Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
-किरण ढकाल
काठमाडौं- विदेशमा नेपाली कामदारको मृत्युको खबर दिन बिराएर आउँछन् । मृत्युका कारण धेरै छन् तर सबैभन्दा ठूलो कारण हो हृदयाघात । दिनभरि चर्का घाममा काम गरेर बेलुकी चिसो कोठामा बस्ने र मदिरा पिउने गर्दा हृदयाघात हुने गरेको एक अध्ययनले देखाएको हो । गत आर्थिक वर्ष रोजगारीमा गएकामध्ये विभिन्न मुलुकमा ६ सय ४३ जना नेपाली कामदारको मृत्यु भएको थियो । तीमध्ये एक सय ७१ जनालाई हृदयाघात भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । मृत्यु भएका कामदारको पोस्टमार्टम र अन्य अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको बोर्डका निर्देशक टीका भण्डारीले बताए ।
बोर्डले विदेशमा मर्नेको शव झिकाउने क्रममा पनि यो तथ्य खुलेको उनको भनाइ छ । निर्देशक भण्डारीले गत आवमा विदेशमा मर्ने कामदारमध्ये बढीजसोलाई हृदयाघात नै भएको भेटिएको बताए । ‘खाडी मुलुकको तापक्रम स्वाभाविक रूपमा नेपालको भन्दा बढी हुन्छ,’ उनले भने, ‘चर्को तापक्रममा काम गर्नुपर्ने, घरपरिवारको चिन्ता र आर्थिक स्रोत जुटाउने तनावमा उनीहरू रहने भएकाले अधिकांशको सोही कारण मृत्यु भएको हो ।’
चिकित्सक पनि तनावकै कारण हृदयाघात हुने गरेको बताउँछन् । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले मानिसको रहनसहन र खानपानले गर्दा हृदयाघात हुने गरेको जानकारी दिए । ‘विदेशमा काम गर्न गएका युवा आर्थिक स्रोत जुटाउनेदेखि पारिवारिक तनावमा बढी पर्छ,’ डा. केसी भन्छन्, ‘दिनभरको थकानपछि मदिरा सेवन गरी एसीयुक्त कोठामा सुत्ने भएकाले हृदयाघात हुन सक्छ ।’ मानिसलाई बढी तनाव भएपछि ब्लडप्रेसर बढ्ने र बढी चिसोमा रहँदा त्यसको असर शरीरमा पर्ने उल्लेख गर्दै उनले यस्तो अवस्थामा मदिरा सेवन गरेको भए झनै खतरा हुने जानकारी दिए ।
बोर्डका अनुसार विदेशमा मर्नेको संख्यासमेत प्रतिवर्ष बढ्दै गएको छ । अघिल्लो आव ०६७/६८ मा ५ सय ५० नेपाली कामदारको विभिन्न कारणले विदेशमा मृत्यु भएकामा यस वर्ष यो संख्या ६ सय ४३ पुगेको छ । हृदयाघातपछि प्राकृतिक रूपमा १ सय २, सडक दुर्घटनाबाट १ सय १ जनाले ज्यान गुमाएका छन् । कार्यस्थलमा काम गर्दागर्दै ४१ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ भने ६५ जनाले आत्महत्या गरेको र दुईजनाको हत्या भएको पाइएको छ । यस्तै, १ सय ६१ जनाको भने मृत्युको कारण नखुलेको जनाइएको छ । मर्नेमध्ये ६ सय २९ जना पुरुष र १४ महिला कामदार छन् ।
बोर्डका अनुसार गत वर्ष ११ मुलुकमा नेपालीको मृत्यु भएको छ । मलेसियामा मात्र एक वर्षमा २ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै, साउदी अरबमा एक सय ७९, कतारमा एक सय २८, युएईमा ४९, कुवेतमा २२, बहराइनमा ८, ओमानमा ६, दक्षिण कोरियामा ६, लेबनान र इजरायलमा ३/३ जना र जापानमा २ जना कामदारको मृत्यु भएको छ । उनीहरूमध्ये कतिपय सवारी तथा मेसिनरी दुर्घटना परेको त केहीले आत्महत्या गरेको बोर्डले जनाएको छ । साथै, आव ०६८/६९ मा विभिन्न दुर्घटनामा परी अंगभंग तथा घाइते हुनेको संख्या ६४ जना रहेको छ ।
बोर्डले विभिन्न घटनामा परी मृत्यु भएका तथा अंगभंग भएकालाई सो आर्थिक वर्षमा मात्र सात करोड ६५ लाख ८० हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको छ । बोर्डले कामदार कल्याणकारी कोषबाट मृतक तथा घाइतेका आफन्तलाई सो रकम वितरण गरेको हो ।
करार अवधि नसकिँदै कुनै कामदारको विदेशमा मृत्यु भएमा सरकारले मृतकका हकवालालाई बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषबाट एक लाख ५० हजार रुपियाँसम्म सहायता दिने गरेको छ । तर, करार अवधि सकिएपछि मृत्यु तथा घाइते भएकाको हकमा भने प्रकृति हेरेर १० हजारदेखि माथि सहायता दिने व्यवस्था छ ।
बोर्डका अनुसार अघिल्लो आवमा विदेशमा मृत्यु तथा अंगभंग भएकाहरूलाई सरकारले ४ करोड ८३ लाख ९ हजार रुपियाँ सहायता वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा भने विदेशमा मृत्यु हुनेको संख्या बढेकाले सहायता वितरण बढी भएको बोर्डले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया