टोकियो – जापानको राजधानी टोकियोमा हरेक वर्ष हुने गरेको नेपाल फेष्टिवलको यस वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । टोकियोको योयोगी पार्कमा हुन गैरहेको उक्त फेष्टिवल नेपाली दूतावासको सहयोग तथा एनआरएन जापानको आयोजना र निङ्गो ग्रुप र जापानका नेपाली संघसंस्थाको संयुक्त पहलमा हुन गैरहेको छ । यही जुलाईको २८ र २९ मा हुन गैरहेको फेष्टिवलको लागि नेपाली खाना तथा सरसामान विक्रीका लागि स्टल बुकिङको अन्तिम दिन जुलाई २० तारिख तोकिएको छ । हालसम्म ४५ वटा स्टल बुकिङ भैसकेको जानकारी फेष्टिवलका संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष चिरन्जीवी थापाले दिनुभएको छ । उहाँकाअनुसार यस पटक एउटा स्टलका लागि दुइदिनको अधिकतम १६ मान ९ हजार जापानी येन निर्धारण गरिएको छ ।
नेपालमा लुम्बिनी भ्रमण वर्ष मनाइरहेका बेला हुन गैरहेको यस फेष्टिवलमा नेपाल पर्यटन बोर्डको समेत सहभागिता हुने भएको छ । त्यसैगरी जापान स्थित विभिन्न देशका कूटनीतिक नियोग तथा जापानी राजनीतिज्ञ एवं चर्चित कलाकारहरुको समेत उल्लेख्य उपस्थिति हुने बुझिएको छ । गत वर्ष यस्तै किसिमका फेष्टिवलहरु तीनवटा आयोजना गरिएकोमा यस वर्ष भने एउटा मात्रै हुने भएकाले पनि फेष्टिवल प्रति नेपाली तथा जापानीहरुको रुची निकै बढिरहेको बताइएको छ । फेष्टिवलमा दुइदिन सम्म नेपाली कलाकारहरुको उत्कृष्ट प्रदर्शन रहने र पन्चेबाजाका साथमा नेपालका विभिन्न संस्कृतिको झाँकी समेत देखाइने कुरा आयोजकले जनाएका छन् । फेष्टिवलको २ दिनको अवधिमा तीनलाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
आयोजकले फेष्टिवलको स्टलका लागि संयोजक चिरन्जीवी थापा (०९०२६४८६०११), नरबहादुर थापा (०८०५४९५५८७७), डिपी कँडेल (०८०५२५८०४८९), देविलाल भण्डारी (०८०४७१७४८८६), मनोज घले (०८०३२८४९२५२) र सांकृतिक कार्यक्रमका लागि ओकामोतो मल्ल (०८०५०७२२६२७) र अर्जुन अधिकारी (०८०३४३२२३३१) सँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ । ****