टोकियो – एक जापानी युवतीको हत्यामा आरोपित गोविन्दप्रसाद मैनाली १५ बर्ष लामो जेलजीवन बिताएर हालै घर फर्केका छन् । अन्तिम फैसला हुन बाँकी रहेको भए पनि बिभिन्न प्रमाणहरुले उनी निर्दोष रहेको पुष्टी हुँदै आएको र जेलमुक्त समेत भएको अवस्थामा उनीबिरद्ध थाँती रहेको रिट हालै खारेज भएपछि आज सरकारी वकिलहरुले अब सर्वोच्चमा पुनरावेदन नदिने घोषणा गरेको बिभिन्न जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसअनुसार मैनालीको मुद्दा पुनरावलोकनको थप प्रक्रियामा नजाने भएपछि अबको केही महिना भित्रमा उक्त मुद्धाको अन्तिम फैसला हुने आधार बलियो हुँदै गएको छ ।
मैनालीमाथि रहेको ज्यानहत्याको मुद्धाको अन्तिम फैसलाबाट निर्दोष साबित भएपछि मात्र क्षतीपूर्तिको प्रक्रिया सुरु हुने बताईएको छ ।
यसअघि टोकियो सर्बोच्च अदालतको आदेशअनुसार जेलमुक्त भएर कानूनी लडाई लड्न पाउने भएपछि १५ बर्ष जेल सजाय भोगेका मैनाली दुई महिनाअघि श्रीमती र दईछोरीसहित नेपाल फर्केका थिए । ***