टोकियो – गत बैशाख २३ गते कास्कीको माछापुछ्रे गाबिसस्थित अन्नपूर्ण हिमश्रृंखला पग्लिएर सेती नदीमा आएको भीषण बाढी पहिरोले कास्कीको खारापानी सर्दिखोला लगायतका क्षेत्रमा भएको अकल्पनिय दुखद घटनाका मृतक एवं पीड़ित परिवारहरुका लागी तमु धीं जापानद्वारा संकलित २ लाख ६९ हजार ५५५ रुपैया हस्तान्तरण गरिएको छ ।
तमु धीं जापानका अध्यक्ष एवं राहत संकलन संयोजक हर्क तमुले सेती बाढ़ीपीड़ितका लागी तमु धीं जापानले संस्थाका सदस्यहरु लगायत करिब ७० जना जापानबासी नेपाली दाजुभाई एवं दीदीबहिनीहरुबाट संकलन गरिएको सो रकम रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषमा हस्तान्तरण कार्यक्रमका बिच रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण कार्यक्रममा धीं का अध्यक्ष हर्क तमुले प्रवासी भूमिमा रहेर नेपालमा भएको अकल्पनीय दु:खद घटनामा यसरी केही मात्रामा भए पनि यसरी सहयोग गर्न पाउनु मानवीय दायित्व भएको बताउनुभयो । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समाजमा आफ्नो भूमिकालाई जिम्मेवारिपूर्वक निर्वाह गरेको बताउनुभयो ।
सामाजिक जिम्मेवारिलाई निर्वाह गर्नु संचार क्षेत्रको दायित्व पनि भएकोले सबैको सहयोगले रेडियोले राहत कोषमा आजसम्म ५० लाख ६९ हजार ५०५ संकलन गरेको र आज बितरण गरिएको १ लाख सहित छैंठौ चरणसम्म २१ लाख ३० हजार बितरण गरेको बताउनु भयो। खारापानी क्षेत्रमा पुनर्वासको लागि यसअघि नै रकम बितरण गरिएकोमा १४ परिवारले घर बनाउन सुरु गरिसकेको जानकारीमा आएको उहाँले बताउनुभयो । प्राथमिकताअनुसार थप रकम किस्तामा प्रदान गरिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रवन्ध निर्देशक सुनयना पालिखेले बिपत्ति परेका परिवारको लागि रकम सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो साथै राहत संकलनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति तमु धीं जापान परिवारले हार्दिक धन्यबाद ज्ञापन गरेको छ भने सिराह जिल्लाको सुब्बा औरहि गाबिसमा गत जेष्ठ -२ गते भएको भीषण आगलागी भई ठुलो धनमालको नोक्सानी हुनुको साथै केही मानिसहरु घाईते भएको र घटना मा पीड़ित साथै घरबार बिहीन भएकाहरुका लागी तमु धीं जापानले ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने धीं का वरिष्ठ उपाध्यक्ष भीम तमुले बताउनु भयो । ***