टोकियो – निराश मानिसहरु आफ़्नो जिन्दगीदेखि आफैलाई विरक्त लाग्न थालेपछि बाँच्नुको अर्थ नभएको ठहर गर्दै यो धर्तीमा जन्मन पाएको महत्वपूर्ण अवसरलाई पनि तिलाञ्जली दिएर आफै मृत्यूको बाटो रोज्न पुग्दछन । विविध कारणवश जिन्दगीदेखि हरेस खाएका मानिसहरु यो बाटो रोज्ने गरेको पाईन्छ ।
यसरी आत्महत्याको बाटो रोज्नेहरुको सँख्या तुलनात्मकरुपमा अरुभन्दा जापानजस्तो समृद्धशाली राष्ट्रका मानिसहरुमा बढि देखिनु भने उदेकलाग्दो बिषय मानिन्छ । संसारका मानिसहरु भबिष्य खोज्न यो मुलुक आउँछन र आउन चाहन्छन् तर यहि मुलुकका मान्छेहरु भने जिन्दगी बाँच्न सकस भएको ठान्दै आफै परमधामको यात्रा तय गर्दछन् भन्दा धेरैलाई पत्यार नलाग्नु स्वभाविकै हो । तर कुरो सत्य भएको तथ्यहरुले पुष्टी गर्दछन ।
यसैसन्दर्भमा जापानको मन्त्री परिषदको कार्यालयले हालै गरेको एक सर्बेक्षणअनुसार २० बर्ष उमेर समुहका २८ दशमलब ४ प्रतिशत मानिसहरुले आत्महत्याको बारेमा सोच्ने गरेको तथ्य थाहा लागेको छ । अन्य उमेर समूहको तुलनामा यस उमेर समूहले बढी आत्महत्याको बारेमा सोच्ने गरेको पाइएको छ । उक्त अंक गत बर्षमा ३६.२ प्रतिशत रहेको पनि थाहा लागेको छ ।
हालै सार्बजनिक गरिएको तथ्याङ्कअनुसार युवा अवस्थाका जापानीहरु आफ्ना समस्याहरु अरुसंग बाँड्न हिच्किचाउने तथा जस्तोसुकै समस्यामा पनि आफू एक्लै तड्पिने गरेको पाईएको छ । सर्बेक्षणकाअनुसार आत्महत्याको बारेमा सोंच्नु र आत्महत्या गर्नुको कारण बढ्दो बेरोजगारी, पारिवारिक समस्या, स्वास्थ्य समस्या आदि प्रमुख रहेको छ । करिब २ हजार बयस्कहरुमा गरिएको उक्त सर्बेक्षणमा समग्रमा २३.४ प्रतिशतले आत्महत्याको बारेमा सोचेको बताएका छन । जुन अंक पहिलोपटक सर्बेक्षण गरिएको बर्ष सन् २००८ को तुलनामा ४.३ प्रतिशतले बढी छ । उक्त संख्यामा महिला र पुरुषको हिस्सा क्रमशः २७.१ र १९.१ प्रतिशत रहेको छ । १२ करोड ८० लाख जनसंख्या भएको जापान सबैभन्दा बढी आत्महत्यादर भएको देशकोरुपमा चिनिन्छ । ***