चितवन – पत्रकार र साहित्यकारको सम्मानका लागि चितवनमा पाँच लाखको अक्षयकोष स्थापना गरिने भएको छ ।
ईजरायलमा रहेकी चितवनकी श्रष्टा सुमित्रा पौडेल आँचलले आफ्ना बुवा आमाको सम्झनामा बुद्धि खगी दान बास्तोला राष्ट्रिय प्रतिष्ठान गठन गरेर पाँच लाखको अक्षयकोष स्थापना गर्न लाग्नु भएको हो । क्षेत्रपुर स्थित रामेश्वर पुस्तकालयमा आज भएको एक भेलाले अक्षयकोष स्थापनाका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको छ ।
वरिष्ठ साहित्यकार प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यतामा भएको तदर्थ समितिको उपाध्यक्षमा पत्रकार कृष्णचन्द्र भट्टराई , महासचिवमा साहित्यकार पुष्प अधिकारी अञ्जली, सचिवमा पत्रकार महासंघका केन्द्रिय पार्षद एवं कालिका एफएमका पत्रकार नारायण ढुंगाना र कोषाध्यक्षमा माधव बास्तोला चयन हुनुभएको हो ।
प्रत्येक वर्षको मंसिर महिनामा समाजमा योगदान पुरयाउने पत्रकार र साहित्यकार गरी दुई जनालाई पुरस्कृत गरिने पुरस्कार छनोट समितिका संयोजक रवि भट्ट रोषीले जानकारी दिनुभयो । सो क्रममा साहित्यकार प्रेम विनोद नन्दनलाई नागरिक अभिनन्दन गरिने पनि आज जानकारी गराईएको थियो ।
आज भएको कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी , एल वि क्षेत्री , किसान प्रेमी , ईन्द्र रेग्मी , हरिहर सविता तथा पत्रकारका तर्फवाट वसन्त पराजुली र शालिग्राम नेपालले मन्तव्य राख्नु भएको थियो । ***