टोकियो – जापानको प्रसिद्ध कन्भिनियन्स स्टोर सेभेन ईलेभेनले आगामी अगस्त-सेप्टेम्बर महिनादेखि आफ्ना ग्राहकहरुलाई होम डेलिभरीको सेवा पनि दिने भएको छ । जापानमा बढ्दै गईरहेको बृद्धाहरुको सुबिधालाई ध्यानमा राखी उसले यस्तो सेवा शुरु गर्न लागेको बताईएको छ । जसको लागि टोयोटा कम्पनी अन्तर्गतको टोयोटा अटो बडिद्वारा उत्पादित एक सिट मात्र भएको बिद्युतीय मिनिकार प्रयोग गरिने पनि सेभेन इलेभेनले जानकारी गराएको छ । टोल-टोलमा भएका साना साना पसलहरु बन्द हुँदै गएको र बृद्ध-बृद्धाहरुको संख्यामा बृद्धि हुंदै गएकोले सामान्य किनमेलको लागि पनि धेरै कष्ट भोगिरहेका जापानीहरुको समस्यालाई ध्यानमा राखी यो सेवा दिन लागिएको हो ।
गत बर्षको अक्टोबर १ तारिख सम्मको तथ्याङ्क हेर्ने हो भने जापानमा ६५ बर्ष भन्दा माथिको जनसंख्या २ करोड ९७ लाख ५० हजार रहेको पाईन्छ । जुन संख्या कुल जनसंख्याको २३.३ प्रतिशत हुन आउँछ र संसारकै सबैभन्दा बढि पनि हो । जापान सरकारले हालै सार्बजनिक गरेको एक रिपोर्टअनुसार सन् २०६० सम्ममा ६५ बर्ष माथिको जनसंख्या जापानको कुल जनसंख्याको ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ । यस किसिमको तथ्यलाई ध्यान दिंदै सेभेन ईलेभेनले शुरुमा २ सय वटा मिनिकारबाट आफ्नो होम डेलिभरी सेवा शुरु गर्ने बताएको छ ।
होम डेलिभरीमा प्रयोग गरिने मिनिकारको मुल्य ६ लाख ६८ हजार येन पर्ने र ५० किलोमीटरको क्षेत्रमा अधिकतम ६० किलोमीटर प्रतिघण्टाको दरले गुड्ने बताईएको छ । सेभेन ईलेभेनको सञ्चालक कम्पनी सेभेन एण्ड आई होल्डिङसले जापान र अमेरिकामा सुपरमार्केट, डिपार्टेन्टल स्टोर तथा सेभेन ईलेभेन जस्ता कन्भिनियन्स स्टोरहरुको सञ्चालन तथा ब्यवस्थापन गर्दै आईरहेको छ । जापानमा मात्र २४ सै घण्टा खुल्ला रहने १३ हजार ५ सय वटा सेभेन ईलेभेनहरु सञ्चालनमा रहेका छन । ***