
एकीकृत माओवादी अध्यक्ष पुष्पमकल दाहालले संविधानका विवादित विÈयमा सहमति जुटे राष्ट्रिय सहमतिको नेतृत्व कांग्रेसलाई दिन सकिने बताइरहेका बेला कांग्रेसमा फेरि भित्रभित्रै प्रधानमन्त्री उम्मेदवारको दौड सुरु भएको हो।
बाबुराम भट्टराईको बहिर्गमनको साइत कहिले जुर्ने, निश्चित नभए पनि कांग्रेसमा सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेल भट्टराईको उत्तराधिकारी बन्ने होडमा सक्रिय छन्। देउवा भने कार्यबाहक सभापति पाए प्रधानमन्त्री छाड्न तयार देखिएका हुन्।
देउवा निकट केन्द्रीय सदस्य रमेश रिजालले एक व्यक्ति एक पदको अवधारणा सभापति सुशील कोइरालाकै भएको उल्लेख गर्दै भने, ‘सभापतिले पार्टी र सरकार दुवै जिम्मेवारी बहन गर्न सक्नुहुन्न, शेरबहादुरजीलाई कार्यबाहक सभापति दिनुपर्यो, उहाँ (शेरबहादुरजी) ले सभापतिलाई प्रधानमन्त्रीमा आफैं प्रस्ताव गर्नुहुन्छ।’
सहमति सरकारको नेतृत्व गर्ने अवसर पार्टीले पाए सभापति कोइराला नछाड्ने मनस्थितिमा रहे पनि उनले प्रधानमन्त्री बन्ने इच्छा सार्वजनिक गरेका छैनन्। पार्टीभित्र आफ्नो पक्षमा वातावरण बनाउन सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच केही समयअघि देउवालाई कार्यबाहक सभापति दिएर आफू प्रधानमन्त्री बन्ने प्रस्ताव सभापति आफैंले राखेको देउवा निकट एक नेताले बताए।
वरिष्ठ नेता देउवाले महासमिति बैठकबाट आफूलाई अधिकारसम्पन्न ‘कार्यकारी’ सभापति दिए सभापतिलाई प्रधानमन्त्रीमा सहयोग गर्ने बताएका थिए। तर, सभापति कोइरालाले भने कार्यबाहक सभापति दिन सकारात्मक देखिए पनि महासमितिबाट नै ‘कार्यकारी’ अधिकारसहितको सभापति दिन अस्वीकार गरेको स्रोतले बतायो। उपसभापति पौडेलले पनि सभापति कोइरालालाई प्रधानमन्त्री स्वीकार गर्ने नसक्ने भन्दै बिरोध जनाएका थिए।
‘शेरबहादुरजी ‘कार्यकारी’ सभापति लिएर विवाद मिलाएर अघि बढ्न तयार हुनुहन्थ्यो,’ देउवा निकट एक नेताले भने, ‘तर सभापति कार्यबाहक सभापतिमात्र दिन तयार भएपछि छलफल अघि बढेको छैन।’
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको अनुपस्थितिमा उपसभापतिले स्वतः कार्यबाहक सभापतिको जिम्मेवारी पाउने पार्टी विधानमा व्यवस्था रहेको जिकिर गरे। ‘शेरबहादुरजीले माग्दैमा कार्यबाहक सभापति पाउने भन्ने कुरा हुँदैन,’ कोइरालाले भने, ‘उहाँहरु (सुशील, शेरबहादुर र रामचन्द्रजी) ले पार्टीको विधान बनाएको होइन, कोठाभित्र मात्र सहमति गरेर हुँदैन, केन्द्रीय समितिमा आउनुपर्छ ।’
यही कुरा बुझेर पौडेल सभापति कोइरालासँग रुष्ठ छन्। उनी पछिल्ला दिनमा बैठकहरुबाहेक कमैमात्र कोइराला निवास महाराजगन्ज जाने गरेका छन््। सभापतिले आफूलाई प्रधानमन्त्री हुनै नसक्ने बेला १७ पटकसम्म लडाएर सम्भावना देखिएपछि आफंै लालयित भएको पौडेलले गुनासो गर्ने गरेका छन्।
उपसभापति पौडेल आफैं प्रधानमन्त्रीको आकांक्षी भएको दाबी गर्दै रिजालले पौडेल निकट नेताहरु सभापति प्रधानमन्त्री हुनुपर्छ भन्ने लबिङमा लागेको बताए। ‘रामचन्द्रजी आफैं प्रधानमन्त्रीको आकांक्षी हुन् तर उनी (रामचन्द्र पौडेल) का मान्छेहरु नै सुशीलजी भन्दै हिँडेका छन्,’ उनले भने, ‘सभापतिजीले आँट गरेर शेरबहादुरजीलाई कार्यबाहक दिए रामचन्द्रजीले केही भन्न सक्नुहुन्न।’
कार्यकारी अधिकारसहितको सभापति देउवालाई दिए पार्टीमा देउवा पक्षको प्रभाव बढ्ने भएपछि कोइराला निकट नेताहरु सरकारको नेतृत्व छाड्ने तर पार्टीको जिम्मेवारी नदिने मुडमा रहेको स्रोतको दाबी छ।
सभापति कोइराला प्रधानमन्त्री बन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएपछि देउवालाई कार्यबाहक सभापति दिने प्रस्ताव सुस्ताएको देउवा निकट एक नेताले दाबी गरे। ‘सरकारको नेतृत्व कांग्रेसको हातमा आउने भयो भने पछिल्लो दिनमा सभापतिजीको भन्दा शेरबहादुरजीको सम्भावना धेरै छ,’ ती नेताले भने।
कांग्रेसले अब प्रधानमन्त्रीको उम्मेदवार तोक्न ढिला गर्नु नहुने उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेल बसेर उम्मेदवार तोक्नुपर्ने बताए। ‘तीना नेताबीच सहमति जुटे शेरबहादुरजी नै प्रधानमन्त्री बने हुन्छ नि,’ कोइरालाले भने, ‘तर, उहाँहरु (सुशील, शेरबहादुर र रामचन्द्र) को सहमति केन्द्रीय समितिमा आउनुपर्छ ।’
पार्टीका तीन शीर्ष नेताको सहमतिलाई मान्न सबै तयार रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले भने, ‘उहाँहरुले सहमति निर्माण गर्न सक्नुभएन भने केन्द्रीय समितिले विधि र विधानअनुसार प्रधानमन्त्रीको उम्मेदवार तोक्छ।’
‘उहाँ (सुशील कोइराला) लाई प्रधानमन्त्री बन्ने इच्छा छ भने शेरबहादुरजीलाई बोलाएर म प्रधानमन्त्री बन्छु, तपाईं पार्टी सञ्चालन गर्नुहोस् भन्नुपर्यो,’ रिजालले भने।