टोकियो – जापानबाट नेपालमा रकम पठाउने सेवा सञ्चालन गर्दै आएको रेमिट्यान्स कम्पनी जेएमईले नेपालका बिभिन्न बैंक तथा बित्तिय सँस्थाबाट आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएकोमा अब मेघा बैंकका सम्पूर्ण शाखाहरुबाट पनि सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी हालै दुइसँस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको सो कम्पनीले जनाएको छ ।
यहि जुन ६ तारिखदेखि शुरु भएको सो सेवा सम्बन्धी सम्झौतापत्रमा जेएमईको तर्फबाट अध्यक्ष दीपेन्द्र जोशी र मेघा बैंक नेपालका तर्फबाट चिफ कञ्जुमर बैकिङ तथा कर्पोरेट अफिसर रबिना देशराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । दुइसँस्थाबीचको सम्झौताअनुसार मेघा बैंकले जेरएमईका ग्राहकलाई बिशेष सुबिधा उपलब्ध गराउने र जेएमईले आफ्ना ग्राहकलाई मेघा बैंकमा खाता सञ्चालन गर्न प्रोत्साहित गर्ने भएको छ ।
जेएमईले हालसम्म जापानबाट मात्र रकम भित्र्याईरहेकोमा निकट भबिष्यमै अरु मुलुकहरुबाट पनि रकम भित्र्याउने तैयारी भईरहेको जेएमईद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ ।
स्मरण रहोस्, करिव २० हजारको हाराहारीमा नेपालीहरु भएको जापानमा जेएमई, आईएमई, सिटी, जेनिथ गरी ४ वटा रेमिट्यान्स कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गरिरहेका छन् भने निकट भबिष्यमै बेष्ट, संसार लगायतका अरु रेमिट्यान्सहरु थपिने क्रममा छन् । रेमिट्यान्सहरुबीचको तिब्र प्रतिस्पर्धाका कारण बिशेष क्याम्पेन भन्दै उनीहरुले रेमिट्यान्स शुल्कमा घटिघटाउ गरिरहेकोले नेपाल पैसा पठाउने यहाँका नेपालीहरु लाभान्वित भईरहेका छन्। ***