अस्ती भर्खरै दशैंतिहार सकियो । मीठो खान र राम्रो लाउन पाउने पर्वको रुपमा हामी दशैंतिहारलाई मुख्य रुपमा मान्छौ । दशैंतिहारमा थापेका रोंटे पिङ्ग, लिंङ्गे पिङ अव एक वर्षको लागि थन्क्याई सकिएको छ । दशैंतिहारलाई मध्येनजर गरेर खुलेका सस्तो बजारहरु पनि अब एक वर्षकै लागि बन्द भैसक्यो । त्यसो त हरेक वर्ष टुडिखेलमा लाग्ने सस्तो खसी र भेडाच्याङग्रा मेला पनि अहिले देख्न पाईंदैन । किनभने यतिखेर ती चिजहरुको मौसम (सिजन) होइन। तर यतिखेर दशैं सकिए पनि अर्को वेमौसमी भेडाच्याङग्रा मेलाको भने मारामार परेको छ । कुरो चार खुट्टे भेडाच्याङग्राको होइन, दुइ खुट्टे भेडाच्याङग्रा मेला, वेमौसमी भेडाच्याङग्रा मेलाको हो । हरेक दशैंमा भेडाच्याङग्रा मेला टुडिखेलमा देख्न पाइन्थ्यो । तर यो वेमौसमी भेडाच्याङग्रा मेला भने हरेक गल्ली गल्लीमा, पार्टी कार्यालयमा अनि गाउँ-गाउँमा हुने आम सभाहरुमा देख्न पाइन्छ । अस्ति भर्खरै एक हुल दुइ खुट्टे भेडाच्याङ्ग्रा पेरिस डाँडाको खोरमा भित्र्याए । त्यसैको हप्ता दिन पनि नवित्दै अर्को हुल भेडाच्याङग्रा वल्खुतिरको खोरमा छिरे । हुल बाँधेर यताबाट उता अनि फेरि उताबाट निस्केर अर्कोतिर जानेक्रम जारी रहेको छ । यस क्षेत्रका विज्ञहरु यो भेडाच्याङग्रा मेला मंसीर ४ सम्म निकै फस्टाउने अडकल काट्छन् । त्यसपछि केही समय भेडाच्याङग्रा खरीदविक्री स्थिर रहला ।दशैंको भेडाच्याङग्रा मेलामा मोटा र ज्याँङ्गो भेडाच्याङग्रा बढीको आकर्षणमा रहन्थ्यो भने यो भेडाच्याङग्रा मेलामा चिम्सा र मरन्च्याँसे भए पनि हुने तर अलि चतुरे भेडाच्याङग्राको बढी खरीदविक्री हुने गरेको पाइएको छ । भेडाच्याङग्राको शरीरको मोटाई, उचाई र भूँडीको साइज भन्दा पनि सामर्थ्यको आधारमा किनवेच हुन्छ, मूल्य निर्धारण हुन्छ । सँधैजसो दशैंमा लाग्ने भेडाच्याङग्रा मेलामा भेडाच्याङग्राहरु निरीह हुन्छन्, बोल्न सक्दैनन् । धनीले जति मूल्य निर्धारण गर्छ त्यसैमा घिसारिनु पर्दछ । तर वेमौसमी भेडाच्याङग्रा मेलाका भेडाच्याङग्राहरुलाई भने आफ्नो मूल्य आफै निर्धारण गर्न पाउने अधिकार छ । भेडाच्याङग्राका पनि विभिन्न स्तर हुन्छन् । साधारण तहका भेडाच्याङग्राहरु सीधा स्वभावका हुन्छन् भने नाइके भेडाच्याङग्राहरु अलि बढी चम्मु र छुच्चा हुन्छन् । उनीहरु ठाउँ र परिस्थिति अनुसार आफ्नो मूल्य आफै निर्धारण गर्दछन् । यतिखेर बजारमा साधारण भेडाच्याङग्रको पाँच सय र नाईके भेडाच्याङग्राको मूल्य पाँच हजारदेखि पाँच लाखसम्म भएको