भनिन्छ विदेशमा ३० लाख नेपालीहरू छन्। तपाईं त्यो ३० लाखभित्र पर्नुहुन्छ र तपाईंलाई नेपालमा चीरस्थाई हुने केही राम्रो काम गर्न मन लागेको छ भने, के तपाई हामीलाई एक पटकका लागि एक हजार रूपैयां, या सक्नुहुन्छ भने त्यो भन्दा अलि बढी, या अझ सक्नुहुन्छ भने त्यो भन्दा झन बढी सहयोग गर्न सक्नुहुन्छ? तपाईंहरू मध्ये धेरैले त्यति सहयोग गर्न सक्नुहुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ। प्रश्न खाली तपाईंको विश्वासको हो। अलिकति लामै भएपनि तल लेखिएको अपिल पढिदिनुभयो भने तपाईंको हामीप्रतिको विश्वास बढ्नेछ भन्ने हाम्रो आशा छ। विश्वास लाग्यो भने सहयोग गरिदिनुहोला। लागेन भने नकारात्मक धारणा चाहिं नराखिदिन विनम्र आग्रह गर्दछु। आखिर मरेर जाने जिन्दगी हो। एक-दुई हजारले तपाईंको जिन्दगीमा के नै फरक पार्छ र! तर त्यसले धेरै नेपालीको जिन्दगीमा धेरै ठूलो फरक पार्नेछ।
तपाईंहरू मध्ये कतिलाई थाहा होला हामीले भर्खरै नेपाली-नेपालीको सहयोगबाट १० करोड रूपैयांको ‘हेल्प नेपाल परोपकारी अक्षय कोष’ स्थापना गर्ने महत्वाकांक्षी लक्ष्य लिएका छौं। अभियान शुरू गरेको ८-१० दिनभित्रैमा हामीलाई लगभग आठ लाख रूपैयांको सहयोग प्राप्त भैसकेको छ। अहिलेसम्मका दाताहरू हुनुहुन्छ: जीवा लामिछाने (रूस) — रू १ लाख, डा मबी सिंह (अमेरिका) — एक हजार डलर, शैलेस गंगोल (अमेरिका) — एक हजार डलर, कपिलदेव थापा (जापान) — रू १ लाख, रवीन्द्र मिश्र (नेपाल) — रू १ लाख, थानेश्वर कंडेल (नेदरलण्ड्ज) — रु १ लाख, नेपथ्य सांगीतिक समूह (नेपाल) — रू ४०, ०००, जयबुद्ध निर्माण सेवा समिति (नेपाल) — रू २५ हजार, राज महर्जन (न्यूजिलण्ड) — एक हजार न्यूजिलण्ड डलर, भगवति शर्मा (नेपाल) — रू १०,०००, हिमाल गुरूंग (नेपाल) — रू ९,२७७, कमल दवाडी (नेपाल) — रू १,००० र राम तपश्या कुमार शाह (नेपाल) — रू ५००।
सहयोगीहरुको नाम हामी फेसबुक र हाम्रो वेभसाइटमा राख्दै जानेछौं। तर त्यो भन्दा पहिले हामीलाई सकारात्मक सोच र उर्जा भएका अनि नेपालको लागि केही गरौं भन्ने भावना भएका एक/एक हजार रूपैयां दिनसक्ने कम्तिमा एक लाख नेपालीहरूको सख्त खांचो छ। विदेशमा बसेका ३० लाखमध्ये एक लाख नेपालीले अवश्य पनि हामीलाई एक/एक हजार रूपैयां सहयोग गर्नुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ। यसको अर्थ नेपालमा बस्ने नेपालीको हामीलाई सहयोग चाहिंदैन भन्ने होइन। तर यो अपिल खासगरी विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरिएको मात्र हो। सहयोग, तपाई काठमाडौंमा रहेका आफन्त या आफ्ना साथीहरु मार्फत हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतलाई फोन नम्बर (००९७७) ९८५१०७०८६० मा, मलाई नेपालको समय बिहान १२ बजे अघि (००९७७) ९८५१११२७२० मा, या हेल्प नेपाल नेटवर्ककी कार्य्रक्रम संयोजक दिक्षा सिंहलाई कार्यालय समयमा (००९७७१) ४४९८३२८ मा सम्पर्क गरेर उपलब्ध गराउन सक्नुहुनेछ। त्यसबाहेक सिधै ब्यांकमा सहयोग दाखिला गर्ने ब्यबस्था पनि हामीले मिलाएका छौं, जसको विवरण यसप्रकार छ:
A/C Name: Help Nepal Network.
