टोकियो – आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु गर्न गईरहेको बीबी एयरवेजले जापानमा रहेका नेपालीहरुलाई लगानीका लागि औपचारिक आह्वान गर्न भोलि शनिबार एक समारोहको आयोजना गर्ने भएको छ ।
भोलि अगष्त ४ तारिख शनिवार दिउसो २:३० बाट सिन्जुकु प्रिन्स होटलमा हुन गईरहेको उक्त कार्यक्रममा सहभागी हुन जापानबासी नेपालीहरुलाई खुल्ला आमन्त्रण गरिएको छ ।
जापानबाट आगामी अक्टोबर १३ तारिखदेखि हप्ताको २ उडान भर्ने घोषणा गरेको उक्त एयरवेजले पहिलो उदघाटन उडान भने आउँदो सेप्टेम्बर १३ मा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर गर्ने भएको छ । बीबी एयरवेजले काठमाडौंबाट हङकङ र ताइवानको उडान पनि सेप्टेम्बरबाटै थाल्ने यस अघि नै जानकारी गराइसकेको छ । अन्तरराष्ट्रिय उडानमा नेपालको राष्ट्रिय ध्वजाबाहक विमानको अभाव खड्कीरहेको बेला बीबी एयरवेजको आगमनले नेपाल र नेपालबाहिर सकारात्मक सन्देश प्रवाह गरेको छ भने गैरआवासीय नेपालीहरुका लागि लगानीको एउटा राम्रो अवसर जुरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका कोषाध्यक्षसमेत रहेका बीबी एयरवेजका अध्यक्ष भवन भट्टले भोलिको कार्यक्रममा जापानबासी नेपालीहरुलाई लगानी गर्न खुल्ला आह्वान गर्नु हुने भएको छ ।
बीबी एयरवेजले दिएको जानकारीअनुसार लगानीकर्ताहरुले कम्तिमा एक युनिट लगानी गर्न सक्नेछन् । १० मान येनको एक युनिट रहने उक्त लगानी योजनामा १० युनिट लगानी गर्नेहरुका लागि गोल्ड कार्डको व्यवस्था गरिने र उडान हुने क्षेत्रबाट नेपालसम्मको दुइतर्फी टिकट वर्षमा एक पटक निःशुल्क उपलब्ध गराइने छ । गोल्डकार्ड बाहकलाई र एक युनिट मात्रै लगानी कर्तालाई पनि निर्धारित भन्दा ५ किलो बढी सामान लान पाउने व्यवस्था गरिने भएको छ । ***