टोकियो – जापानको आकाशलाई आधार बनाएर संसारका बिभिन्न क्षेत्रहरुमा आफ्ना उडान भरिरहेको जापानको प्राइभेट एयरलाइन्स अल निप्पोन एयरलाइन्स (ANA) सन् २०१२ को बेष्ट ट्रान्सप्यासिफिक एयरलाइन्स अवार्डबाट बिभुषित हुन सफल भएको छ । एयरलाइन्स तथा एयरपोर्टहरुको बिभिन्न सेवाहरुको आधारमा मुल्याङ्कन गर्दै तिनिहरुको स्तर निर्धारण गर्ने संस्था स्काईट्रयाक्सद्वारा उक्त पुरस्कार गत महिना लण्डनमा आयोजित एयर शो मा हस्तान्तरण गरिएको हो । एएनएले स्काईट्रयाक्सद्वारा दिईने अन्तरराष्ट्रिय पुरस्कार जितेको यो दोश्रो पटक हो । सन २०११ मा पनि एशिया क्षेत्रको सबैभन्दा राम्रो एयरपोर्ट तथा स्टाफ र्सर्भिस उपलब्ध गराएको भन्दै पुरस्कार हात पारेको थियो । यस पटकको पुरस्कार एएनएको उत्पादनका साथै एयरपोर्ट र जहाजभित्र उपलब्ध गराईने ग्राहक सुबिधाको मुल्याङ्कनको आधारमा दिईएको बताइएको छ ।
‘स्काईट्रयाक्सद्वारा प्रदान गरिएको बेष्ट ट्रान्सप्यासिफिक एयरलाइन्स अवार्डबाट हामी साँच्चै नै गौरवान्वित र खुशी छौं’- एएनएका ग्राहक सेवा बिभागका बरिष्ठ उपप्रमुखले सञ्चारमाद्यमसंग खुशी ब्यक्त गर्दै भने । उनले अगाडि भने- ‘एएनएले भबिष्यमा अझ राम्रो र गुणस्तरिय सेवा दिन लागिपर्नेछ र एशियाको नंबर १ एयरलाइन्स हुनेमा बिश्वास लिएका छौं ।’
एएनएले हाल प्रशान्त क्षेत्रको ८ वटा रुटमा आफ्नो सेवा दिंदै आएको छ र निकट भबिष्यमा अन्य केहि क्षेत्रमा पनि आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको थाहा भएको छ ।
स्मरण रहोस, स्काईट्रयाक्स सन १९८९ मा लण्डनमा स्थापना भएको एयरलाइन्स कम्पनीहरुको लागि कन्सल्टेन्सी तथा रेटिङको काम गर्दै आएको संस्था हो । उसले अनलाईन मार्फत् ग्राहकहरुसँग लिएको प्रश्नोत्तरको आधारमा २०० भन्दा बढि एयरलाइन्सहरुको मुल्याङ्कन गर्ने गरेको छ । यसको साथै उसले एयरलाइन्सहरुलाई १ देखि ५ तारे सम्ममा रेटिङ गर्ने पनि गरेको छ । जसमध्ये एएनए ४ तारे एयरलाइन्समा पर्दछ ।***