Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

cp Baniyaकान्तिपुर पब्लिकेसनसँग आबद्ध एकजना पत्रकारलाई अनौपचारिक पोशाकमा उपस्थित भएवापत सर्वोच्च अदालतको इजलासबाट निष्कासन गरिएछ । कुरो ठूलो होइन पनि, हो पनि ! सबै सार्वजनिक महत्वका संस्थाहरुका आ-आफ्नै नियम, परम्परा र काइदाहरु हुन्छन्, अभ्यासहरु हुन्छन् । मुलुकको कानुनबाट मान्यता नपाएकै भए पनि त्यस्ता अभ्यासहरुले ऐन नियम जत्तिकै महत्व राख्छन् । ती परम्पराहरुमा संस्थासँग आवद्ध सम्बद्ध रहनेहरु अभ्यस्त भैसकेका हुन्छन् । त्यस्ता अभ्यासहरु अनिवार्य परम्परा बनिसकेका हुन्छन् । नैतिकवान समाजका लागि अभ्यास र परम्पराहरु ऐन कानुन जत्तिकै मान्य रहेका हुन्छन् भन्ने कुरा विश्वप्रजातन्त्रको जननी भनिने बेलायतमा लिखित संविधानविना नै शताब्दीयौंदेखि व्यवस्था मजैले चलिरहेबाट प्रमाणित हुन्छ । त्यसैले हरेक सचेत नागरिकले व्यवहार र मर्यादाको बारेमा जानकारी राख्नु जरुरी हुन्छ । कर्तव्यबोध पनि नगर्ने, परम्पराको पनि ख्याल नगर्ने र मर्यादा राख्न पनि नजान्ने उरेन्ठेउलाहरुलाई कुनै अधिकारीले नसिहत दिनु वा दण्डित गर्नु अस्वाभाविक मानिदैन ।

अदालतको मर्यादाको ख्याल नराख्ने लेखन व्यवशायीले आफ्नो नासमझी र असभ्यताप्रति लज्जाबोध गर्नुपर्ने हो । आयन्दा सामाजिक मर्यादाका सानाठूला कुराहरुप्रति सजग रहने शिक्षा लिनुपर्ने हो । तर त्यसो भएन । ईजलाशबाट गर्धन्याइएका पत्रकार महोदयले आफू अपमानित भएको ठानेछन् । इख लिएछन् । प्रतिष्ठाको विषय बनाएछन् । अवश्य न्यायायधीशको व्यवहार अपमानबोध गराउने खालको पनि हुनसक्छ तर अपमान गराइमाग्नमा आफ्नो व्यवहार कति जिम्मेवार छ भन्ने कुरातिर पनि दृष्टि दिनु राम्रो हुन्थ्यो । पत्रकार महोदय त सिकायत लिएर प्रधानन्यायाधीशको च्याम्बरसम्म पुगेछन् । आफू संलग्न रहेको प्रत्रिकामा आलेख नै छपाएछन् । पत्रकारको त्यस्तो नादानीले उनैको बच्कनापन र दम्भको सार्वजनिक प्रदर्शन हुनपुग्यो भन्नु बढ्ता हुन्छ जस्तो लाग्दैन । हो, हुनत पत्रकारहरुले निश्चित पोशाकमै ठाँटिएर आफ्नो व्यवशाय चलाउन सम्भव हुँदैन । औपचारिकता, मर्यादा र परम्परा भन्दा पत्रकारहरुका निमित्त समाचार महत्वपूर्ण हुन्छ । लगौटीमै रहेको अवस्थामा संकलन गरिएको भएपनि समाचारको विषय (थिम) ले महत्व राख्दछ । त्यो आकस्मिताको कुरा हो । अड्डा, अदालत र इजलासहरु आकस्मिकरुपमा प्रवेश पाइने ठाउँहरु होइनन् भन्ने सामान्यज्ञानको भने जति ठूलो पत्रकार भए पनि जानकारी रहनु राम्रो हो ।

हुन त पोशाकको मर्यादाको सन्दर्भमा हामी नेपालीको चेत शुषुप्त अवस्थामै छ भन्दा फरक पर्दैन । हवाइचप्पलमा मात्र होइन, खालीखुट्टा संसद भवन प्रवेश गर्ने सांसदहरुको उदाहरण खोज्न अन्त जानुपर्दैन । प्रधानमन्त्रीले सुट-टाईसँग भादगाउँले टोपी ढल्काउने मुलुक पनि हाम्रै हो । एक जमानामा नेपालको राष्ट्रिय पोशाकको मान्यता पाएको नेपाली ड्रेस आफै कम्ति मनोरञ्जक छैन । दौरासुरुवाल माथि कोट -! दौरासुरुवालसँग कोट लगाउनु र कुर्तासुरुवालसँग कोट लगाउनु उस्तै हो । कुनै उटपट्याङ्ले कुर्तासुरुवालसँग कोट लगाएको देख्दा हाँसो थाम्न नसक्ने हामीहरुले आफुले दौरासुरुवालसँग पश्चिमा कोट भिरेको देख्दा अरु कसैले “जीवित जुलुङ्गो” नै ठानेको पो छ कि भनेर कल्यिै सोचिदैन । दौरासुरुवाल, कोट, टोपीको “राष्ट्रिय पोशाकको मान्यता” निलम्बित हुन गएको पनि त्यसैले होला सायद । हुन पनि जातीय र सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा सबै जाति संस्कृतिका लागि साझा बन्न सक्ने कुनै यौटा “ड्रेस कोड” को अपेक्षा गर्न सकिदैन । न त दोचासँग कालो छाला जुत्ता लगाउन मिल्छ, नत धोतीमाथि दौरा नै सुहाउँछ ।

दौरा, सुरवाल, कोट र टोपीको ड्रेसकोड पञ्चायतकालमा अनिवार्य मानिन्थ्यो । टोपीविना सर्बसाधारणलाई सरकारी कार्यालयहरुमा प्रवेश समेत निषेध थियो । कर्मचारी र सामाजिक राजनीतिक कार्यकर्ताहरुको पहिचान नै दौरा,सुरुवाल, कोट मानिन्थ्यो । जति नै ठूलो नेता भएपनि औपचारिक पोशाकविना राजाको दर्शनभेट पाउँदैनथ्यो । २०४० सालमा तत्कालीन राजा वीरेन्द्र म्याग्दीको वेनीमा पुग्दाको ड्रेस कोड सम्बन्धी यौटा घटना निकै चर्चित भएको थियो । एकजना छन्त्याल थरका पंचनेतालाई विनाड्रेसमा राजाको दर्शनभेट गराएको निहुंमा राजाका एडिसीको हुकाई तत्कालिन महापञ्च भीमप्रसाद गौचनले खानु परेको थियो रे ! औपचारिक ड्रेसको नाममा महापञ्चजस्तो हस्तीले त सामान्य कर्मचारीबाट खप्की खानुपर्दो रहेछ भने कान्तिपुरका पत्रकार बिचरा कुन ठूलो हैसियतका हुन र ?

एक जमाना थियो नेकपा एमालेले आफूलाई अब्बल क्रान्तिकारी कम्युनिष्ट पार्टी भनाउने सोख पाल्थ्यो । देश विदेश जताततै उसको परिचय नै त्यस्तै बनेको थियो । कम्युनिष्टहरुले परम्परागत रुपमा भन्दै आएको “जनवाद”लाई मदनभण्डारीले नयाँ कल्की भिराएर ‘जनताको बहुदलीय जनवाद’ बनाइदिए । मदन भण्डारीको दस्तावेजले कहीँ पनि संसदीय व्यवस्थालाई स्वीकारेको थिएन । त्यसले जनवादी क्रान्ति सम्पन्न भएपछि समाजवादमा फड्को नमार्दासम्मको अवधिमा जनवादी दलहरुबीच हुने प्रतिस्पर्धालाई सम्म स्वीकारेको हो । बर्लिनको पर्खाल भत्किएको त्यो जमानामा एमालेलाई क्रान्तिकारी बाटो परित्याग गर्न राष्ट्रिय अन्तराष्ट्रिय दवाव पर्नु स्वाभाविक थियो । किनकि एमाले कस्तो पार्टी भनेर मूल्याङ्कन गर्ने आधार त उसको आधिकारिक दस्तावेज नै थियो । त्यही दवाव खेप्न नसकेर मनमोहन अधिकारीजस्ता पाका नेताले समेत पार्टीको नाम र झण्डासँग कम्युनिष्ट परम्पराले निरन्तरता पाउनु केवल जनताको मत आकर्षित गर्ने “ट्रेड मार्क” मात्रै हो, एमाले त पूर्णरुपमा प्रजातान्त्रिक भैसकेको छ भन्दै अन्तराष्ट्रिय समुदाय समक्ष स्पष्टिकरण दिँदै हिड्नुपर्थ्यो ।

