क्वालालम्पुर – वैदेशिक रोजगारीमा मलेसिया आएका तीन नेपालीको मृत्यु भएको छ । इपोका छुट्टाछुट्टै तीन कम्पनीमा कार्यरत उनीहरूमध्ये दुईको हृदयघात र अर्का एकको डुबेर मृत्यु भएको हो ।
बातुतिकातस्थित प्रोडिन्युसिटी कम्पनीमा दुई वर्षदेखि कार्यरत रामबहादुर राई र इपोकोतो एन्ड नुडल्स नामक कम्पनीमा कार्यरत ३५ वर्षीय सुरेन्द्र ठाकुरको हृदयघातबाट मृत्यु भएको हो । सिस्नेरी ७ ओखलढुंगाका राईको अगस्ट २६ मा र महोत्तरी ५, महोत्तरीका ठाकुरको गत मंगलबार मृत्यु भएको हो ।
यस्तै, इपोकैकिन्तारुबल वर्कस् नामक कम्पनीमा कार्यरत घुम्ती, छलाङ ३, धादिङका लक्ष्मण गुरुङको माछा मार्ने क्रममा कम्पनी नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो । राई र गुरुङको शव गत अगस्ट २७ मा नेपाल पठाइसकिएको र ठाकुरको शवलाई भने यहाँस्थित एक अस्पातालमा राखिएको छ । ठाकुर अवैधानिक रूपमा कार्यरत थिए । उनी अवैधानिक भएकाले शव नेपाल पठाउन समस्या भएको त्यहाँ कार्यरत नेपालीले बताए । उनीहरूका अनुसार कम्पनीले शव नेपाल पठाउनका लागि आफूले एकहजार रिंगिट मात्र सहयोग गर्ने जनाएको छ । मलेसियामा मृत्यु भएकाको शव नेपाल पठाउन कम्तीमा ४ हजार रिंगिट खर्च लाग्छ । शवलाई नेपाल पठाउन आवश्यक कानुनी प्रक्रियाका लागि सहयोग गर्न उनीहरूले सबैमा आग्रह गरेका छन् ।