टोकियो – नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानले संबिधान निर्माण नै नगरी सबिधान सभा भंग भएकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गरी नेपाली जनताको चाहनाअनुसारको पूर्ण लोकतान्त्रिक संबिधान निर्माणमा सकारात्मक पहल गर्न जिम्मेवार दलहरुलाई हार्दिक आह्वान गरेको छ ।
सो सँस्थाले एक बिज्ञप्ती जारी गर्दै मुलुकलाई अनिर्णयको बन्दी हुनबाट जोगाई लोकतान्त्रिक राज्यको निर्माणमा सहभागी हुन पनि प्रमुख दलहरुको ध्यानाकर्षण गराएको छ ।
उक्त सँस्थाको तर्फबाट अध्यक्ष बलराम श्रेष्ठ र महामन्त्री आनन्दबहादुर क्षेत्रीद्वारा प्रेषित बिज्ञप्तीमा, डा. बाबुराम भट्टराईको सरकारले अन्य दलहरुसंग सरसल्लाह नै नगरी संबिधानसभा बिघटन गरेर एकलौटी ढंगले अधिनायकबाद लाद्न खोजेको आरोप लगाईएको छ ।
सो सँस्थाद्वारा प्रेषित बिज्ञप्तीमा भनिएको छ – आज नेपाल गम्भीर संकटको मोडमा उभिएको अवस्थामा छ । शायद नेपालको ईतिहासमा पहिलोपटक हामीले यस्तो कठिनाईमा गुज्रनुपरेको अनुभव गरिरहेका छौं । नेपालको राजनीतिमा करिब २५ दलको सक्रिय सहभागिता हुँदाहुँदै संसद र सडकमा आम नेपाली जनताहरुले नेपालको गणतान्त्रिक संबिधानको चरम इच्छा र मागको अपिल गर्दागर्दै ४ बर्षदेखि बिधिबत संबिधान सभाले आफ्नो काम गर्दागर्दै एनेकपा माओबादीको नेतृत्वको सरकारले नेपाली जनताको हक अधिकार, नेपालको शान्ति प्रक्रिया, हजारौ नेपाली जनताको बलिदानबाट प्राप्त जनताको अधिकारलाई लत्याई मुलुकलाई अनिर्णयको बन्दी बनाएकोमा नेपाली जनसम्पर्क समिति जापानको ध्यानाकर्षण भएको प्रष्ट पार्न चाहन्छौं ।
गणतन्त्र भनेको प्रजातन्त्रको उच्चतम तह र जनताले बास्तबमै मुलुकको हरेक क्षेत्रमा समान अधिकार उपभोग गर्न पाउने उत्कृष्ट लोकतान्त्रिक पद्धति हो । २१ औं शताब्दीको पहिलो दशकको उतरार्धमा बिश्वमै बिलाउदै गईरहेको साम्यबादलाई नेपाली प्रजातान्त्रिक दलहरुले नेपालमा दिगो शान्तिको खातिर चुनावनै नगरी प्रमुख दलकोरुपमा रुपान्तरण गर्नको लागि हदैसम्मको लचिलो र सकारात्मक भई देश र जनताप्रति उतरदायी भएको इतिहास अझै ताजा छ । जुन कुनै बहुदलीय ब्यबस्थामा जनताको सुख शान्ति, समृद्धि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक बिकासको लागि हरेक पार्टी आ-आफ्नो एजेण्डासहित राज्यमा एकलौटी, एकतन्त्र, निरंकुश, एकलबाद तथा मनोपोलीको बिरुद्धमा समाजिक आन्दोलन चलाईरहेका हुन्छन । र समाजले राम्रो कुराको संवेगसगै बिश्व समाजमा आफ्नो सहअस्तित्व, भाइचारा, समानता, बहुलबाद कायम राख्दै समानान्तर बिकास गर्ने गरेको हुन्छ – बिज्ञप्तीमा जनाईएको छ ।
तथापि, नेपाली जनता समक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको हालैको सरकारले जिम्मा लिएको संबिधानको घोषणालाई जिम्मेवारी महशुस नगरी जनताप्रति तत्काल जिम्मेवार हुनुपर्ने जिम्मेवारीलाई बिर्सेर अन्य पार्टीसंग सरसल्लाह नै नगरी एकलौटी ढंगले संबिधानसभा बिघटन गर्नुले आफु सँधै सरकारमा बसी सत्ता लिप्सा हुन खोजेको र अधिनायकवादलाई संस्थागत गर्न खोजिएको हुनाले तत्काल प्रधानमन्त्रले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार बनाई नेपाली जनताको चाहनाअनुरुप नयाँ नेपालको पूर्ण लोकतान्त्रिक संबिधान निर्माणमा सकारात्मक पहल गरी मुलुकलाई अनिर्णयको बन्दी हुनबाट बचाई लोकतान्त्रिक राज्यको निर्माणमा सहभागी हुन सबै राजनैतिक दलहरुमा नेपाली जनसम्पर्क समिति जापान हार्दिक आह्वान गर्दछ – बिज्ञप्तीमा अगाडि भनिएको छ ।
साथै बिज्ञप्तीमा, मुलुकको यस विषम परिस्थितिमा संयमित, सहयोगी र सहनशील भई राज्य निर्माणमा म र मेरो भन्ने भावनाबाट माथि उठेर हामी र हाम्रो अनि सबैको भन्ने भाबनाबाट नयाँ नेपालको गणतान्त्रिक संबिधान निर्माणमा अग्रसर हुन सम्पूर्ण नेपाली जनतामा हार्दिक आग्रह पनि गरिएको छ ।