
टोकियोमा आयोजित सम्मेलनको अन्त्यमा जारी गरिएको एक विज्ञप्तिमा सन् २०१५ देखि १६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने विषयलाई पुष्टि गरिएको छ ।
यस सम्मेलनमा भाग लिन अफगान राष्ट्रपति हमिद कारजाइ, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुन पनि टोकियोमा उपस्थित हुनुहुन्थ्यो र सम्मेलनमा नेटोले आफ्नो सेना फर्काएपछिको दशकलाई सङ्क्रमणको दशकको रूपमा राखी वार्ता केन्द्रित भएको थियो ।
आइतबारको सम्मेलनमा ८० मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले भाग लिएका थिए र उनीहरूले टोकियो घोषणापत्र जारी गरे ।
अफगानिस्तानबाट अमेरिकी तथा उसका सहयोगीका सैनिकहरू फिर्ता गएपछि यो मुलुक लागुपदार्थ ब्यापारी तथा कट्टरपन्थीको हातमा पर्ने आशङ्का गरिएको थियो ।
यो सम्झौतामा अनुगमन संयन्त्र, प्रत्येक दुई वर्षमा मन्त्रीस्तरीय बैठक, प्रजातान्त्रिक निर्वाचन, भ्रष्टाचार नियन्त्रण तथा मानव अधिकारको सम्मानका कुरा परेका छन् ।
विज्ञप्तिमा सहभागीहरूले अफगानिस्तानलाई पुनः आतङ्वादीको संरक्षण क्षेत्र बन्न नदिने दृढता व्यक्त गरे । अफगानिस्तानका विदेशमन्त्री जलमाइ रासुलले काबुलले आफ्नो बचन पूरा गर्ने बताउनुभयो ।
जापानी विदेशमन्त्री कोइचिरो गेम्बाले सम्मेलनबाट अफगानिस्तानले सन् २०१४ पछि पनि दिगो विकास गर्न सक्ने र आफैँमा धानिने बनाउन सक्ने सन्देश गएको बताउनुभयो ।