A/C No: 3501017500185.
Swift Code: NARBNPKA.
Bank Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.
सहयोग ब्यांकमा दाखिला गरेपछि हामीलाई जानकारी दिन विशेष आग्रह गर्दछौं।
यो अपिल विदेशमा बस्ने नेपालीहरू, विदेशमा रहेका सयौं नेपाली संघसंस्थाहरू र तीसंग आवद्ध नेपालीहरू तथा विदेशमा साथीहरू भएका अन्य नेपालीहरू सबैले अरूलाई पनि शेयर गर्न आग्रह गर्दै आफ्नो फेसबुकको भित्तामा शेयर गरिदिनुभयो भने म अत्यन्त आभारी हुनेछु। हेल्प नेपाल नेटवर्कबाट जेजति राम्रा कामहरू भएका छन्, ती सबै तपाईंहरूको सदभाव र सहयोगले नै संभव भएको हो। हामी त माध्यम मात्र बनेका हौं। त्यसैले सहयोग जारी रहने अपेक्षा गरेका छौं।
नकारात्मकरूपमा नसोचिदिन आग्रह गर्दागर्दै पनि यस्ता काममा कतिपय मानिसहरूलाई शंका-उपशंका लाग्नु र कतिपयले नकारात्मक टिप्पणी गर्नु एकदमै स्वाभाविक हो। तर त्यसो गरिहाल्नु अगाडि एकपटक हेल्प नेपाल नेटवर्कको वेबसाइट हेल्पनेपाल डट नेटमा हामीले नेपाली-नेपालीको सहयोगबाट गरेका राम्रा कामका बारेमा हेरिदिनुभए अनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामेश्वर खनाल, डा उपेन्द्र महतो, जीवा लामिछाने र सिंगो देशले नै सम्मान गर्ने अन्य कतिपय नेपालीहरुले किन दिल खोलेर हामीलाई सहयोग गरे होला भनेर एकपल्ट सोचिदिनुभए हुनेथियो भन्ने मेरो विशेष आग्रह छ।
हेल्प नेपाल नेटवर्क के हो?
तपाईंहरू मध्ये धेरैलाई थाहै छ हेल्प नेपाल नेटवर्क (हेल्पनेपाल डट नेट) विश्वका विभिन्न देशमा बस्ने नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हो। हामी विदेशी दाता होइन, संसारभरका नेपाली ब्यक्ति र नेपाली संस्थाबाट कोष संकलन गरेर गाउंगाउंमा समुदायलाई सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा काम गर्दछौं। ‘नेपालका लागि नेपालीले गरौं’ हाम्रो नारा हो। हामी अन्तरराष्ट्रिय गैर-सरकारी संस्थाहरूबाट दशौं लाख डलर सहयोग संकलन गर्न सक्ने क्षमता राख्दछौं तर हाम्रो मूल लक्ष नेपाली ब्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीको मनमा परोपकारी भावनाको अभिबृद्धी गर्नु हो। र, त्यस्ता नेपालीहरू नेपाल लगायत विश्वभरी छरिएका छन् भन्ने हामीलाई थाहा छ। कल्याणकारी सहयोगबाट हामी प्रशासनिक काममा एक पैसा पनि खर्च गर्दैनौं। त्यो हाम्रो सबभन्दा ठूलो विशेषता हो। हाम्रो कार्यालय संचालनका लागि विश्वका विभिन्न देशमा बसेका २५ जना नेपालीले दिएको झण्डै ७५ लाख र काठमाडौंस्थित युवा उद्यमी सिद्धार्थ राणाले एकैपटक दिएको एक करोड रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोष स्थापना गरेका छौं। त्यसैको ब्याजबाट हाम्रो प्रशासनिक कामहरू चल्दछ।
हामीले के गरेका छौं?
