि अलि जोखिमपूर्ण र पहिलो प्राथमिकतामा नपर्ने देखिन्छ । यसरी हेर्दा परिस्थितिले दूवै हातमा लड्डु आईलागेको नेपाली काँग्रेसले राष्ट्रपतिको बहस अहिले नगरौं भन्नुको गाँठी कुरा यहिनेर लुकेको छ । नयाँ राष्ट्रपति चयन गर्ने बहसमा जाने हो भने प्रधानमन्त्रीसहित राष्ट्रपति पनि दूवै आफुले पाउन संभव छैन भन्ने नेपाली काँग्रेसलाई राम्रोसंग थाहा छ त्यसैले कोइरालाको किचेन क्याबिनेटले बडो चलाखीपूर्वक कूटनीतिक भाषामा सुरुदेखि नै संबिधान जारी गर्नुअघि राष्ट्रपतिको बिषयमा प्रवेश नगरौं भन्दै आईरहेको छ । किनभने छँदाखादाको आफ्नै कोटाबाट राष्ट्रपति भएका डा. रामवरण यादवलाई चलाउनु उसका लागि आवश्यक छैन झन गुम्छ मात्र, प्रधानमन्त्री आफ्नो पोल्टामा आईहालेकै छ । त्यसैले यो फर्मुला लागू गर्नका लागि नेपाली काँग्रेस न्वारानदेखिको बल लगाएर लागेको छ । यो फर्मुलाले काम गर्यो भने राष्ट्राध्यक्ष र सरकारप्रमुख दूवै नेपाली काँग्रेसको पोल्टामा पर्नेछ । नेपाली काँग्रेसको यो चलाखीलाई राम्रोसंग बुझेको र केहि सिटले मात्र नेका भन्दा पछि परेको एमालेले नयाँ जनादेशअनुसार राष्ट्रपति पनि परिबर्तन गर्नुपर्ने भन्दै आएको छ । यसो भन्नुको अर्थ सहमतिमै शक्ति बाँडफाँड गर्ने हो भने पनि राष्ट्रपति वा प्रधानमन्त्री मध्य एउटा आफ्नो भागमा पर्ने अंकगणित नेकपा एमालेको हो । नेपाली काँग्रेसले डा. रामवरण यादवलाई राष्ट्रपतिमा साबिकै कायम राखेर संभव भए सबै ठूला दलहरुलाई समेत लिएर संभव नभए अरु साना दलसंग मिलेर भएपनि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको देखिन्छ । त्यो सरकारको नेतृत्व सुशील कोईरालाकै हुने लगभग पक्कापक्की जस्तै देखिन्छ ।
अर्कोतिर तेस्रो ठूलो दल एमाओबादी र मशेधबादीलगायतका दलहरु चुनावमा धाँधली भएको भन्दै छानबिन हुनुपर्ने नत्र संबिधान सभामा प्रवेश नगर्ने भनेर घूर्की लगाउँदै असन्तुष्ट दलहरुको गठबन्धन निर्माण गरेर शक्ति प्रदर्शन गर्न भण्डाफोर अभियानमा उत्रने बताउँदै आएका छन् ।
नेपाली जनताले संबिधान सभाको निर्बाचन पछि देशले एउटा स्थिर सरकार पाउने छ, दलहरु मिलेर फटाफट संबिधान बनाउने छन्, देशमा शान्ति र सुब्यवस्था कायम हुने छ अनि मुलुक आर्थिक समृद्धिको राजमार्गमा द्रुत गतिले अगाडि बढ्ने छ भन्ने अपेक्षा पुरा हुने संकेत दलहरुको अहिलेसम्मको गतिबिधिले देखाएको छैन । यसको मुल कारण हो सबैले पत्याएका र सबैभन्दा अग्ला कदका सबैलाई मिलाएर हिडाउन सक्ने राष्ट्रिय नेताको अभाव । त्यस्तो नेता जसलाई राष्ट्रले मानेको हुन्छ, त्यस्तो नेता जो दलीय स्वार्थ र सत्ताको लागि मरिहत्ते गर्दैन । अहिले देशलाई त्यस्तो नेताको खाँचो छ । जब जब देशमा संकट पर्छ मुलुकबासीले राष्ट्रिय नेताको अभाव महशुस गर्दछन् ।
अघिल्लो संबिधान सभाको निर्बाचनबाट ठुलो दलको हैसियत बनाउँदै उदाएका एमाओबादीका अध्यक्ष प्रचण्डप्रति देशले निकै ठूलो अपेक्षा गरेको थियो । त्याग र तपस्या अनि बलिदान पनि राजनेतामा हुनुपर्ने रहेछ । बिगत ५, ६ बर्ष हेरेपछि नेपाली जनताले तुरुन्तै मनस्थिति परिबर्तन गरेर प्रचण्ड र प्रचण्डको पार्टीलाई सानो बनाईदिएका छन् । यद्यपि एमाओबादी अध्यक्ष प्रचण्डलाई निर्बाचनमार्फत नेपाली जनताले दलीय हैसियत सानो बनाईदिएको भए पनि ठूलो दल बनेको भोलिपल्टैदेखि ती दलका नेताहरु प्रचण्डलाई फकाउन लागिपरेका छन् । शान्ति र संबिधानको यात्रामा प्रचण्ड मात्र एउटा यस्ता पात्र हुन कसैले नचाहेर पनि उनको भूमिका सुरक्षित हुन्छ र हुनुपर्दछ । शान्तिवार्ताका हस्ताक्षरकर्ता, सेनासमायोजनका पहलकर्ता र संबिधान सभाका आयोजनाकर्ताको हैसियतले प्रचण्डको उचाई एउटा चुनाव हार्दैमा होंचिदैन । उनको भूमिका अझ बढेर गएको छ । तर काँग्रेस र एमालेले ४७ सालकै संबिधान ब्युँताउने रणनीति बनाउन थाले भने किनाराको साक्षी मात्र भएर प्रचण्ड अवश्य बस्ने छैनन् । तात्कालिक परिस्थितिको गम्भीर संश्लेषण गर्दै नेपाली जनताको पक्षमा उभिने छन् ।
देशलाई संकट परेको बेला होचा, बामपुड्के, पदलोलुपताका लम्पट नेताहरु आफु आफु कूर्सीको लडाईमा भिड्न थाले भने अरु सबै कुरा बिर्सन्छन् अनि देश भड्खालोमा जान्छ । त्यसैले नेता हुनु नै छ भने नेपाली काँग्रेसको मात्रै होइन राष्ट्रकै नेता हुनुपर्छ अब सुशील कोईराला । अनि नेपाली जनताले सँधै कुन रोज्ने कुन छोड्ने बनाईरहने छन् सुशील कोईरालालाई जसरी अहिले चितवन रोज्ने कि बांके, राष्ट्रपति रोज्ने कि प्रधानमन्त्री भएको छ । दलगत स्वार्थ र भागबण्डाभन्दा माथि उठेर सबैभन्दा अग्ला नेता बनेर देखाउने अवसर सुशील कोईरालालाई जुरेको छ, जुन उनले गुमाउने छैनन् अर्थात त्यो हिम्मत देखाउने बेला आएको छ, कोईरालालाई । त्यसैले अहिले सुशील इतिहासकै अग्नि परीक्षामा छन् भने प्रचण्ड गम्भीर समीक्षामा । ***