हाम्रो प्यारो साझा संस्था गैरआवासीय नेपाली संघ दोस्रो दशकमा प्रवेश गरेको छ, धेरै मेहनतबाट हाम्रो संस्थाले वैधानिकता पाएको छ । यो हाम्रो लागि एकदशकको एउटा महत्वपूर्ण उपलब्धि हो । अब आउने दशक संस्थाका लागि सुखद र सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
मित्रहरु, हामीले यो संस्था निर्माणमा धेरै कुटो कोदालो चलाएका छौं, धेरै पसिना बगाएका छौं । आजसम्म यो संस्थालाई यहाँसम्म ल्याइपुरयाउन हामीले आ—आफ्नो क्षेत्रबाट जुन भूमिका खेल्यौं, त्यसका लागि सबै अग्रज र आदरणीय गैरआवासीय मित्रहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
हाम्रा सामु यो विशाल संस्थालाई कसरी अगाडि लैजाने भन्ने ठूला चुनौतीका पर्खालहरु थिए, आज पनि छन्, भोलि पनि त्यस्तै चुनौतीहरुको सामूहिक रुपमा सामना गर्नुपर्नेछ । मलाई आशा छ, शेष घलेजीले त्यो पर्खाल चिर्नुहुनेछ । उहाँ आफैमा सफल व्यक्तित्व हुनुहुन्छ, एनआरएनहरुको शीर उच्च पार्न शेषजीलाई सहयोग गर्न म हरपल तयार छु । यो संस्थाका विभिन्न ओहोदामा रहेर ऐतिहासिक क्षणहरुको साक्षी हुँदै अहिलेसम्म मैले आर्जन गरेको अनुभवलाई एनआरएन अभियानको हितमा प्रयोग गर्न म सदाझैं सक्रिय रुपमा लाग्नेछु ।
डायस्पोरामा हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीले धेरै दुःख कष्ट भोग्नुपरेको सर्वविदितै छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, युरोप, अमेरिका र जापान, कोरिया या अन्य कुनै राष्ट्र पुगेका नेपालीका समस्या भिन्नभिन्न छन् । तसर्थ, देश सुहाउँदो नीति कार्यान्वयन गर्न जरुरी छ । यो महाधिवेशनको छलफलका क्रममा पनि कतिपय त्यस्ता विषयहरु उठेका छन्, जसले अबका दिनमा नीति निर्माणमा ठूलो उपलब्धि मिल्नेछ । वैदेशिक रोजगारीका मुद्दा समाधान गर्न पैसा मात्र सवै कुरा होइन, राज्यको कोषमा अहिले पनि करोडौं रुपैंया थुप्रिएर बसेको छ । त्यसको समेत सही र पारदर्शी परिचालन हुन सकेको छैन । तसर्थ, यसअघि हाम्रा अध्ययनबाट निर्देशित भएका तथ्यहरुलाई नीति निर्माणमा लागू गरियोस, म यही आग्रह गर्न चाहन्छु ।
साथीहरु, हामीले एनआरएनको सफल नेतृत्व चयन गर्न यसपटक लोकतान्त्रिक अभ्यास गरेका हौं । हाम्रो इतिहासमा अध्यक्ष चयनमा पहिलोपटक भएको यो महत्वपूर्ण अभ्यास हो । तर, यसलाई गलत रुपमा नबुझियोस । म यही आग्रह गर्न चाहन्छु । हामी आवासीय तथा गैरआवासीय नेपालीहरुको अबको ध्यान भनेको आगामी संविधानसभाको निर्वाचन हो । त्यसले हामी गैरआवासीय नेपालीका थुप्रै मुद्दाहरु निर्धारण गर्छ । कतै हामी गैरआवासीय नेपालीहरुको यो महाधिवेशनलाई त्यो निर्वाचनले समेत छोएको त होइन ? अब हामी आफैले आफैलाई प्रश्न गर्नुपर्ने भएको छ । मैले एनआरएनमा राजनीति घुसाउन खोजेको होइन । तर, कसले राजनीति घुसाउन खोजे ? यो संस्थाको हितमा कस्ले कस्ता काम गरे, इतिहास साक्षी छ ।
लोकतान्त्रिक प्रक्रियामा गएपछि हारजित त भइहाल्छ, मैले चुनावमात्र हारेको हो, म आफूले हारेको छैन । अब्राहम लिंकन जस्ता विश्व पुरुषले समेत पटकपटक चुनाव हारेको इतिहास छ । त्यसकारण साथीहरु, मैले हरेश खाएको छैन ।
मित्रहरु, मलाई हराउनका लागि मतदान अघि कस्ता खेलहरु भए ? कसले कहाँ—कहाँ भेटे, सोल्टी होटलका गोप्य कोठाहरुमा के—के भयो ? म जानकार भएपनि संस्थाको जिम्मेवार महासचिव भएको नाताले त्यतिबेला जिम्मेवार ढंगले प्रस्तुत हुनु मेरा लागि बाध्यता थियो । मैले मेरो महासचिवको अधिकारलाई यो महाधिवेशन भरी कहीं दुरुपयोग गरिन । त्यसप्रति म आफैलाई गर्व छ ।
अन्त्यमा, हाम्रो यो छैटौं महाधिवेशनमा शेषजी र मैले सदभावको प्रतिस्पर्धा गर्यौं । यो सद्भाव सँधै कायम रहोस, म त्यही चाहन्छु । प्रमुख संरक्षक देवमान हिराचनज्यू, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोज्यू, संस्थापक महासचिव भीम उदासज्यू लगायत सम्पूर्ण हाम्रा अग्रजहरुले देखाएको बाटोमा एकताबद्ध हुन म सम्पूर्ण गैरआवासीय नेपाली मित्रहरुलाई आह्वान गर्दछु । साथै, आजसम्म मलाई एनआरएनको यो अभियानमा हातेमालो गरिदिनुहुने सम्पूर्ण गैरआवासीय तथा आवासीय मित्रहरु, सञ्चारमाध्यमका साथीहरुलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।
जय एनआरएन !
(एनआरएनको छैटौं महाधिवेशन समापन समारोहमा शेर्पाले दिएको मन्तव्य । उनी घलेसँग भारी मतले पराजित भएका थिए )