तपाईंहरू मध्ये कतिपयले आजसम्म हामीलाई गर्नुभएको सहयोग र देखाउनुभएको विश्वासका कारण हामीले नेपालका गाउंहरूमा ४० वटाभन्दा बढी स्कूल, ४० वटाभन्दा बढी पुस्तकालय निर्माण गरिसकेका छौं भने धुलिखेलमा ४० जना असहाय बालबालिकाका लागि जग्गाको पनि हिसाब गर्दा करोडौंको लागतमा निर्माण गरिएको एउटा ठूलो बाल आश्रय अब छिटै संचालनमा आउंदैछ। हामीले मुगुको विकट मुर्मा गाउंमा हेल्थपोष्ट संचालन गरेका छौं भने सिरहामा अर्को हेल्थपोष्ट निर्माण गर्दैछौं। तपाईंहरूकै सहयोगका कारण हामी हालै तराइका शीतलहर तथा अग्नी पीडितलाई उलेख्यरूपमा सहयोग गर्न सक्षम भयौं। चितवनको कान्दा गाउंका चेपांग समुदायलाई सहयोग गर्न १० लाख ५० हजार रूपैयां जम्मा भैसकेको छ।
अक्षय कोष र ‘परोपकारी स्तंभ’को उद्देश्य
यी सबै राम्रा कामलाई कालान्तरसम्म कायम राख्न, अझ ब्यापक बनाउन, नेपाली-नेपालीको बीचमा परोपकार र सदभावको भावना बढाउन र त्यसलाई संस्थागत गर्न हामीले १० करोड रूपैयांको मूल धन भएको हेल्प नेपाल परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएका छौं। यो सुन्दा अपत्यारीलो लाग्ला तर नेपाली-नेपालीबाटै यस्तो काम संभव छ भन्ने विश्वास हामीले नलिएको भए आज हामीले एक करोड ७५ लाख रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोष स्थापना गरेका हुने थिएनौं।
हामीलाई आशा छ, भाडाको फ्ल्याटमा बसेको हेल्प नेपाल नेटवर्कको कार्यालयलाई कुनै दिन कुनै मनकारी नेपालीले एउटा घर दान दिनेछन्। अनि त्यो घरअगाडि बगैंचामा हामी एउटा ‘परोपकारी स्तंभ’ निर्माण गरेर सो स्तंभको वरिपरि १० करोड रूपैयांको अक्षय कोष स्थापनाका लागि सघाउने सबै नेपालीको नाम र सहयोग रकम अंकित गर्न चाहन्छौं। सो कोष स्थापना पश्चात बनेका हरेक विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी या बाल आश्रय ती सबै मनकारी नेपालीको सहयोगको परिणाम हो भन्ने सन्देश हामी दिन चाहन्छौं। त्यो स्तंभलाई अलि सक्ने नेपालीले अलि नसक्ने नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको प्रतिक बनाउन चाहन्छौं। विभिन्न जात-जाति, भाषा-भाषिका नेपाली ब्यक्ति तथा संस्थाहरूले सहयोग गरेपछि हामीले भविष्यको कुनै विन्दुमा निर्माण गर्ने ‘परोपकारी स्तंभ’ कति सुन्दर र विविधताले भरिपूर्ण हुन्थ्यो होला! अनि त्यसबाट कति धेरै राम्रा काम गर्न मात्र होइन, नेपालीहरूमा कति धेरै परोपकारी भावनाको पनि अभिबृद्धी गर्न सकिन्थ्यो होला?
हामी किन यस्तो अभियानमा जुटेका छौं, त्यो ब्याख्या गर्न यो अपिलसंगै प्रेषित झुपडीमा चलेको एउटा स्कूलको तस्वीर नै काफी छ। अक्षय कोष स्थापना भएपछि यस्तो विद्यालय देख्यो कि त्यसलाई सहयोग गरिहाल्न सकौं भन्ने हाम्रो चाहना हो। यो महत्वाकांक्षी र ऐतिहासिक अभियानलाई तपाईंले पनि साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।
हामीले नगरे, कसले गर्ने? अहिले नगरे, कहिले गर्ने? सबैलाई खान पुगोस्, दिन पुगोस्!
प्रार्थी
रवीन्द्र मिश्र
संस्थापक अध्यक्ष, हेल्प नेपाल नेटवर्क