जानकारहरुको अड्कल छ । साधारण केही पनि सामर्थ्य नभएको भेडाच्याङग्रा साधारण भेडाच्याङग्रामा गनिन्छन् र तिनीहरुको मूल्य बजारमा ५०० को हाराहारीमा रहेको बुझिएको छ, भने नाईके भेडाच्याङग्राहरुको मूल्य अलि वेसी पर्न जान्छ । साधारण भेडाच्याङग्राहरु नाइके भेडाच्याङ्ग्राहरुको खटनपटनमा बस्नुपर्ने हुन्छ । त्यसो त नाईके भेडाच्याङ्ग्राहरुले साधारण भेडाच्याङ्ग्राहरुको दिमाग भुटन सक्नुपर्दछ । जतिधेरै साधारण भेडाच्याङ्ग्राहरुको दिमाग भुटन सक्यो उति नाईके भेडाच्याङ्ग्राहरुको मूल्य आकासिंदै जान्छ । नाईके भेडाच्याङ्ग्रामा हुनुपर्ने गुणहरुमा झुटो बोलेर, विभिन्न लालच देखाएर, जतिसक्दो साधारण भेडाच्याङ्ग्राहरुलाई मन्त्रमुग्ध पार्न सक्नुपर्दछ । यस्ता कार्यहरुमा खारिंदै गएपछि उसको बजारभाऊ बढ्दै जान्छ । नाईके भेडाच्याङ्ग्राहरु पनि सबैभन्दा ठूलो थुमाले भनेको निर्देशनहरु मान्छन् । थुमा भेडाको सल्लाहमा नाईके भेडाको खट्नपट्न नमान्ने भेडाहरुलाई खोरबाट निकालिने नियम हुन्छ तर वेमौसमी भेडाच्याङग्रा मेलाको समयमा भने निकाल्ने भन्दा पनि बढी आफ्नै खोरमा बढी भन्दा बढी भेडाहरु छिराउने जोडतोडमा सबै थुमा तथा नाईके भेडाहरु लागि पर्दछन् । कहिलेकाहीं दुइ भिन्दै खोरका भेडाहरु मरुन्जेल जुध्छन् । अरुको समूहको भेडाहरुलाई हान्ने, खोर भत्काईदिने, सिंगौरी खेल्ने भेडाहरुको काम हो । जुधेर थाकेपछि थुमा भेडा र नाईके भेडाहरुको रोहवरमा दुइ खोरको भेडाहरुको वार्ता पनि हुन्छ । वार्ता निस्कर्षविहीन टुंगिएपछि थुमा भेडा र नाईके भेडाहरु फेरि आफ्नो समूह ठूलो बनाउन साधारण भेडाहरु बटुल्न थाल्छन् । साधारण भेडाहरुलाई ठाउँठाउँमा भेला पारेर समग्र भेडाहरुको हकहितको बारेमा बोल्छन् । आफूहरुले मात्रै भेडाहरुको भलाईको लागि नियम बनाउन सक्ने कुरामा ठोकुवा गर्दछन् । थुमा भेडा र नाइके भेडाहरु अन्य खोरहरुमा भन्दा आफ्नो खोरमा साधारण भेडाहरुको संख्या ठूलो भएको कुरा गर्न प्राय छुटाउँदैनन् । सोही अनुरुप साधारण भेडाहरु कुनचाहीं थुमाको कुरा पत्याउने भन्ने कुरामा दोधार हुन्छन् ।
यही दोधार दोधारमा नै मंसीर ४ सकिन्छ अनि नाइके भेडाहरु आफ्नो सही मूल्यांकन नभएको गुनासो थुमाहरुलाई गर्दछन् । अनि फेरि थुमाहरु एक आपसमा सल्लाह गर्छन अर्को भेडाच्याङ्ग्रा मेलाको । अनि दोहोरिन्छ पटक-पटक उही एउटै कुरा वाह्रैमास वेमौसमी भेडाच्याङ्ग्रा मेलाको ।
वेमौसमी भेडाच्याङ्ग्रा मेला-जिन्दावाद ।
हामी नेपाली-जिन्दावाद ।
हामी भेडाहरु-जिन्दावाद ।