एमालेले ९० को दशकमा भोगेकेा त्यो समस्या यतिबेला नेकपा एमाओवादीले समेत भोगिरहेको छ । एमाओवादीलाई पनि कट्टरपन्थी कम्युनिष्ट नै भनेर चिनिन्छ, हेरिन्छ । खासगरेर देशभित्रका अन्य प्रतिस्पर्धी पार्टीले उसलाई अझै पनि हिंसाको मानसिकताबाट मुक्त भैनसकेको उग्रवामपन्थी पार्टी भनेर आरोपित गर्ने गर्छन । एमाले यतिबेला काँग्रेसको कान्छो भाईमा रुपान्तरित भएको मात्र होइन, व्यवहारमा राप्रपाजस्ता दक्षिणपन्थी पार्टीको समेत निकट छ जस्तो देखिन्छ । तर उसको औपचारिक दस्तावेजमा भने मदन भण्डारीले गरेको मस्यौदामा एक अक्षर पनि तलमाथि पारिएको छैन । एमालेको दस्तावेजले त अझै पनि जनवादी क्रान्तिको कुरा गर्छ । बरु एमाओवादीको हेटौंडा महाधिवेशनले जनवादी क्रान्तिको परम्परागत कम्युनिष्ट गर्जन छोडेर “पूजिँवादी” क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने नयाँ नीति सार्वजनिक गरेको छ । अर्थात पूंजिवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशाले एमाओवादीलाई एमालेभन्दा एक कदम अगाडि र काँग्रेसको नजिक पुर्‍याएको छ भन्दा फरक पर्दैन ।

पार्टी कुन कित्ताका हुन अथवा कुनै पार्टी कुन वर्ग कित्ताको प्रतिनिधित्व गर्छ भन्ने कुरा उसले अख्तियार गर्नें नीति, रणनीति र कार्यदिशाले निर्धारण गर्ने हो । पार्टीको कार्यनीति, रणनीति, मार्गदर्शक सिद्धान्त र कार्यदिशा के हो भन्ने कुरा पार्टीको आधिकारिक दस्तावेजबाट खुल्ने कुरा हो । अर्थात पार्टीको दस्तावेज पार्टीको “ड्रेसकोड” हो । ड्रेसकोड हेरेरै उसको रंग रुप छुट्ट्याइने हो । हाम्रो मुलुकमा भने त्यस्तो गरिदैन । नेपाली काँग्रेसले नेकपा एमाओवादी भन्दा एमालेलाई निकटको मित्रशक्ति मान्दछ । यतिबेला एमाले र काँग्रेसबीच देखिने निकटता सिद्धान्तको किमार्थ होइन, स्वार्थको हो । त्यसो हुँदैनथ्यो भने एमाले र एमाओवादीका “ड्रेसकोड”(दस्तावेज) हरु हेरेर को नजिक र को टाढा भनेर छुट्टयाउँदो हो । त्यसको अर्थ नेपालमा पोशाक हेरेर मान्छेको पहिचान गरिदैन भन्ने कुरा प्रमाणित हुनु हो । विचरा पत्रकार मित्रको गुनासो पनि त्यस्तै हो । उनको चित्त दुख्नुको कारण आफुले जस्तै पोशाक लगाएको अर्को पत्रकारमा न्यायाधीशको आँखा नपर्नु पनि रहेछ । ती न्यायाधीशको मूल्याङ्कन शैली नेपाली काँग्रेसकै जस्तो हचुवा प्रकृतिको हुन पनि सक्छ । अथवा उनलाई देख्ने न्यायाधीशको आँखामा अर्को पत्रकार नपरेको पनि हुनसक्छ । पत्रकार मित्रसँग अनुरोध गर्न मन लागेको कुरा के मात्रै हो भने आफू भेदभावपूर्ण पक्षपातको शिकार भएको गुनासो गर्नुभन्दा आफूभित्र रहेको कमजोरी पहिचान गर्ने, सच्याउने र दोष औंल्याइदिनेहरुप्रति कृतज्ञताभाव प्रदर्शन गर्ने उत्साह देखाएर सभ्य नागरिकको परिचय दिनु राम्रो हुँदो हो कि ? ***

(लेखक बानियां म्याग्दी जिल्लाका पूर्व सभासद हुन)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया